झन्डै सभासद्‌को दाँत भाँचियो



नाङ्लोको पाउरोटीमा फलामे टुक्रा

राजेश बर्मा |


काठमाडौं : उपभोक्ता हकहित संरक्षणको विषयमा दैनिकजसो छलफल र निर्देशन दिँदै आएको व्यवस्थापिका संसद्को आपूर्ति तथा उपभोक्ता हितसम्बन्धी उपसमितिका संयोजक सुभासचन्द्र ठकुरी गत मंगलबार बिहान चियासँग पाउरोटी खाँदै थिए। 
एक्कासि अगाडिको दुईवटा दाँत कुडुंग गर्‍यो। ती दुवै दाँत कुनै धातुमा ठोक्किएका कारण उनको शरीर नै सिरिंग भएर आयो। दाँत नमज्जाले दुख्यो। अन्नपूर्ण पोस्ट्सँग शुक्रबार कुरा गर्दै उनले भने, 'अहिले पनि दाँत दुखेको छ। पानी र अरू खाद्यपदार्थ चपाउन खोज्दा दाँतसँगै शरीर सिरिंग भएर आउँछ।'
सदाझैं ललितपुरको ताल्छिखेल १४ स्थित टीका डेरी सेन्टरबाट नाङ्लो बेकरीले उत्पादन गरेको हरियो प्याकेट भएको 'जम्बो' ब्रान्डको पाउरोटी मगाउँदै आएका सभासद्समेत रहेका ठकुरीले मुखमा हालेका फलामे टुक्रासहितको पाउरोटी ओकलेर पाउरोटीकै प्याकेटमा सुरक्षित राखे। 
त्यसपछि उनले प्याकेटमा उल्लेख भएको टेलिफोन नम्बरमा फोन गरे। उनले भने, 'फोन त्यहाँका पालेले उठाए। पालेले कारखाना बन्द भइसकेकाले अर्को दिन उक्त पाउरोटी कारखानामै उपलब्ध गराइदिन मलाई अनुरोध गरे।  पालेले भनेअनुसार मैले पाउरोटीको प्याकेट कारखानामा उपलब्ध गराएको भए मेरो प्रमाण नै नष्ट हुन्थ्यो। तर मैले त्यहाँ बुझाइनँ।' 
उनका अनुसार धातुको माथिमाथि माटोजस्तो देखिए पनि कोतरेर हेर्दा आगोमा जलेर पत्रपत्र परेको अवस्थामा फलामको टुक्रा पाउरोटीमा भेटिएको थियो। उनले भने, 'माथि हेर्दा माटोजस्तै देखियो। कोतरेर हेर्दा पाउरोटी बनाउने फलामे साँचा आगोमा जलेर बनेको पत्रपत्र भएको फलामे टुक्राजस्तो फेला पर्‍यो।' 
२०७१ पुस २८ गते उत्पादन मिति उल्लेख भएको उक्त पाउरोटीको ब्याच नम्बर ०१२ भएको नाङ्लो बेकरीले पाउरोटीको प्याकेटमा उल्लेख गरेको छ। उपसमिति संयोजक ठकुरीले त्यसपछि गत बुधबार उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँलाई बोलाएर प्रमाण उपलब्ध गराउँदै घटनाको बारेमा बेलिविस्तार लगाएका थिए। 
बिहीबार सार्वजनिक बिदा भएकाले मञ्चले शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सप्रमाण उपलब्ध गराएर घटनाको अनुसन्धान गरेर खाद्य ऐनअनुसार दोषीमाथि कारबाही गर्न उजुरी दिएको थियो।
'करिब डेढ महिनाअघि मात्रै उत्कृष्ट उद्योगीको रूपमा खाद्य विभागबाटै सम्मानित भएको नाङ्लोजस्तो प्रसिद्ध कारखानाको उत्पादनविरुद्ध उजुरी आउनु दुर्भाग्य भएको छ,' महासचिव बानियाँले भने, 'तर गल्ती भएकाले खाद्य ऐनअनुसार अनुसन्धान गरेर कारबाही गर्न हामीले माग गरेका छौं। 
दोषी जोसुकै भए पनि कारबाही गर्नुपर्छ।' उजुरीको आधारमा मञ्चका उपभोक्तावादी अनिता तिम्लिसिना, रजनी ढकालसहित विभागको खाद्य निरीक्षक सुमन धिताल तथा मोहनकृष्ण ओझा त्यही दिन पाउरोटी बिक्री गर्ने पसल र ललितपुरको ठैब १ स्थित नाङ्लो कारखानामा पुगेर अनुगमन गरेका थिए। 
अनुगमनको क्रममा पाउरोटी सेक्न प्रयोगमा ल्याइएको फलामे साँचा निक्कै पुरानो र वर्षौंदेखि सफा नगरिएको अवस्थामा फेला पारियो। आगोको रापमा डढेर साँचाबाट फलामे टुक्रा पत्रपत्र परेको अवस्थामा फेला परेको थियो। 
भुइँतलाको उत्पादन थलो फोहोर भेटिए पनि माथिल्लो तलामा रहेको अर्को उत्पादन थलो केही सफा अवस्थामा भेटिएको अनुगमनमा गएका विभागका खाद्य निरीक्षक सुमन धितालले बताए।  उनले भने, 'तीन दिनभित्रमा उपस्थित भएर सञ्चालकलाई बयान दिन पत्र काटेका छौं। बयानको आधारमा थप कारबाही प्रक्रिया अघि बढाउँछौं।'
मैदा छान्ने मेसिनमा फलामजन्य तत्त्व तान्ने चुम्बकीय यन्त्र जडान भएकाले तथा कच्चापदार्थको रूपमा प्रयोग हुने चिनीलई सफा पार्ने तथा छान्ने अत्याधुनिक उपकरण नभएकाले ती दुवैमध्ये कुनै एकबाट पाउरोटीमा 'बाह्य पदार्थ' प्रवेश गरेको हुन सक्ने भन्दै कारखानाका प्रोडक्सन तथा फुड सेफ्टी म्यानेजर गौरव खतिवडाले बयान दिएको अर्का खाद्य निरीक्षक ओझाले जानकारी दिए। उनका अनुसार कारखानालाई खियालागेको पुराना साँचा विस्थापित गर्न पनि निर्देशन दिइएको छ। 

भिडियो हेर्नुहोस



अन्नपूर्ण पोष्टको अर्थतन्त्रमा प्रकाशित
प्रकाशित मिति २०७१ माघ ३ गते

- See more at: http://annapurnapost.com/News.aspx/story/5900#sthash.1iednbZD.dpuf

Comments