बयान लिएको 'मुद्दा' को फायल नै गायब




बिशालबजार ठगि प्रकरण

  • राजेश बर्मा 
काठमाडौं: डेढ सय प्रतिशतभन्दा बढी मूल्य असुल गरेर उपभोक्तालाई ठग्दै आएको बिशालबजारको मुद्दासम्बन्धीे फायल नै गायब भएको छ। ठगी गर्ने पसल सञ्चालक र मुद्दा चलाउने निकाय वाणिज्य तथा आपूर्ति विभागका कर्मचारीको मिलेमतोमा मुद्दाको फाईल गायब पारिएको हो।





आईतबार अन्नपूर्णकर्मी मुद्दाको प्रगतिबारे बुझ्न विभागमा पुग्दा महानिर्देशक शम्भु कोईरालाले आफु दुई महिना अघि मात्रै बिभागमा आएकाले उक्त प्रकरणबारे केही जानकारी नभएको बताए। मनपरी मूल्य असुल गर्ने व्यापारीमाथि कारबाही भएनभएको जानकारी विभागीय प्रमुखले नराखेपछि उनले भने,'म भर्खरै आएँको छु, अनुगमन शाखाका प्रमुख हरि बेलवासेलाई सोध्नुस्।' 

निर्देशकसमेत रहेका बेलवासेले समेत आफू पनि अनुगमन शाखाको प्रमुखमा केही साता अघि मात्रै आएकाले बिशालबजार प्रकरणसम्बन्धी फायल अध्ययन गर्न नपाएको बताउदै अनुगमन निरिक्षक हेरम्भराज पोखरेलसँग जानकारी लिन भने। 

पोखरेलले भने आफूले साढे दुई महिनाअघि नै दोषी मानिएका आरएसए तृषा, इन्टरसप, ओकलयाण्ड र श्रीरेडिमेड स्टोरका सञ्चालकसँग आफुले तथा बीओम स्टोरका सञ्चालकसँग अर्का निरिक्षक राजेन्द्र कार्कीले बयान लिएर थप प्रक्रिया अघि बढाउन दुई महिना अघि कानुन शाखामा फायल बुझाएको दावी गरे। 'मैले बयान लिएको र राजेन्द्रजीले बयान लिएको फायल कानुन शाखामा दुई महिनाअघि नै पठाएको थिए,' पोखरेलले दाबी गर्दै भने,'फायल नभेट्टिनु शंकास्पद भयो। मैले लिएको चारजना ब्यापारीलाई आगामी शुक्रबार सम्पर्कमा आउन भनी तारेखमा राखेको छु। अर्का व्यापारीको बारेमा मलाई कुनै जानकारी आएको छैन्।' पोखरेले थप जानकारी लिन कानुन शाखाका प्रमुख बिनोद गौतमसँग सम्पर्क गर्न भने। कार्की बिभागको काममा भारत गएका छन्। 


कानुन शाखाका प्रमुख गौतमले भने विशालबजार ठगी प्रकरणसम्बन्धी हालसम्म आफुले कुनै पनि फायल नपाएको गुनासो पोखे। 'फायल पठाइएको भए मथिल्लो तल्लाबाट तल्लो तल्लामा आउन दुई महिना लाग्दैन। बिशालबजारसम्बन्धी कुनै फायल मलाई वा मेरो शाखामा उपलब्ध गराइएको छैन्। बिभागले हालसम्म उक्त प्रकरणसम्बन्धी कानुनी रूपमा मसँग राय सुझाव पनि मागेको छैन्,' गौतमले भने,'बिश्वास लाग्दैन् भने जाउ मेरो फाँटमा।' 

गौतमले तल्लो तल्लामा रहेको आफ्नो फाँटमा लगेर भएका सबै दराजबाट फायलहरू खोतलेर बाहिर झिक्दै देखाए। 'लौं हेर्नुस, कहाँ छ बिशालबजारसम्बन्धी फायल,' उनले भने,'कानुन शाखाको प्रमुखको नाताले मसँग अहिलेसम्म राय सुझाव पनि मागिएको छैन्। फायल आउनु त परैको कुरा हो।' 

दशैं ताका निक्कै हल्लाका साथ विभाग आफैले गत असोज ३ र ६ गतेगरी दुई पटक बिशालबजारमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा स्थानीय व्यापारीले ति दुवै दिन अनुगमनको बिरोध गर्दै पसलको सटर बन्द गरेका थिए। अनुगमनकर्ता टोलीलाई घेरावन्दी गर्दै ब्यापारीहरूले कुटपिटसम्मको प्रयास गरेका थिए। विभागका एक अधिकृत भन्छन्,'कारवाही गर्ने भनिएपछि मुद्दा मिलाइदिनु प:यो भनेर व्यापारीहरूको लर्को नै लागेको थियो।'

विभागले तत्कालै कारवाही गर्ने भनेपनि चार महिना वित्दासम्म कुनै प्रकृया अघि नबढ्नु पछाडि चलखेल भएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिब ज्योति बाँनियाले भने। 'आफैं अनुगमन गर्ने र कारबाहीबाट उन्मुक्ति दिने विभागको दोहोरो चरित्रमा चलखेलको गन्ध देखिन्छ, सरकारले यसबारे गहन अनुसन्धान गर्नुपर्छ,' आरोप लगाउदै बाँनियाले भने,'बाणिज्य मन्त्री तथा राज्यमन्त्रीको प्रत्यक्ष हस्तक्षेपका कारण कारवाही अघि बढाइएको छैन्। बिभागभित्रै सुद्धिकरणको आवश्यकता छ। अनुगमन नाममा मात्र सिमित भएकाले जनताले त्यसको अनुभूति गर्न पाएका छैन्।' 



यस्तो छ, ब्यापारीको लुट धन्धा 

पसल               सामान               खरिद मूल्य(रू.मा)       बिक्रि मूल्य(रू. मा) 

आरएसए तृषा        ज्याकेट               ३७३                      ३५४० 

आरएसए तृषा        सुटकेश               १७००                      २३४५ 

इन्टरसप               पाइन्ट मिडियम   २८७                      २२५० 

इन्टरसप                सर्ट                     १८७                      १२०० 

श्रीरेडिमेड स्टोर      हाफ ज्याकेट        २०१                      २७०० 

ओकल्याण्ड         जिन प्यान्ट          ३००                      ११०० 

ओकल्याण्ड         टी सर्ट                   ७६                        १००० 

बीओम स्टोर       लेडिज व्याग          १९१                      १९५० 

बीओम स्टोर       जुत्ता               ४६५                           २५०० 

श्रोत: बाणिज्य तथा आपूर्ति बिभाग 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा प्रकाशित
प्रकाशित मिति : २०७१ माघ ५ सोमबार

Comments