एउटै व्यक्ति ६ प्रमुख



सत्‍यनारायण मेहता

राजेश बर्मा 
काठमाडौं : सरकारी संस्थानमा एउटै अधिकारी कतिवटा विभागको प्रमुख हुन पाउलान्रु नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले डेढ वर्षदेखि ६ वटा विभागको प्रमुख भएर काम गर्दै आएका छन्। लिमिटेडका दुई उपमहाप्रबन्धकको जिम्मेवारी पनि उनी आफैंले समाल्दै आएका छन्। 



लिमिटेडमा प्रशस्त वरिष्ठ कर्मचारी हुँदाहुँदै मेहता आफैं योजना बनाउँछन्, खर्च गर्छन्, टेन्डर आह्वान गर्छन्, आफैं मूल्यांकन र स्वीकृत पनि गर्छन्। उनी लिमिटेडको आर्थिक व्यवस्थापन विभाग, प्रशासन तथा जनशक्ति व्यवस्थापन विभाग, बिक्री प्रवर्द्धन विभाग, मूल्यांकन समितिको विभागीय प्रमुख भएर काम गर्छन्। 

त्यसबाहेक बोर्ड बैठकको सचिवको जिम्मेवारीसमेत अरू कसैलाई नदिई उनी आफैंले राखेका छन्। बैठकमा प्रस्ताव ल्याउने, निर्णय गर्ने र निर्णयपुस्तिकामा सही गराउने सबै काम उनी आफैंले गरिरहेका छन्। 

निमित्त महाप्रबन्धकले दीर्घकालीन असर नपर्ने गरी कामकारबाही गर्नुपर्ने व्यवस्था भए पनि उनी गोदाम र जग्गा भाडामा लगाउने, गोदाम निर्माण गर्ने, सामान खरिदबिक्री गर्ने, टेन्डर आह्वान गरेर मूल्यांकन गरी स्वीकृत गर्नेलगायतका काम आफैं गर्छन्। 

२०७० साउनमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री शंकर कोइराला नेतृत्वको नेसनल ट्रेडिङ बोर्डले मेहतालाई प्रशासन प्रमुखबाट निमित्त महाप्रबन्धकको जि मेवारी दिएको थियो। 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले नेसनल ट्रेडिङको आर्थिक तथा प्रशासन नियमावलीअनुसार एउटै व्यक्ति सबै विभागको प्रमुख हुन नमिल्ने बताए। उनले आश्चर्य मान्दै भने, 'यस्तो पनि भएको छ र ? म यसबारे बुझ्न लगाउँछु।' एउटै व्यक्ति कुनै पनि अवस्थामा सबै विभागको प्रमुख भएर काम गर्न नपाउने उल्लेख गर्दै उनले भने, 'यसले गर्दा आर्थिक अपारदर्शिता हुने खतरा हुन्छ।' 

मेहताले विभागीय प्रमुख भएर अधिकार दुरुपयोग गर्दै वाणिज्यमन्त्री सुनिलबहादुर थापाको निर्देशनविपरीत नेसनल ट्रेडिङको आठ रोपनी जग्गा पार्टी प्यालेस सञ्चालन गर्न भाडामा दिएका छन्। स्रोतका अनुसार उनले वीरगन्ज, पोखरा, महेन्द्रनगर, धनगढी, कैलाली, विराटनगरलगायतका स्थानका गोदाम पनि भाडामा लगाएका छन्। 

यसअघि महाप्रबन्धक रहेकी प्रमिलाकुमारी यादवलाई मेहताले गुटबन्दी गरेर काम गर्न नदिई हटाउन लगाएको नेसनल ट्रेडिङकै कर्मचारी आरोप लगाउँछन्। त्यसपछि उनलाई निमित्त महाप्रबन्धक दिइएको हो। 

मन्त्रालयका उपसचिव तथा नेसनल ट्रेडिङ बोर्डका निर्देशक शंकर पौडेलले संस्थालाई धराशयी बनाउने गरी गलत काम नगर्न पटकपटक निर्देशन दिइए पनि सुनुवाइ नभएको बताए। 'एउटै व्यक्ति सबै विभागको प्रमुख हुन पाउँदैन।  चेक र ब्यालेन्स मिलाउन पनि भएका जनशक्तिलाई जिम्मेवारी दिएर विभाग प्रमुख बनाउनुपर्ने होु,' पौडेलले भने, 'जति भने पनि सुनुवाइ भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन गर्नुपर्छ।' 


नेसनल ट्रेडिङ लिमिटेडमा प्रशस्त वरिष्ठ कर्मचारी हुँदाहुँदै निमित्त महाप्रबन्धक सत्यनारायण मेहता आफैं योजना बनाउँछन्, खर्च गर्छन्, टेन्डर आह्वान गर्छन्, मूल्यांकन र स्वीकृत पनि गर्छन्। 

नेसनल ट्रेडिङको आर्थिक व्यवस्था विभागले आम्दानी तथा खर्चसम्बन्धी काम गर्छ। प्रशासन विभागले आर्थिक विभागबाट सिफारिस भएर आएका सम्पूर्ण खर्च तथा आम्दानीको विवरण ठीक छ(छैन भनेर स्वीकृत गर्ने र जनशक्ति व्यवस्थापनको काम गर्छ। 

बिक्री व्यवस्थापन विभागले सामान खरिदका लागि सम्झौता गरी खरिद गर्छ। मूल्यांकन विभागले सामानको दररेट तोक्ने, परेका टेन्डरको मूल्यांकन गरेर स्वीकृत प्रदान गर्छ। 


काज र बिदामा बस्नुपर्दा वरिष्ठताका आधारमा अन्य कर्मचारीलाई निमित्त दिएर जानुपर्नेमा मेहता कसैलाई निमित्त दिँदैनन। 'उनको अनुपस्थितिमा सम्पूर्ण काम प्रभावित हुँदै आएको छु,' स्रोतले भन्यो। मेहताले भने ६ वटा विभागको प्रमुख भएर आफूले काम नगरेको दाबी गरे। 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति २०७१ कार्तिक १८ मंगलवार

Comments