अकुत सम्पति कमाउने महन्थलाई कार्वाही भएन

गुठी संस्थान खारेजीको गृहकार्य

राजेश बर्मा 
महन्थ रामतपेश्वर दास
काठमाडौं : देशभरिका मठमन्दिर तथा पुरातात्त्विक स पदा नियमन गर्न स्थापित गुठी संस्थानले प्रभावकारी तथा पारदर्शी रूपमा काम गर्न नसकेको भन्दै सरकारले यसलाई खारेज गर्ने भएको छ।

 भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गुठी संस्थानको जग्गासम्बन्धी सम्पूर्ण काम मालपोत तथा संस्कृतिसम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हेर्ने गरी गृहकार्य भएको जानकारी दिए। 
'मठमन्दिरहरूको सबालमा विभिन्न समिति र आयोगले दिएको प्रतिवेदनअनुसार दोषिमाथि कारबाही गर्न र चुनौतीलाई डटेर प्रभावकारी तथा पारदर्शी रूपमा जिम्मेवारी वहन गर्न सक्दैन भने कर्मचारी पाल्नमात्र संस्थान राख्नु उचित हुँदैन', सचिव रेग्मीले अन्नपूर्णसँग भने, 'मिलेमतोमा दोषी भनिएका व्यक्तिहरूमाथि कारबाही गर्न नसक्ने संस्थानले आफ्नो आचरण सुधार गर्न नसके हामी खारेज गर्नुपर्ने निष्कर्षमा पुगेका छौं।'


संस्थानको कमजोरीका कारण मठमन्दिरमा दर्जनौं अनियमितता देखिएको जानकारी दिँदै सचिव रेग्मीले मठमन्दिरका सम्पत्ति, जग्गा, भेटी र प्रशासकीय सुधारबारे विभिन्न छानबिन समितिले प्रतिवेदन दिए पनि दोषीमाथि कारबाही गर्न संस्थानले भूमिका खेल्न नसकेको बताए। 
उनले भने, 'त्यसैको प्रतिफल जानकी मन्दिरसहित जनकपुरका सम्पूर्ण मठमन्दिरको जग्गा र सम्पत्ति हिनामिना भएको हो। मठमन्दिरको कामकारबाहीमा मन्त्रालयले हस्तक्षेप गर्न पाउँदैन। सबै अधिकार संस्थानसँग छ।' जनकपुरस्थित जानकी मन्दिरको करोडौं मूल्यबराबरको स पत्ति तथा भेटी हिनामिना भए पनि गुठी संस्थानले यसका दोषीहरूलाई कारबाहीबाट उन्मुक्ति दिएको छ। 
जानकी मन्दिरसहित अन्य मठमन्दिरको सम्पत्ति हिनामिना तथा जग्गा अतिक्रमणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भोजराज घिमिरेको आयोग, हरि बख्ती समिति, अघिल्लो संसद्को प्राकृतिक स्रोतसाधन समितिअन्तर्गतको भूमिसुधार तथा व्यवस्थापन उपसमिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, धनुषा जिल्ला गुठी सञ्चालन सहयोग समितिले स्थलगत छानबिन गरेर दोषी किटानसहित प्रतिवेदन बुझाए पनि संस्थानले कसैमाथि कारबाही गरेको छैन। 
