मनसुन सक्रिय नहुँदा २३ प्रतिशत खेत बाँझै

  • राजेश बर्मा
काठमाडौं : समयमा मनसुन सक्रिय नहुँदा यस वर्ष अझै २३ प्रतिशत खेतमा रोपाइँ भएको छैन। कृषि विकास मन्त्रालयले धान रोपाइँबारे शुक्रबारसम्म संकलन गरेको तथ्यांकअनुसार मुलुकभर यो वर्ष ७७.१ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ सम्‍पन्‍न भएको छ। गत वर्षको यही मितिमा ९५.७ प्रतिशत रोपाइँ भएको थियो। २०६९ सालमा  यही अवधिमा ९१ प्रतिशत रोपाइँ स पन्न भएको थियो।


पानीको अभावमा पछिल्लो तीन वर्षमा रोपाइँ समयमा हुन नसकेको हो। मन्त्रालयका अनुसार सिँचाइ अभावमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लामा पछिल्लो पाँच वर्षता शतप्रतिशत रोपाइँ हुन सकेको छैन। प्रशस्त धान फल्ने ती जिल्ला समेत भारतबाट आयातित चामलमा निर्भर बनेका छन्।
'धान रोपाइँ बढी हुने यी जिल्ला पछिल्लो तीन बर्षदेखि क्रमिक रूपमा खाद्य असुरक्षाको सूचीमा परेका छन्', मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले भने, 'यसपटक पनि समयमा मनसुन सक्रिय नहुँदा गत वर्षको तुलनामा कम मात्रमा रोपाइँ सम्‍पन्‍न भएको हो।'


   धानको कुल उत्पादनमा तराईले करिब ८० प्रतिशत योगदान पुर्‍याउँदै आएको छ। कुल गार्हस्थ उत्पादनमा कृषिको करिब ३५ प्रतिशत योगदान छ। धानले मात्रै २० प्रतिशत योगदान पुर्‍ याउँदै आएको छ। नेपालमा १५ लाख हेक्टरमा धानबाली लगाइन्छ।

यो वर्ष पनि उच्च पहाडी र मध्य पहाडी भागको तुलनामा तराईको थोरै क्षेत्रफलमा रोपाइँ भएको छ। पानीको अभावमा धेरै क्षेत्रफल बाँझै छ। कतिपय जिल्लामा धानको ब्याड पनि सुकेको छ। मन्त्रालयले वर्षा पर्याप्त हुन नसक्दा यो वर्ष उत्पादनमा १० प्रतिशतसम्म कमी आउन सक्ने अनुमान गरेको छ।

मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत हेमराज रेग्मीका अनुसार अन्न भण्डार मानिने तराईका जिल्ला महोत्तरीमा ३८, सप्तरी र सर्लाहीमा ४०, सिरहामा ४३, धनुषामा ५२, रौतहटमा ६५ र झापामा ७४ प्रतिशतसम्म रोपाइँ सम्पन्‍न भएको छ। अन्य जिल्लामा भने ५० प्रतिशतभन्दा बढी भइसकेको छ। पानीकै अभावका कारण बर्सेनि सयौं हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुन सकेको छैन। उनका अनुसार पछिल्लो तीन वर्षको अवधिमा करिब साढे तीन लाख हेक्टरमा धान उत्पादन भएन।

उपत्यकाको काठमाडौंमा ९८, ललितपुरमा ९० र भक्तपुरमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसैगरी धान उत्पादन हुने कम क्षेत्रफल भएका डोल्पा, मुगु, हुम्ला, जुम्ला, बझाङ, दार्चुला, डँडेलधुरा र दोलखामा भने शतप्रतिशत रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ। धानको कुल उत्पादनमा तराईले करिब ८० प्रतिशत योगदान पुर्‍याउँदै आएको छ।

कुल गार्हस्थ उत्पादनमा कृषिको करिब ३५ प्रतिशत योगदान छ। धानले मात्रै २० प्रतिशत योगदान पुस्याउँदै आएको छ। नेपालमा करिब १५ लाख हेक्टरमा धानबाली लगाइन्छ। नेपालको कुल खाद्यान्नमा धानले ५० प्रतिशत हिस्सा ओगटेको भए पनि सरकारले सिँचाइ प्रणाली सुधारमा कुनै चासो देखाएको छैन।

सिँचाइ विभागका महानिर्देशक माधव बेलबासेका अनुसार सिँचाइ हुन सक्ने क्षेत्रफल १७ लाख ६५ हजार नौ सय ४० हेक्टरमध्ये हालसम्म १३ लाख ३१ हजार पाँच सय २१ हेक्टरमा मात्र सिँचाइको पूर्वाधार पुगेको छ। तयार पूर्वाधारमध्ये पनि सतह सिँचाइबाट करिब सात लाख ३५ हजार हेक्टरमा सुविधा छ। सिँचाइ प्रणाली पनि अकासे पानीकै भरमा चल्नुपर्छ।

'समयमा पानी नपर्ने कारणले सिँचाइ प्रणालीमा पानी नै जाँदैन। केही प्रणाली जर्जर अवस्थामा छ,' महानिर्देशक बेलबासेले भने। यो वर्ष वर्षा पर्याप्त नभएपछि सरकारले अपेक्षा गरे अनुसार ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न समेत चुनौति थपिएको छ। गत आवको जेठ महिनासम्म ११ अर्ब रुपैयाँको चामल आयात भएको छ। उत्पादन घटे चालू आवमा यो आयातदर अझ माथि जानेछ।


धान रोपाइँ अवस्था


स्थान                     धानखेत                    रोपाइँ भएको क्षेत्रफल (%)
                              (हेक्टर)                २०७१         २०७०        २०६९

उच्च पहाडी          ६८०५१                    ८५           ९९.७            ९८

मध्य पहाडी         ३९५४९२                  ८५.४        ९९.७           ९७

तराई                   १०६७९५०                 ७३.२        ९३.८           ८८

कुल (मुलुकभर) :  १५२६३५१                 ७७.१         ९५             ९१

 
स्रोत : कृषि विकास मन्त्रालय 
अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठको मुख्य समाचार
२५ साउन, २०७१ मा प्रकाशित

Comments