म्याद नाघेका खाद्य पदार्थ बजारमा छ्याप्‍छ्‍याप्‍ती

  • राजेश बर्मा

सर्वसाधारणको स्वास्थ्यप्रति सरकारले चासो नदेखाएका कारण उपभोक्ता संरक्षण ऐनसँगै नियमावली तथा खाद्य ऐन समय सुहाउंदो परिमार्जन गरेर स्वीकृत नगर्दा त्यसको प्रत्यक्ष लाभ व्यवसायीले लिएर म्याद नाघेका गुणस्तरहिन खाद्य र पेयजन्य पदार्थ बिक्रि गर्दैआएका हुन्। साना खुद्रे पसलदेखि ठूला डिपार्टमेन्‍टल स्टोरसम्मले उपभोक्ताको स्वास्थ्‍यसँग खेलवाड गर्दै म्‍याद नाघेका र विवरण (लेबल) नखुलेका खाद्य तथा पेयपदार्थ बिक्रि गर्दै आएका छन्।


२३ साउन

सानेपास्थित संजीव ग्याँस डिपोबाट म्याद नाघेको पाँचसय एमएलको स्प्राइटको १९ वटा बोतल, सोही परिमाणको कोकाकोला १८ र तीनसय एमएलको कोकाकोलाको २० बटा बोतल अनुगमन टोलीले नष्ट गर्‍यो। सोही दिन रामहिठीस्थित तिर्थमान थिङको पसलबाट डेढ लिटरको पेप्सी आठवटा, करिब अढाई लिटरको पेप्सी एउटा, एक लिटरको कोकाकोला दुईवटा नष्ट गरियो।

त्यही दिन तिनचुलीस्थित निशा स्टोर्सबाट ३२ ग्रामको पार्लेजी विस्कुट सात प्याकेट, ५० ग्रामको हाम्रो क्रेकर तीन प्याकेट र ६० ग्रामको टि टाइम विस्कुट एक प्याकेट टोलीले नष्ट गर्‍यो।

 २० साउन

धापासीस्थित हाम्रो स्टोर्सबाट म्याद नाघेको भन्दै टोलीले तीनसय ४ ग्रामको पार्लेजी विस्कुट २०, एकसय ५ ग्रामको क्रिम बिस्कुट ११, एकसय १५ ग्रामको ट्रेकर च्वाइस बिस्कुट १३, सय ग्रामको पिवर म्याजिक विस्कुट पाँच प्याकेट, ३० ग्रामको क्रिम क्रेकर आठ, सय ग्रामको डाइजेस्टिभ बिस्कुट तीन, ३० ग्रामको च्याम्प विस्कुट आठ र २५० ग्रामको ट्रेड विस्कुट चार प्याकेट नष्ट गर्‍यो।

सोही पसलबाट तीनसय एमएलको स्प्राइटको १३ वटा बोतल पनि त्यही नष्ट गरियो। धापासीकै ड्रागन स्टोर्सबाट एकसय २५ ग्रामको पार्लेजी विस्कुट चार प्याकेट, ३५ ग्रामको खजुरी विस्कुट दुई प्याकेट, दुईसय ग्रामको पार्लेजी क्रिम क्रेकर दुई प्याकेट र ५० ग्रामको बीएमसी मसला दुई प्याकेट नष्ट गरिएको थियो।

 १६ साउन

ढुँगेअड्डास्थित सागर स्टोरबाट अनुगमन टोलीले सय ग्रामको डिगोग्लुकोज डीको नौं प्याकेट, ४५ ग्रामको क्रिमी ट्वीस्ट स्ट्रावेरी विस्कुट एससय ४४, ५० ग्रामको सन एग्रीफ्रेस मम मसला ६० प्याकेट, पाँचसय ग्रामको चनाको वेसन २४ प्याकेट र पाँचसय ग्रामको पोष्टम्यान सन फ्लावर तेल पाँच प्याकेट नष्ट गरियो। त्यही दिन किर्तिपुरस्थित न्यु पाण्डे स्टोरबाट म्याद नाघेको पाँचसय एमएलको कोकाकोला तीन, सोही परिमाणको स्प्राइट तीन र फेन्टा दुई, तीनसय एमएलको कोकाकोला तीन बोतल नष्ट गरिएको थियो।

पसल सञ्‍चालक उपभोक्ताप्रति कति सचेत छन् भन्ने बिषयमा माथिका तीनवटा घटना प्रतिनिधीमुलक मात्र हो। साना खुद्रे पसलदेखि ठूला डिर्पाटमेण्टल स्टोरसम्मले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्दै म्याद नाघेका र विवरण(लेवल) नखुलेका खाद्य तथा पेयजन्य पदार्थ बिक्रि गर्दैआएका छन्।

अनुगमनकर्ता सरकारी निकायका पदाधिकारी भन्छ,'कानुनले हामीलाई धेरै अधिकार नदिएका कारण म्याद नाघेका खाद्य तथा पेयजन्य पदार्थ बिक्रि गर्ने व्यवसायीमाथि कारवाही गर्न सकिन्न्। ट्राफिक प्रहरीलाई घटनास्थलमै आर्थिक जरिवाना गर्न सक्ने र बढी सजाय तोक्न सक्ने अधिकारी हामीले माग्दै आएका छौं। तर पाएका छैनौं।'