मन्दिरमा चढाइने भेटी, सम्पत्ति, बहुमूल्य गरगहना तथा मूर्ति हिनामिना भएको सम्बन्धमा यस्ता प्रतिवेदन सरकारी निकायमा थन्किएका छन्। गत २०६७ पुस १८ गते संस्थानलाई पत्राचार गर्दै प्रधानमन्त्री कार्यालयले घिमिरे आयोग र अख्तियार प्रतिवेदनका आधारमा १५ दिनभित्र कानुनविपरीत गुठी, जग्गा, मठमन्दिर र पोखरीको डिल अतिक्रमण गरेर निर्माण भएको भौतिक पूर्वाधार हटाउन निर्देशन दिएको थियो।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयको ०६८ जेठ २३ गते बसेको बैठकले मठमन्दिर र गुठीका जग्गालगायत सम्पत्ति हिनामिना गर्ने, गुठी जग्गा संरक्षण नगर्ने महन्थउपर तत्कालै कारबाही गर्ने निर्णय गर्दै कार्यान्वयनका लागि संस्थानलाई निर्देशन दिएको थियो। 
 जानकी मन्‍दिरको करोडौं मूल्‍यसहितको सम्पत्ति हिनामिनामा भए पनि गुठी संस्थानले दोषीलाई उन्मुक्ति दिएको छ। 
उक्त बैठकले 'अतिक्र मणसम्बन्धी कार्य साबिकदेखि अदृश्य तर संगठित रूपमा सञ्चालन भइरहेकाले राज्यले अतिक्रमणविरुद्ध लिएको नीतिका कारण ठूला समूह नै प्रभावित' हुने भनेर निर्णय पुस्तिकामा उल्लेख गरेको छ।
घिमिरे आयोगले मन्दिरका महन्थ रामतपेश्वर दासको कार्यकालमा पाँच सय ८४ बिघा (२०६२/०६३ सम्म) जग्गा मनखप (महन्थले खाइपाई आएको तलब तथा अन्य खर्च चलाउने बहानामा) का आधारमा औंठाछाप लगाएर बेचबिखन भएको उल्लेख गरेको छ। 
साबिकमा जानकी मन्दिर मातहतमा करिब ६ सय बिघा जग्गा थियो। सोही आयोगले मन्दिरको चारवटै तहखानाभित्रबाट सुनचाँदीका गरगहना, हीरा जवाहरातहरू हराएको लगायतका विषय उठाएको छ।
यसैगरी प्राकृतिक स्रोतसाधन गुठी उपसमितिले जानकी मन्दिर र मठका नाममा रहेको सयौं बिघा जग्गा हराइरहेको, सम्पत्तिहरू नभेटिएको तथा भेटीसमेत पारदर्शी नभएको ठहर गरेको थियो। जानकी मन्दिर पूर्ण रूपमा अस्तव्यस्त भएको भन्दै तत्कालीन मन्दिरका महन्थ रामतपेश्वर दासलाई मुख्य दोषीका रूपमा समितिले प्रतिवेदन तयार पारेको थियो।
यस्तै अख्तियारले मन्दिरको जग्गा, नगद, जिन्सी र अन्य सम्पत्तिको कुनै लिखत प्रमाण नराखिएको, जग्गाजमिन व्यापक रूपमा हिनामिना गरिएको, मन्दिरका घरहरूबाट उठेको भाडा रकमको लेखाजोखा नराखिएको, मन्दिरको आम्दानी खाताहरू भारतक मधुवनी, दरभंगा र अयोध्यामा रहेको उल्लेख गरेको छ।
संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले जानकी मन्दिरसहित अन्य मठ मन्दिरको सम्पत्ति, गरगहना र आर्थिक स्रोत व्यापक रूपमा दुरुपयोग भएको स्वीकार गरे। उनले संस्थानकै कमजोरीका कारण एउटै महन्थ १७ वर्षसम्म अवैध रूपमा कार्यरत रहँदा सम्पत्ति, आर्थिक स्रोत र जग्गाको व्यापक दुरुपयोग भएको बताए।
'एउटै महन्थ १७ वर्षदेखि कार्यरतमात्रै रहेनन्, सम्पत्ति, गरगहना, जग्गा र आम्दानीका स्रोत पनि दुरुपयोग भयो। पहिले नै यस विषयमा कडा कदम चाल्नुपर्थ्‍यो। तर सकिएन। अहिले सुधार गर्न लागिपरेका छौं', अध्यक्ष ज्ञवालीले भने, 'सुधारका लागि पहिलो चरणमा पुराना महन्थ रामतपेश्वरलाई हटाएर जगदीशदास वैष्णवलाई नियुक्त गरेका छौं। यस्ता कमजोरी दोहोरिन नदिन प्रभावकारी काम गर्न लागेका छौं।'
