धानबालीको उत्पादन पाँच प्रतिशतले घट्यो


राजेश बर्मा
काठमाडौं,  सरकारले चालु आर्थिक बर्षमा धानको उत्पादनमा कमि आएको जनाएको छ। कृषि बिकास मन्त्रालयले समिक्षा बैठकपश्चत मंगलबार पत्रकार स मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो। मन्त्रालयले मुलुकभर धानको उत्पादनमा यस बर्ष पाँच प्रतिशतले कमी आएको जनाएको छ।



मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार गत बर्षको तुलनामा चालु आर्थिक बर्ष २०७१/०७२ मा धानवाली तर्फ पाँच प्रतिशतले कमी आएको हो। समयमा अकाशे पानी नपर्दा, उन्नत जातका बीउ प्रयोग नगरिएका कारण तथा प्राकृतिक विपक्तिले गर्दा गत बर्षको तुलनामा दुई लाख ५८ हजार मेट्रिक टनले उत्पादनमा कमी भएर ४७ लाख ८८ हजार मेट्रिक टन मात्र धान उत्पादन भएको हो। गत आर्थिक बर्ष ०७०/०७१ मा १४ लाख ८६ हजार नौं सय ५१ हेक्टरबाट ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो। 'चालु आर्थिक बर्षमा प्राकृतिक विपत्तिका कारण २३ हजार नौं सय हेक्टरमा धानवाली लाग्न नपाउदा उत्पादन घटेको हो,' प्रवक्ता ठाकुरले भने।



मन्त्रालयकाअनुसार बजार मूल्यको आधारमा यस बर्ष एक खर्ब मूल्यबराबरको धान उत्पादन भएको छ। गत आर्थिक बर्षमा एक खर्ब १० करोड मूल्यबराबरको धानको उत्पादन भएको थियो। यसैगरी चालु आर्थिक बर्षमा ५० अर्ब मूल्यबराबरको मकै फलेको छ। गत बर्षमा भने ५३ अर्ब मूल्यबराबरको मकैको उत्पादन भएको थियो। जिल्लाका हिसावले धनकुट्टा, भोजपुर, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, झापा, मोरंगलगायतका जिल्लामा धानको उत्पादनमा कमी आएको हो। 'धान रोप्ने समयमा मनसुन सक्रिय नहुनु, सतहगत सिंचाईको सुविधा नहुनु र रोपाई भएका क्षेत्रफल पनि प्राकृतिक प्रकोपबाट प्रभावित भएका कारण उत्पादनमा कमी आएको छ,'  ठाकुरले भने।



धानसँगै दोश्रो खाद्यान्न मकैवालीको उत्पादनतर्फ पनि यसबर्ष ६ प्रतिशतले कमी आएको छ। चालु आर्थिक बर्षमा आठ लाख ८२ हजार तीन सय ९५ हेक्टरबाट २१ लाख ४५ हजार मेट्रिक टनमात्र मकै उत्पादन भएको छ। गत आर्थिक बर्ष ०७०/०७१ मा नौं लाख २८ हजार सात सय ६१ हेक्टरमा २२ लाख ८३ हजार दुई सय २२ मेट्रिक टन फलेको थियो। 'मौसम प्रतिकुलता तथा रोगको प्रकोपका कारण उत्पादनमा कमी आएको छ,' ठाकुरले भने। कोदोवालीतर्फ भने गत बर्षको तुलनामा १।५ प्रतिशतले उत्पादनमा बृद्धि भएको छ। चालु आर्थिक बर्षमा दुई लाख ६८ हजार ५० हेक्टर क्षेत्रफलबाट तीन लाख आठ हजार चार सय ८८ मेट्रिक टन कोदो फलेको छ। गत आर्थिक बर्ष ०७०/०७१ मा दुई लाख ७१ हजार एक सय ८१ हेक्टरमा तीन लाख चार हजार एक सय पाँच मेट्रिक टन उत्पादन भएको थियो।




Comments