दसैतिहारमा ६ सय नयाँ बस थपिँदै

  • राजेश बर्मा

काठमाडौं : आसन्‍न चाडपर्वलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा ६ सय नयाँ बस थप्‍ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं, तिहार र छठ पर्वमा अधिकांश सर्वसाधारण गृहजिल्ला जाने भएकाले यात्रु चापका आधारमा ठूला र मिनी बस थप्‍ने तयारी गरेको हो। नयाँ बस असोज १ गतेदेखि राजधानीबाट मुलुकका विभिन्‍न स्थानमा सञ्‍चालनमा ल्याइने महासंघले जानकारी दिएको छ।


महासंघका महासचिव डोलनाथ खनालले मुलुक संविधान निर्माणतर्फ उन्मुख भएकाले चाडपर्वको समयमा गाउँ जाने यात्रुको संख्या यसपटक विगतका वर्षको तुलनामा निकै बढी हुने अनुमान गरिएको बताए। ुदसैंको समयमा दैनिक

एक लाखभन्दा बढीको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले हाल सञ्‍चालित बसले यात्रु चाप थेग्न सक्ने अवस्था छैनु, महासचिव खनालले भने, 'त्यसैले करिब दुई अर्ब रुपैयाँ लगानी गरेर नयाँ बस थप्न लागेका छौं।' सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन्।

महासंघका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार चार सयको संख्यामा बस र दुई सयको संख्यामा मिनीबस थप्‍न लागिएको हो। यसमध्ये डेढ सय अत्याधुनिक सुविधासम्पन्न डिलक्स र वातानुकूलित बस हुनेछन्।

दसैंकै समयमा कोरिया भाषा परीक्षामा सहभागी हुन असोज दोस्रो सातादेखि राजधानी भित्रिने र तुरुन्तै फर्कने भएकाले पनि यात्रुचाप बढ्ने व्यवसायीको अनुमान छ। कोषाध्यक्ष सिटौलाले काठमाडौं, बुटवल, वीरगन्ज, विराटनगर, बनेपा, लाहानलगायतका स्थानमा नयाँ बस फिटिङको काम भइरहेको जानकारी दिए। तर, लोडसेडिङका कारण समस्या परिरहेको उनले बताए।


 दसैं र तिहारमा यात्रुको चाप हुने बुटवल, वीरगन्ज, विराटनगर, झापा, बिर्तामोड, इलाम, राजविराज, सिरहा, पोखरा, नेपालगन्ज, जनकपुर, बनेपा, भैरहवा, चितवनलगायतका रुटमा बसको संख्या सामान्य दिनभन्दा झन्डै पाँचदोब्‍बर थपिनेछ।

अत्याधुनिक सुविधासहितको एउटा नयाँ बसका लागि ४० देखि ८० लाख रुपैयाँ लाग्छ। यसैगरी मिनीबसलाई ३० देखि ३५ लाख पर्छ। जीर्ण सडक र पुलका कारण चाहेर पनि प्रभावकारी सेवा दिन आफूहरूले नसकेको व्यवसायीले बताएका छन्।

यात्रु सुविधा र सुरक्षित यात्राका लागि सरकारले सडक र पुल निर्माणमा ध्यान नदिएको आरोप उनीहरूको छ। 'बाढी र पहिरोका कारण सबैतिरका सडक र पुल भत्किाएका छन्', सिटौलाले भने, 'यस्तो बाटोमा बस चलाउँदा दिनहुँ बिग्रेर मर्मतसम्भार गर्दा घाटा हुन सक्ने हाम्रो अनुमान छ।'

चाडबाडको समयमा सबैभन्दा बढी पूर्वी जिल्लाका सडकमा यात्रुको बढी चाप हुन्छ। दसैं र तिहारमा यात्रुको चाप हुने बुटवल, वीरगन्ज, विराटनगर, झापा, बिर्तामोड, इलाम, राजविराज, सिराहा, पोखरा, नेपालगन्ज, जनकपुर, बनेपा, भैरहवा, चितवनलगायतका रुटमा बसको संख्या सामान्य दिनभन्दा झन्डै पाँच दोब्बर थपिनेछ। सिटौलाले भने, 'डिलक्स र वातानुकूलित बस पनि बढी यही रुटमा थप्ने योजना छ।'

घटस्थापनादेखि उपत्यकाका चार नाका साँगा, फर्पिङ, नागार्जुन र थानकोट हुँदै दैनिक साढे तीन हजारसम्म सानाठूला यात्रुवाहक सवारीसाधन बाहिरिने गरी रुट व्यवस्थापन गरिएको महासंघले जनाएको छ। चाडपर्वको समयमा करिब २६ लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ।

गत वर्ष ३० लाख सर्वसाधारण दसैं मनाउन गृहजिल्ला पुगेको व्यवसायीको अनुमान छ। २०६८ को जनगणनाअनुसार काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख छ ।

टिकट बुकिङ भदौ २५ गतेदेखि

बस व्यवसायी महासंघले भदौं २५ गतेदेखि लामो दूरीका लागि बसको अग्रिम टिकट काट्ने व्यवस्था गरेको छ। अग्रिम टिकट बुकिङका लागि यातायात व्यवस्था विभाग, प्रहरी र ट्राफिक प्रहरीलाई सहयोगी भूमिका निर्वाह गर्न सरकारले जिम्मेबारी दिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहालका अनुसार सरकारले यात्रुको सुविधाका लागि राजधानी र उपत्यकाबाहिर यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको छ।

यसअनुसार भदौ २४ गतेदेखि कात्तक १५ सम्मका लागि राजधानीको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भू, गौशाला, जोरपाटी, सातदोबाटो र सुनधारामा, उपत्यकाबाहिर काँकडभिट्टा, इटहरी, लहान, ढल्केबर, पथलैया, अत्तरिया, कञ्चनपुर, कोहलपुर, लमही, बुटवल, भरतपुर र पोखरामा यात्रु सहायता कक्ष स्थापना गरिनेछ।

सरकारले टिकट काट्ने काउन्टरमा खटिने कर्मचारीले पहिचान खुल्ने गरी अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने व्यवस्था पनि गरेको छ। सक्कली परिचयपत्र हेरेर मात्रै बसको टिकट काट्न सरकारले सर्वसाधारणसँग आग्रह गरेको छ।
अन्नपूर्ण पोष्टमा प्रकाशित मिति मिति  २०७१ भदौ,१६ सोमबार
अर्थतन्त्रको मुख्य पृष्ठको मुख्य समाचार

Comments