दसैंका लागि ५५ हजार खसीबोका राजधानी भित्रिँदै

९० प्रतिशत खसीबोका भारतबाट ल्‍याइने



 काठमाडौं : दसैंलाई लक्षित गरेर राजधानीमा मात्र करिब ५५ हजार खसीबोका ल्याइने भएको छ। स्वदेशी र विदेशी गरी यो संख्यामा खसीबोका ल्याउन लागिएको हो। यीमध्ये करिब ९० प्रतिशत भारतबाट आयात गरिनेछ। सामान्य दिनभन्दा दसैंमा झन्डै तीनगुणा माग बढ्ने भएकाले सोही अनुसार खसीबोका भित्र्याउने तयारी भएको हो। 


यसपटक विभिन्न तीन निकायले खसीबोका ल्याउने तयारी गरेका छन्। नेपाल माछा मासु व्यवसायी संघले १२ हजार, नेपाल खाद्य संस्थानले तीन हजार पाँच सय र चौपाया खरिदबिक्री सेवा संघले ४० हजार खसीबोका भित्र्याउन लागेका छन्।

यसका अतिरिक्त करिब अढाई हजारको संख्यामा च्याङ्ग्रा र पाँच सय राँगाभैंसी पनि ल्याइनेछ। दसैंमा मात्रै करिब तीन अर्बको खसीबोका भारतबाट आयात हुने उनीहरूको अनुमान छ। चीनबाट पनि च्याङ्ग्रा आयात हुने व्यापारी बताउँछन्।

नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष अनिल खड्गीका अनुसार सामान्य दिनमा उपत्यकामा दैनिक एक हजार एक सय खसीबोका भित्रिने गरेकोमा दसैंको समयमा दैनिक तीन हजारको संख्यामा खपत हुन्छ। गत वर्ष बर्डफ्लुका कारण कुखुराको अभाव भएकाले करिब ६५ हजार खसीबोका बिक्री भएको व्यवसायीले बताएका छन्। फूलपातीदेखि टीकासम्म खसीबोकाको बढी बिक्री हुन्छ।

निजी क्षेत्रले भारतका कानपुर, लखनउ, हरियाणालगायतका स्थानबाट खसीबोका आयात गर्दै आएको छ। नेपालको मकवानपुर, काभ्रे, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, दाङ, लाहान, नेपालगन्ज, सुर्खेतलगायतका स्थानबाट खसीबोका भित्रिने गरेको छ।

खाद्य संस्थान र चौपाया खरिदबिक्री सेवा संघले पनि भारतसहित नेपालका विभिन्न जिल्लाबाट खसीबोका खरिद गर्छ। राजधानी भित्रिने खसीबोका उपत्यकाका सात सय दुईजना व्यवसायीमार्फत बिक्रीवितरण हुँदै आएको माछामासु व्यवसायी संघले जनाएको छ।

चाडबाडको समयमा ठूलो परिमाणमा खसीबोका भित्रिए पनि तिनको स्वस्थताका बारेमा आधिकारिक तथा भरपर्दो रूपमा स्वास्थ्य परीक्षण हुने गरेको छैन। निजी क्षेत्रका अनुसार दसैंको अवधिमा भेटेनरी चिकित्सक भनिने कर्मचारीले गोजीमै स्टाम्प र लेटर प्याड बोकेर हिँड्ने गर्छन्।

तिनले खसी बोका संकलन केन्द्रमा गएर आर्थिक चलखेलको आधारमा बिरामी खसीबोकालाई पनि स्वस्थ भनेर स्वस्थता प्रमाणपत्र उपलब्ध गराएर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलबाड गर्दै आएका छन्। यसले गर्दा उपभोक्ता आफैं सचेत हुनु आवश्यक छ।
समान्‍य दिन भन्‍दा दशैमा झन्‍डै तीनगुणा माग बढ्‍ने भएकाले सोही अनुसार खसीबोका भित्र्‍याउने तयारी भएको हो। यसपटक विभिन्‍न निकायले खसीबोका भारतबाट ल्‍याउने तयारी गरेका छन्।
पछिल्ला वर्षमा सरकारले मासुजन्य पदार्थमा अनुदान दिएर किसानलाई देशमा नै खसीबोकाको उत्पादन बढाउने लक्ष्य राखेको छ। तर, आयात भने घटेको छैन। चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापाका अनुसार नेपालको आन्तरिक बजारमा खसीबोका पर्याप्त नभएकाले भारतबाट आयात गर्नुपरेको छ।

'भारतको भरमा खसीबोकाको व्यवसाय सञ्चालन गर्दा उपभोक्ताले महँगीको मार सहनुपरेको छ। खपत हुने खसीबोकामध्ये ९० प्रतिशत भारतबाटै आउँछ', उनले भने, 'अन्य दिनमा किलोको दरले बिक्री हुने खसीबोका दसैंको समयमा गोटाको दरले गरिद बिक्री गरिन्छ।'

चाडपर्वको समयमा व्यवसायीले मरेका र विभिन्न रोगबाट प्रभावित खसीबोका भित्र्याएर पनि पसलमार्फत बिक्रीवितरण गर्दैआएको अनुगमनको क्रममा फेला परेको छ। पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका अनुसार दसैंको समयमा उपत्यकामा करिब ६० हजारसम्म खसीबोकाको बिक्री र १२ लाख किलो मासु खपत हुन्छ।

दसैंमा दैनिक करिब दुई सय ५० वटा राँगाको मासुसमेत खपत हुन्छ। नेपालमा हाल प्रतिव्यक्ति १० किलो मासु प्रतिवर्ष खपत हुन्छ। तर, सरकारले नयाँ मापदण्ड बनाउँदा प्रतिव्यक्ति खपत १४ किलो प्रतिवर्ष पुर्‍याउने लक्ष्य लिएको छ। विश्व स्वास्थ्य संगठनले मानव स्वास्थ्यका लागि प्रतिव्यक्ति ३७.९ किलो मासु प्रतिवर्ष खपत गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ।

अन्नपूर्ण पोष्टमा मिति २०७१ /५ /३ गते अर्थतन्त्रको पहिलो पृष्ठको मुख्य समाचारमा प्रकाशित

Comments