'ड्युटी फ्री' भन्दै बजारभन्दा 'महँगो' मा बिक्री


राजेश बर्मा 

काठमाडौं : नेसनल ट्रेडिङ लिमिटेडले 'ड्युटी फ्री' भन्दै बजारभन्दा महँगो मूल्यमा पस्मिनाबाट निर्मित सामग्री बिक्री गरेको खुलासा भएको छ। ट्रेडिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको ड्युटी फ्री पसलमार्फत बजारमूल्यभन्दा शतप्रतिशत बढी मूल्य कायम गरेर विदेशीलाई पस्मिनाका सामग्री बिक्री गरेको विवरण प्राप्त भएको छ। 


ट्रेडिङले मखनस्थित सुरुचि ह्यान्डिक्राफ्ट उद्योगसँग सस्तो मूल्यमा टेन्डरमार्फत पस्मिनाबाट निर्मित टाइगर प्रिन्ट सल, रिंग सल, टोपी, वाटर सल र स्वेटर खरिद गरेर महँगोमा बिक्री गर्दै आएको स्रोतले जानकारी दिएको छ। त्यो पसलले बिक्री गर्ने कुनै पनि सामानको मूल्य सूचिसमेत टाँसिएको छैन। 

विमानस्थलस्थित पसलका एक अधिकारीका अनुसार ड्युटी फ्री भनेर ट्रेडिङले बजारभन्दा महँगा सामग्री भिडाएर पाहुनालाई ठग्दै आएको छ। 'ड्युटी फ्री भनेपछि बजारमूल्यभन्दा सस्तोमा बिक्री गर्नुपर्ने हो,' उनले भने, 'तर पछिल्लो चार वर्षदेखि पसलमा कार्यरत कर्मचारीले मिलोमतो गरेर बजारमूल्यभन्दा झन्डै शतप्रतिशत बढी मूल्य असुल गरेर बिक्री गर्दै आएका छन्।'



स्रोतका अनुसार ट्रेडिङले महँगोमा सामग्री मात्रै होइन दोहोरो रूपमा सरकारलाई पनि ठग्दै आएको छ। ट्रेडिङले ड्युटी फ्री भनेर बजारमूल्यभन्दा बढी मूल्य असुल गरे पनि राजस्वसमेत छली गर्दै आएको छ। पसलले पस्मिनाका सामग्रीसहित घडी र अत्तर (सेन्ट) पनि बिक्री गर्ने गरेको स्रोतले बतायो। 

ड्युटी फ्रीअन्तर्गत बिक्री हुने सामग्रीमा अन्तशुल्क, भन्सारशुल्कलगायतका अन्य शुल्क जोडिँदैन। आयातीत र खरिद मूल्यमा अधिकतम २० प्रतिशत मुनाफा जोडेर मात्रै कुनै पनि उपभोग्य सामग्री बिक्री गर्नुपर्ने प्रावधान छ। 

ड्युटी फ्रीअन्तर्गत बिक्री हुने सामग्रीमा अन्तशुल्क, भन्सार शुल्कलगायतका अन्य शुल्क जोडिँदैन। आयातीत र खरिदमूल्यमा अधिकतम २० प्रतिशत मुनाफा जोडेर मात्रै कुनै पनि उपभोग्य सामग्री बिक्री गर्नुपर्ने प्रावधान छ। तर मापदण्डविपरीत ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहता, पसलका अधिकृतद्वय अनिल रेग्मी र मधुसूधन खड्काले मनोमानी ढंगले आफूखुसी सामानको मूल्य तोकी महँगोमा पस्मिनाका सामग्री बिक्री गर्दै आएको स्रोतले बतायो। 

यसरी मिलोमतो गरेर बिक्री गरेबापत विमानस्थलस्थित पसलबाट निमित्त महाप्रबन्धक मेहताले मासिक ५० हजार रुपैयाँ बुझ्दै आएको स्रोतले दाबी गरेको छ। ट्रेडिङका निमित्त महाप्रबन्धक मेहताले बजारमूल्यभन्दा केही बढीमा पसलमार्फत पस्मिनाका सामग्री बिक्री भइरहेको स्वीकार गरे। उनले विमानस्थलमा पसलको भाडादर महँगो भएकाले पनि भाडा खर्च र नाफा मिलाउन महँगोमा बिक्री गर्दै आएको दाबी गरे। 

मेहताले बिक्री गर्ने सामग्री शतप्रतिशत शुद्ध भएकाले पनि बजारभन्दा बढी मूल्यमा बिक्री हुँदै आएको बताए। ड्युटी फ्री पसलबाट मासिक ५० हजार रुपैयाँ असुलेको बारे मेहताले भने,' मैले कुनै पनि प्रकारको आर्थिक लाभ लिएको छैन। ममाथि झूटो अरोप लगाइएको हो।'

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठमा मुख्य समाचार
प्रकाशित मिति : २०७१ आस्विन २९ बुधवार

Comments