मन्त्रीलाई 'अटेर' गर्दै जग्गा पार्टी प्यालेसलाई


राजेश बर्मा 

काठमाडौं : नेसनल ट्रेडिङ लिमिटेडले वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अटेर गर्दै अमूल्य जग्गा पार्टी प्यालेस सञ्चालन गर्न निजी क्षेत्रलाई भाडामा दिएको छ। वाणिज्यमन्त्री सुनिलबहादुर थापाको निर्देशन अटेर गर्दै नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले दुई ठाउँको आठ रोपनी जग्गा भाडामा दिएका हुन्। मन्त्री थापाले पार्टी प्यालेस सञ्चालन गर्न कुनै पनि जग्गा भाडामा उपलब्ध नगराउन नेसनल ट्रेडिङलाई पटकपटक निर्देशन दिएका थिए। 




स्रोतका अनुसार निमित्त महाप्रबन्धक मेहताले मिलेमतोमा रामशाहपथस्थित ट्रेडिङ हाताभित्र रहेको करिब तीन रोपनी जग्गा पार्टी प्यालेस सञ्चालन गर्न यलम्बर अटो सेन्टरलाई उपलब्ध गराएका छन्। उक्त जग्गाको लम्बाइ ३० मिटर र चौडाइ ३५ मिटर छ। 

स्रोतका अनुसार मेहताले मिलोमतो गरेर अटो सेन्टरलाई सवारीसाधन मर्मतसम्भार गर्न वर्कसपका लागि जग्गा दिए पनि त्यहाँ अहिले यलम्बर पार्टी प्यालेस सञ्चालन गरिएको छ। दुई लाख ३९ हजार रुपैयाँ मासिक भाडा आउने गरी यसै आर्थिक वर्षको सुरुमा पाँच वर्षलाई जग्गा दिइएको हो। 

चार वर्षअघि रामशाहपथको करिब २५ रोपनी जग्गा नेसनल ट्रेडिङका तत्कालीन महाप्रबन्धक लक्ष्मणप्रसाद अग्रवाल र मेहता आफैं साक्षीसमेत रहेर ३० वर्षका लागि इन्फिनिटी स्ट्रक्चरलाई १६ तले मल्टिस्टोर भवन बनाउन भाडामा दिएका थिए। 

भाडा लागेकै बेला निमित्त महाप्रबन्धक मेहताले त्यसमध्ये केही जग्गा पार्टी प्यालेस सञ्चालन गर्न दिएका हुन्। एउटै जग्गा दुईपटकसम्म भाडामा लगाइएको स्रोतले बतायो। तत्कालीन व्यवस्थापिका संसद्को लेखा समितिले अर्को निर्णय नहुँदासम्म उक्त जग्गामा भवन निर्माण गर्न रोक लगाएको थियो। 

नेसनल ट्रेडिङले टेकुमा कित्ता नम्बर ९५ को पाँच रोपनी जग्गा पनि सासा बेंक्वेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेड बालाजुलाई भाडामा दिएको छ। टेकुको जग्गा पाँच वर्षका लागि मासिक तीन लाख रुपैयाँमा भाडामा दिइएको हो। 

जग्गा भाडामा दिइए पनि त्यहाँ स्थायी रूपमा भौतिक पूर्वाधार निर्माण गर्न नपाउने व्यवस्था छ। तर सासा बेंक्वेटले स्थायी रूपमा भौतिक पूर्वाधार निर्माण गर्न लागेको छ। स्रोतका अनुसार जग्गा भाडामा लिएको मितिदेखि तीन महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने भनिए पनि अहिलेसम्म निर्माण कार्य भएको छैन। निर्माण सम्पन्न नहुँदासम्म भाडा उठाउन नपाउने प्रावधान छ। 


वाणिज्य मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले व्यावसायिक काम गरेर मुनाफा नकमाउन मन्त्रालयले पटकपटक नेसनल ट्रेडिङलाई निर्देशन दिएको बताए। उनले ती दुवै स्थानमा पार्टी प्यालेसका लागि जग्गा उपलब्ध गराउन लागेको भन्ने गुनासो आएपछि मन्त्री थापा आफैंले मेहतालाई बोलाएर पटकपटक जग्गा नदिन निर्देशन दिएका थिए।

 'तर पनि निमित्त महाप्रबन्धक मेहताले पार्टी प्यालेसलाई जग्गा उपलब्ध गराएको भन्ने गुनासो आएको छु, ' सुवेदीले भने, 'मन्त्रीज्यूसँगै म आफैंले पनि उहाँलाई बोलाएर भोजभतेर र पार्टी प्यालेस सञ्चालन गर्ने नाममा जग्गा उपलब्ध नगराउन निर्देशन दिएका थियौं।' 

निर्देशन पालना नभएको सम्बन्धमा छानबिन गरेर मेहतामाथि कारबाही गरिने पनि उनले बताए। निमित्त महाप्रबन्धक मेहताले भने मन्त्रालयसँग सल्लाह गरेर नै आफूले ती जग्गा पार्टी प्यालेसलाई भाडामा दिएको दाबी गरे। 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको अंकरमा प्रकाशित
प्रकाशित मिति २०७१ कार्तिक १३ बिहीवार


Comments