वार्षिक पौने दुई अर्बको प्याज आयात

  • राजेश बर्मा 
  • बार्षिक ९९ % भारतबाट आयात
  • १ % चीनबाट आयात
  • प्याज उत्पादन कार्यक्रमको १२ करोड फ्रिज
काठमाडौं : प्याज उत्पादनका लागि सरकारसँग कुनै योजना नहुँदा वार्षिक करिब दुई अर्ब रुपैयाँको प्याज भारत र चीनबाट आयात हुने गरेको छ। कृषि विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६९/७० मा एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँभन्दा बढीको प्याज आयात भएको थियो। प्याज आयात पछिल्लो समयमा बढ्ने क्रममा छ। प्याजको आयात दर घटाउन अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन योजना सरकारसँग नहुँदा नेपालमा बर्षेनी भारतबाट करोडौं मूल्यबराबरको प्याजको प्याज आयात भइरहेको छ। 

प्याज उत्पादन बढाउन सरकारले चालू आर्थिक वर्ष 'भेन्टिलेटर' र 'कोल्ड स्टोरेज' को नाममा विनियोजन गरेको बजेट पनि फ्रिज भएको छ। कार्यक्रम तयार पार्नुअघि किसानसँग छलफल नगरेका कारण पनि उद्देश्यअनुरूप काम हुन नसकेको तरकारी विकास निर्देशनालयका अधिकारीले बताएका छन्। निर्देशनालयकाअनुसार आगामी आर्थिक बर्षमा पनि प्याजको उत्पादन बढाएर आयात दर घटाउनेस बन्धमा कुनै कार्यक्रम तयार पारिएको छैन्।
सरकारले अघि सारेका कृषिका अधिकांश कार्यक्रम असफल भएका छन्। त्यसमध्ये नै प्याजको कार्यक्रम पनि एक हो। कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुला ठाउँमा राख्ने गरी भेन्टिलेटर कार्यक्रम ल्याइए पनि टेन्डर प्रक्रिया नमिलेर कार्यक्रमको ५९ लाख रुपैयाँ फ्रिज भएको हो। यस्तै कोल्डस्टोर निर्माण गर्न अनुदानबापत उपलब्ध गराउन छुट्याइएको १२ करोड रुपैयाँ पनि फ्रिज भएको छ।
स्वदेशमै प्याज उत्पादनमा वृद्धि गराएर आयात दर घटाउने उद्देश्यले सरकारले कार्यान्वयनमा ल्याएको 'मिसन ओनियन' कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन हुन सकेन। सरकारले आर्थिक वर्ष २०६४/६५ देखि लागू गरेको मिसन प्याज कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत वर्षको साउनमा खारेज गरेको थियो।
सरकारले अघि सारेका कृषिका अधिकांश कार्यक्रम असफल भएका छन्। त्यसमध्ये प्याजसम्बन्धी कार्यक्रम पनि एक हो।
२०७० वैशाख १ देखि सोही वर्षको चैत ३० गतेको अवधिमा कालिमाटी तरकारी बजारमा भारतबाट मात्र ९१ करोड ४३ लाख ४८ हजार ६ सय रुपैयाँबराबरको प्याज आयात भएको थियो। नेपालमा आयात हुने प्याजमध्ये करिब ९९ प्रतिशत भारतबाट र एक प्रतिशत चीनबाट आउँछ।

---------------------------------------------------------------
आयातको अवस्था(मूल्यमा)
आर्थिक बर्ष                 मूल्य
२०६४।०६५              ६,०९०,७३५.००
२०६५।०६६              ६,१५२,५४७.००
२०६६।०६७              २,०६९,३३७.००
२०६७।०६८             ३९,९,८९५,५७९.००
२०६८।०६९             १,१७४,०००,०००.००    
२०६९।०७०             १,८५, ३,६०८,२२०.००
स्रोतः  कृषि विकास मन्त्रालय
---------------------------------------------------------------

कालिमाटी तरकारी बजारका निर्देशक अर्जुन अर्यालका अनुसार त्यो वर्ष भारतबाट मात्र ८४ करोड १७ लाख ७८ हजार एक सय रुपैयाँबराबरको एक करोड ६८ लाख ३५ हजार पाँच सय ६२ किलो प्याज आयात भएको थियो। यसका अतिरिक्त अवैध रूपमा पनि ठूलो परिमाणमा प्याज आयात भइरहेको छ।
तरकारी विकास निर्देशनालयका अनुसार यो कार्यक्रममार्फत तराईका १० जिल्लामा उत्पादन वृद्धि गर्ने उद्देश्यले २० करोड रुपैयाँ खर्च गरिएको थियो। निर्देशनालयका निर्देशक डा. गजेन्द्रसेन निरौलाले भने, 'यसबाट न उत्पादन बढ्यो, न त क्षेत्रफल नै बढ्यो। आयात दर घटाउन पनि सकिएन। यसका कारण कार्यक्रम नै खारेज गर्नुपर्‍यो', उनले भने। पछिल्लो समयमा सहरी क्षेत्रमा जनसंख्या वृद्धि, होटेलव्यवसायको विस्तारका कारण प्याज आयातको परिमाण बढेको उनले बताए। निर्देशनालयका अनुसार आगामी आर्थिक वर्षमा पनि प्याजको उत्पादन बढाएर आयात दर घटाउनेसम्बन्धमा कुनै कार्यक्रम तयार पारिएको छैन। मूल्यसमेत बढिरहेकोले आगामी वर्ष प्याज आयातका लागि ठूलो रकम विदेश जानेछ। अहिलेसम्म नेपालकै आफ्नो प्याजको कुनै जात विकास गरिएको छैन। गत २०३८ सालमा अमेरिकाबाट ल्याइएको 'रेड क्रियोल' नामको प्याजलाई सिफारिस गरेर हालसम्म सोही जातको प्याजको खेती नेपाली किसानले गर्दै आएका छन्।

कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले प्याजको उत्पादन वृद्धि गराउन शीतभण्डार पहिलो आवश्यकता रहेको जानकारी दिए। उनले भने, 'उत्पादन भएको प्याज भण्डारण गरेर राख्न सक्ने स्थान नहुँदा अभियानमुखी कार्यक्रम असफल भएको हो। प्याजको उत्पादन बढाउन प्रभावकारी रूपमा शीतभण्डार निर्माण गर्न आवश्यक छ। त्यसपछि मात्रै उत्पादन गर्ने अभियान सञ्चालनमा ल्याउनुपर्छ।'




अन्नपूर्ण पोष्टमा २३ असार, २०७१ अर्थतन्त्रको मुख्य समाचारको रुपमा प्रकाशित

Comments