सर्वसाधारणको स्वास्थ्यप्रति सरकारले चासो नदेखाएका कारण उपभोक्ता संरक्षण ऐनसँगै नियमावली तथा खाद्य ऐन समय सुहाउंदो परिमार्जन गरेर स्वीकृत नगर्दा त्यसको प्रत्यक्ष लाभ व्यवसायीले लिएर म्याद नाघेका गुणस्तरहिन खाद्य र पेयजन्य पदार्थ बिक्रि गर्दैआएका हुन्।

बाणिज्य विभागले गत १२ गतेदेखि शुक्रबारसम्म गरेको अनुगमनको क्रममा सानेपा, महाँकाल, रामहिठी, तिनचुली, धापासी, बसुन्धरा, किर्तिपुर, कलंकी, ढुँगेअड्डा र मित्रपार्कबाट म्याद नाघेका र विवरण नखुलेका २० वटा पसलबाट ठूलो परिमाणमा विस्कुट, बिएमसी मसला, खाने तेल, कोकाकोला, पेप्सी, स्प्राइट, फेन्टा, बेसन, लेजजस्ता खाद्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको छ।

उपभोक्तावादी ज्योति बानियाँका अनुसार व्यवसायीले म्याद नाघेका यस्ता पदार्थ नष्ट गर्नुको साटो परल मूल्यमै उपभोक्तालाई झुक्याएर बिक्रि बितरण गर्दैआएपनि सरकार उक्त दुई ऐनलाई संशोधन गर्न कुनै चासो देखाएको छैन्। कतिपय व्यवसायीले म्याद नाघेको प्याकेटबाट लेवल झिकेर नयाँ लेवल लगाएर उपभोक्तालाई झुक्याउदै यस्ता पदार्थ सजिलै बिक्रि गर्दैआएका छन्।

'अनुगमनकर्ता निकायले विद्यमान कानुनलाई पनि इमान्दारिकासाथ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सके धेरै हदसम्म यस्ता समस्या समाधान हुन्छ।' उपभोक्तावादी बाँनियाले दिनदिनै अनुगमन भएपनि त्यसले साकारात्मक प्रतिफल आउनुभन्दा समस्या ज्युँका त्यूँ रहेको बताए।

विभागले शुक्रबार गरेको अनुगमनको क्रममा सानेपाको तीनवटा पसलमा म्याद नाघेका बिस्कुट र पेयजन्य पदार्थ भेटेको थियो। यस्तै गत बुधबार महाँकाल, रामहिठी, तिनचुलीस्थित चारवटा पसलमा यस्ता सामग्री भेटिएको थियो। विभागले गत मंगलबार धापासी र बसुन्धराको सातवटा पसलबाट म्याद नाघेको र लेवल नखुलेको र लेवलअनुसार खाद्य पदार्थ नभएको फेला पारेको थियो। यसैगरी गत अघिल्लो शुक्रबार चारवटा पसल र अघिल्लो विहिबार एक तथा बुधबार तीनपसलमा यस्तै सामग्री फेला पारेको पारिएको थियो।

बाणिज्य विभागका निर्देशक पुरूषौतम सुवेदीले विद्यमान उपभोक्ता संरक्षण ऐन र नियमावलीमा दोषि व्यवसायीलाई कारवाही गर्ने अधिकार नहुँदा कारवाही गर्न सकिएको लाचारीपन व्यक्त गरे। 'विद्यमान ऐन साँघुरो छ। यसको सहयोगमा प्रभावकारी रूपमा नियमन र कारवाही गर्न असजिलो भएको छ।

गत माघमा ऐनलाई परिमार्जन गरेर बाणिज्य र अर्थमन्त्रालयमा पठाएपनि स्वीकृत भएर आएको छैन्,' उनले भने,'प्रभावकारी रूपमा नियमन गर्न घटनास्थलमै आर्थिक जरिवानासहित कडा कैदको व्यवस्था भयो भने पक्‍कै पनि यस्ता काम निरूत्साहित हुन्छ।'

उपभोक्ता सचेत नहुँदासम्म यस्ता समस्यालाई हटाउन कठिन हुने उनले बताए। पनि सचेत हुनुपर्ने जानकारी दिए। उपभोक्ता सचेत नहुँदासम्म कारवाही गर्न समस्या पर्ने जानकारी गराउदै उनले पसलबाट सामान खरिद गर्दा अनिवार्य रूपमा पसलको आधिकारिक बील लिन सुझाव दिए।

आधारिक बील भयो भने म्याद नाघेका र गुणस्तरहिन खाद्य तथा पेयजन्य पदार्थ सेवनका कारण कुनै घटना भयो भने जिल्ला क्षतिपूर्ति समितिमार्फत त्यस्ता व्यवसायीबाट क्षतिपूर्ति उपलब्ध गराउन सकिने उनले जानकारी दिए।

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पृष्ठ २ मा २५ साउन, २०७१ मा प्रकाशित

Comments