सुक्न थाले 'ग्रिन बेल्ट' का बिरुवा (भिडियोसहित)

राजेश बर्मा 

काठमाडौं : सार्क शिखर सम्मेलनलाई लक्षित गरी राजधानी सुन्दर र हराभरा बनाउन सडकका बीचमा रोपिएका महँगा विरुबा सुक्न थालेका छन्। माइतीघर-नयाँबानेश्वर सडक खण्डअन्तर्गत माइतीघरदेखि बिजुलीबजार पुलसम्म सडकका दायाँबायाँ र बीचमा बनाइएको बगैंचा (ग्रिन बेल्ट) मा रोपिएका बिरुवा सुक्न थालेका हुन्। 


सम्मेलनका लागि हतारमा राखिएका फुटपाथका गमलाका बिरुवा पनि सुकेका छन्। सडक विभाग, नागरिक उड्डयन प्राधिकरण, काठमाडौं जिल्ला अदालत र वन विभागअगाडि सडकमा रोपिएका बिरुवा आइतबार सुकेका देखिए। प्रत्येक पाँचदेखि आठ बिरुवापछि लहरै तीनदेखि चारवटासम्म बिरुवा सुकेका छन्। उक्त सडकखण्डमा करिब एक सयभन्दा बढी बिरुवा सुकेका देखियो।

यी बिरुवाको मूल्य प्रतिगोटा न्यूनतम एक हजारदेखि तीन हजार चार सय रुपैयाँसम्म परेको थियो। काठमाडौं उपत्यका विकास प्राधिकरणले माइतीघरदेखि तीनकुनेसम्म अति महँगो कपुर, क ल्कीका चार जात, धुपीका पाँच जात, रुद्राक्ष, पयाँलोका पाँच जात, माइकेनिया चम्पा, ल्याइबेर सोनिया, श्यामखोडालगायतका २० जातका बिरुवा रोप्न ठेक्का दिएको थियो। 

प्राधिकरणका इन्जिनियर रामप्रसाद श्रेष्ठले भने, 'रेखदेख र संरक्षण अभावमा केही बिरुवा सुकेको जानकारी हामीले पनि पाएका छौं। निर्माण गर्न सजिलो हुन्छ तर व्यवस्थापन गर्न गाह्रो हुँदो रहेछ।' उनका अनुसार मरेका स्थानका बिरुवा उखेलेर नयाँ रोपिनेछ।  बिरुवा रोप्ने ठेक्का पाएका गजुरमुखी, काष्ठमण्डप र उमा एन्ड कम्पनीले मरेका बोट उखेलेर नयाँ बोट रोप्ने सम्झौता गरेको छ। प्राधिकरणले ठेक्का पाएका यी तीनवटै कम्पनीसँग रूख रोपेर तीन महिनासम्म हुर्काउनुपर्ने सम्झौता गरेको छ। 

प्राधिकरणले बिरुवा रोप्ने, दुबोको चपरी राख्ने, माटो हाल्ने, फाउन्डेसन तयार पार्नेलगायतका कामका लागि एक करोड २० लाख रुपैयाँ खर्चेको छ। हालसम्म करिब चार हजार बिरुवा रोपिएको र थप ६ सय रोप्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

यस सडकखण्डमा बगैंचाको रेखदेख गर्ने जिम्मा पाँच वर्षका लागि नेपाल टेलिकमलाई दिइएको छ। गोडमेल, रेखदेख, फोहोर झिक्ने, पानी र मल हाल्ने, कटिङ गर्नेलगायतका कामको जिम्मा टेलिकमलाई दिइएको हो। अधिकतम १५ फिटभन्दा अग्लो नहुने गरी बिरुवाको व्यवस्थापन गरिनेछ।

सार्कका अवसरमा महानगरपालिकाले पाँच सय थान गमला र चार सय ७५ वटा बिरुवा रोपेको थियो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदाँ तीनकुनेको खाली चौरमा रातारात रोपिएका तीन दर्जनभन्दा बढी यस्तै जातका बिरुवा मरेका थिए। 
सर्वसाधारणले जथाभाबी बाटो काट्दा बगैंचामा रोपिएका बिरुवा भाँचिने, माडिने र फुटपाथका गमला चोरी हुन थालेपछि काठमाडौं महानगरपालिकाले शनिबारदेखि कडाइ गर्न थालेको छ। महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले भने, 'जनचेतनामूलक काम सुरु गरेका छौं। अटेर गर्नेलाई सरोकारवाला निकायको सहयोगमा कारबाही गर्ने तयारी पनि गरेका छौं।' यस्तो गर्नेलाई सार्वजनिक अपराधअन्तर्गत कारबाही गर्न छलफल भइरहेको उनले बताए।

जथाभाबी बाटो काट्नेलाई प्रहरीले केही समय नियन्त्रणमा लिई सम्झाएर छाड्ने गरेको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डीएसपी दिनेश आचार्यले आइतबार बबरमहलदेखि नयाँबानेश्वर सडकखण्डमा जथाभाबी बाटो काट्नेलाई नियन्त्रणमा लिइएको बताए। आइतबार एक सय ८७ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडिएको जानकारी उनले दिए। 

भिडियो पनि हेर्नुहोस् 


अन्नपूर्ण पोष्टको दोश्रो पृष्ठको मुख्य समाचार
प्रकाशित मिति  २०७१ मङ्शिर १५ सोमबार
- See more at: http://annapurnapost.com/News.aspx/story/3341#sthash.oC1jUFJ1.dpuf

Comments