भारतले माटो परीक्षण प्रयोगशाला दियो

राजेश बर्मा |

फोटो : भारतले माटो परीक्षणका लागि उपलब्ध गराएको घुम्ती प्रयोगशाला।
काठमाडौं: भारतले माटो परीक्षण गर्ने घुम्ती प्रयोगशाला (स्वाइल टेस्टिङभ्यान) सहयोग गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा नेपालका प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई यानको साँचो हस्तानान्तरण गरेका छन्। मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार भारतको उडिसास्थित पारादीप फस्फेस्ट्स लिमिटेडले नेपाललाई प्रयोगशाला नि: शुल्क उपलब्ध गराइएको हो। 
 
प्रयोगशालाको मूल्य ४८ लाख भारतीय रुपैयाँ छ। यो प्रयोगशालाले माटोमा पाइने नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक तत्त्व, कार्बन तथा माटोमा पाइने पीएचको परिमाणको बारेमा स्थलगत परीक्षणसहित तत्कालै प्रतिवेदन दिनेछ। ठाकुरले भने, 'यो भ्यानको सहयोगमा माटो विज्ञानको क्षेत्रमा उल्लेखनीय टेवा पुग्नेछ।' 
 
प्रयोगशाला माटो विकास निर्देशनालयलाई जिम्मा लगाइनेछ। नेपालमा अत्याधुनिक सुविधा सम्पन्न माटो परीक्षण प्रयोगशाला नभएका कारण किसानले माटो परीक्षणबिना नै आफूखुसी खाद्यान्न, तरकारी, दलहन तथा अन्य बाली लगाउँदै आएका छन्। माटो परीक्षणबिना रोपिएका यस्ता बालीमा लगानीसहित किसानको श्रमसमेत खेर गइरहेको छ। 

'बाटो पुगेका ग्रामीण क्षेत्रमा यो प्रयोगशाला परिचालन गरेर स्थानीय माटोको स्वास्थ्य परीक्षण गरिनेछ,' प्रवक्ता ठाकुरले भने, 'परीक्षण प्रतिवेदनको आधारमा किसानलाई माटोको स्वस्थता प्रमाणपत्र उपलब्ध गराउनेछौं।' प्रमाणपत्रमा परीक्षण गरिएका माटोमा कस्ता बाली लगाउँदा उपयुक्त हुुन्छ भनेर सिफारिस पनि गरिएको हुन्छ। किसानले सोहीअनुसार बाली लगाउनुपर्नेछ। 
 
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक अनिसुर रहमान अन्सारीका अनुसार किसानले आफूखुसी प्रयोग गरेको विषादी तथा रासायनिक मलका कारण माटो अस्वस्थ्य हुनुका साथै उर्बराशक्तिसमेत नष्ट भइसकेको छ। 
 
यसका कारण खाद्यान्न र तरकारी बालीको उत्पादनमा ह्रास आउनुका साथै खाद्य सुरक्षामा समेत प्रभाव परेको छ। वैज्ञानिक अन्सारीका अनुसार प्रदूषित माटोबाट उत्पादित खाद्यवस्तु सेवन गरेका कारण मानिसमा दीर्घकालीन जटिल प्रकारका रोग लाग्नुका साथै यस्ता बालीका पराल, पात, फल र फूल सेवन गर्दा गाईभैंसीले विकलांग बच्चा जन्माउने र गाईभैंसीको दूध सेवन गर्दा पुन: मानिसमा अर्कोथरी रोग लाग्ने गर्छ। 
 
प्रदूषित माटोमा लगाइएका बोटबिरुवाको फूलको रस चुस्ने माहुरी, चरा र पुतली नष्ट हुने र यस्ता माहुरी र पुतली खाने चराको समेत मृत्यु हुने गरेको छ। यसअघि भारत सरकारले नेपालका विभिन्न नाकास्थित क्वारेन्टराइन कार्यालय तथा प्रयोगशालालाई समयसापेक्ष बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। 
 
झन्डै १४ वर्षपछि नेपाल र भारतीय उच्च निकायबीच केही साताअघि बसेको संयुक्त बैठकमा भारतले काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जसहित अन्य सीमा क्षेत्रका क्वारेन्टाइन तथा प्रयोगशाला अद्यावधिक गर्न आवश्यक सहयोग गर्ने भनेर सम्‍झौता गरेको थियो। 

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको दोश्रो पृष्ठको मुख्य समाचार
प्रकाशित मिति २०७१ मङ्शिर १० बुधवार

- See more at: http://annapurnapost.com/News.aspx/story/3102#sthash.khFb98ZM.dpuf

Comments