नेतालाई 'चिल्ला', जनतालाई 'खाल्डा' सडक


राजेश बर्मा 
काठमाडौं : सार्क सम्मेलनका लागि नेता हिड्ने राजधानीका प्रमुख सडक खण्ड मर्मतसुधार, बत्तीजडान र वृक्षारोपण गरेर सिँगारपटार गरिए पनि भित्री सहरका सडकको अवस्था भयावह छ। भित्रि सडकमा अधिकांश जनता हिड्छन् । भत्काइएका भित्री सडक पुनर्निर्माण हुन नसक्दा घाम लाग्दा धुलाम्मे र वर्षा हुँदा हिलाम्मे भएर यात्रु र स्थानीयवासी सकसमा परेका छन्। सडक फराकिलो गर्ने भन्दै भित्री सहरका सडक भत्काएर त्यत्तिकै छाडिएका कारण यस्तो समस्या भएको हो। 


गत फागुनदेखि भित्री सहरका सडक पनि फराकिलो पार्ने भनेर सरकारले एक दर्जनजति सडकखण्ड भत्काएर छाडेको छ। सरकारले आगामी असारसम्म भित्री सहरका बासिन्दाले सडक समस्या बेहोर्नुपर्ने संकेत दिएको छ। 

उपत्यका सडक विस्तार आयोजनाले सडक क्षेत्रमा बनाइएका घरटहरा घरधनीले नहटाएको, खानेपानीको पाइप, टेलिफोन र विद्युत्को पोल समयमा नसारिएका कारण भत्काइएको सडक समयमै पुनर्निर्माण गर्न नसकेको दाबी गरेको छ। साथै क्रसर उद्योगले गरेको आन्दोलनका कारण पनि निर्धारित समयमा सडकको काम गर्न नसकिएको भन्दै आयोजनाले झारा टार्ने खालको जबाफ दिएको छ।

आयोजना प्रमुख प्रभात झाले भने, ुसमयमा घरधनीले घरटहरा नभत्काउँदा, विद्युत्, टेलिफोनका पोल र खानेपानीका पाइप नसारिएका कारण कालोपत्रे गर्न ढिलो भएको हो। आगामी असारसम्म सबै सडकखण्डको पुनर्निर्माण गर्न लागेका छौं।ु 

आयोजनाले मैतीदेवी- ज्ञानेश्वर, सिनामंगल- पुरानो बानेश्वर- डिल्लीबजार- पुतलीसडक, धुम्बाराही- मन्डिखाटार- गल्फुटार, मीनभवन, कालिकास्थान, बागबजार, जडिबुटी- पेप्सीकोला लगायतका सडक खण्ड भत्काएर अलपत्र छाडेको छ। भत्काइएका सडक समयमा पुनर्निर्माण नगरिँदा मैतीदेवी-ज्ञानेश्‍वर र मैतीदेवी- पुतलीसडक खण्डमा दर्जनौंपटक सवारी दुर्घटना भइसकेका छन्। मैतिदेवी सडक खण्डमै काठमाडौंको यही क्षेत्रमा बस्छन् युवा नेता गगन थापा र अख्तियार प्रमुख लोकमानसिंह कार्की । थापा र कार्कीले यो सडकका लागि कुनै चासो नदेखाउदा मर्मत सम्भार हुन नसकेको हो ।

मैतीदेवी- ज्ञानेश्‍वर सडक आगामी दुई महिनाभित्र, सिनामंगल-पुरानोबानेश्वर-मैतीदेवी सडक असारसम्म, धुम्बाराही-गल्फुटार सडक तीन महिनाभित्र, बल्खु-त्रिविगेट सडक कात्तिकभित्र, एनकेसिंह-मीनभवनमार्ग सडक दुई महिनाभित्र र पुतलसीसडकको भित्री भाग भएर कालिकास्थान निस्कने सडक तीनमहिनाभित्र कालोपत्रे गरिसक्ने दाबी आयोजनाले गरेको छ। 

'सडकमा दर्जनौंपटक टेम्पु पल्टिसक्यो। धेरै यात्रु घाइते भइसके। तर सरकारले सडक बनाउन कुनै चासो देखाएनु,' सुनधारा(कमलपोखरी-मैतीदेवी सडक खण्डमा चल्ने बा १ ह ३५९८ नम्बरको टे पोका चालक केशव तोलाङेले भने, 'सरकारको ढिलासुस्तीका कारण यात्रुहरू असुरक्षित यात्रा गर्न बाध्य छन्।' 

उनका अनुसार खाल्डाखुल्डी परेका सडकका कारण गाडी पनि छिट्टै बिग्रिने गरेका छन्। सडक भत्काउनुअघि गाडी मर्मतसम्भारका लागि मासिक पाँच हजार रुपैयाँ छुट्याउँदै आएका चालकले अहिले १५ हजार रुपैयाँ पनि अपुग भएको बताएका छन्। 'खाल्डाखुल्डी र हिलोका कारण दिनहुँ सवारीसाधनको पार्टपुर्जा भाँच्चिने गर्छु,  ' तोलाङेले भने, 'मर्मत गर्नैपस्यो। पहिले पाँचहजारमा पुग्थ्यो। अहिले १५ हजारले पनि पुग्दैन। हाम्रो व्यथा कसले बुझ्ने । '

अव्यवस्थित सडकको मार गाडीचालकले मात्रै होइन स्थानीय व्यापारीले पनि बेहोर्नुपरेको छ।डिल्लीबजार चोकमा रहेको मारुती किरानापसलका सञ्‍चालक दिनेश अग्रवाल भन्छन्, 'सडक भत्काएपछि नबनाएर सरकारले हाम्रो व्यापार नै बन्द गरिदियो। क्षतिपूर्ति कसले दिनेरु हिलो, धुवा र धुलोका कारण ९० प्रतिशत व्यापार घट्यो।' 

ब्यापारमात्रै होइन धुलो, धुवाँ र हिलोका कारण सर्वसाधारणको स्वास्थ्यमा पनि त्यतिकै असर पुगेको मैतीदेवी(ज्ञानेश्‍वर सडक खण्डका धरधनी शोभा देवीको भनाइ छ। 'दिनभर झ्यालढोका बन्द गरे पनि धुलो र धुवाँ कोठामा आउँछु,' उनले भनिन्, 'धुलो, धुवाँ र हिलोका कारण तलको पसलको कोठा लिन पनि कोही आउँदैन। धुलो र धुवाँका कारण श्‍वासप्रश्‍वास रोगबाट बिरामी भइरहन्छौं।' 


सार्क सम्मेलनलाई लक्षित गरेर सिंहदरबारभित्रका सडक पनि मर्मत गर्न थालिएको छ। सडक मर्मतका लागि भत्काइएकै बेला सोमबार परेको पानीले ती सडक हिलाम्मे भएका थिए। घाम लागेका बेला भने ती सडकबाट धुलो उड्ने गरेकाले सिंहदरबार धुलाम्मे हुने गरेको छ। 

आयोजनाले दुई हजार एक सय वर्गमिटर पुरानो सडक भत्काएर नयाँ कालोपत्रे गर्न थालेको हो। जसअन्तर्गत केही सडक उप्काएर नयाँ कालोपत्रे गरिनेछ भने केही सडकमा नयाँ कालोपत्रे थपिनेछ। 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति २०७१ आस्विन २८ मंगलवार

Comments