'तत्कालीन समयमा म संलग्न रहेको व्यवस्थापिका संसद्को प्राकृतिक स्रोतसाधन गुठी उपसमितिले स्थलगत अनुगमन गरेको थियो। महन्थले सम्पत्ति, आम्दानीखर्च, गरगहना, जग्गाजमिनको पारदर्शी लगत तथ्यांक नराखेको पाएका थियौं', एमाले नेत्री जुली महासेठले भनिन्, 'अनुगमनका क्रममा जानकी मन्दिरका सबै सम्पत्ति हिनामिना भएको पायौं। भेटीसमेत पारदर्शी देखिएन। 
मन्दिरमा भएका सुनचाँदीका गरगहना तथा हीराजवाहरात गुठी संस्थानको केन्द्रमा रहेको भनेर जानकारी दिइयो।' तर केन्द्रमा बुझ्दा कुनै पनि यस्ता सामग्री नरहेको संस्थानले जानकारी दिएको थियो।' त्रुटिका विषयमा आवश्यक कारबाही अघि बढाउन निर्देशन दिए पनि संस्थानले चासो नदिएको उनले बताइन्।
घिमिरे आयोगले प्रतिवेदनमा '२०५३ सालमा नापी हुँदा सर्वे नक्सामा घर नरहेको र मन्दिरका खाली रहेको जग्गामा पनि मन्दिरका महन्थले नापी पहिलेको मितिको जालसाजी मनखप कागज तयार गरेर घर बनाएको' उल्लेख गरेको छ। 
प्रतिवेदनले अरगजा तलाउ, मराहा पोखरी, तेलाहा पोखरी, पाकवती पोखरी, रामानन्दचोक पूर्वको खाली जग्गा, जनस्वास्थ्य कार्यालय पूर्वको जग्गा, देवीचोकको जमिन, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वर दासले बिक्री गरेको उल्लेख गरेको छ।
'महन्थ रामतपेश्वरदास स्वयंले अनधिकृत रूपमा जानकी मन्दिरको पोखरी, त्यसको डिलको जग्गामा घर, सटरलगायत भौतिक पूर्वाधार बनाउन लगाए। सर्वे नापीपछि खाली रहेको जग्गालाई पुरानो मितिको कबुलियतको कागज लेखेर स्वर्गीय गुरु रामशरण दासको नक्कली हस्ताक्षर तथा छाप लगाएर आफूले हालसम्मको मनखप बुझेको भरपाई बनाएर बिक्री गरेका छन्', घिमिरे प्रतिवेदन किटान गरिएको छ।
जानकी मन्दिरका पुजारी रामतपेश्वर दासका उत्तराधिकारी रामरोशन दास (छोटे महन्त ) ले पुजारीले कुनै सम्पत्ति हिनामिना नगरेको दाबी गरे। केही भूमाफियाले पुजारीको बदनाम गर्न यो आरोप लगाएको उनले बताए। उनले भने, 'कुनै पनि मन्दिरको सम्पत्ति बेचबिखन गर्ने अधिकार पुजारीको हुँदैन। गुठी संस्थानको मातहतमा रहेर पूजामात्र गर्ने हो।' 
जानकी मन्दिरको परम्परा पनि पशुपतिनाथ मन्दिरको जस्तै भएको बताउँदै रामरोशनले भने, 'परम्परा भत्काउन नगरेको आरोप लगाइँदैछ।' मन्दिरमा विगत पाँच सय वर्षदेखि गुरुचेला परम्परामार्फत पूजा चलिरहेको जानकारी दिँदै उनले भने, '१६ औं पुस्तासम्म यही परम्पराअनुसार पूजा भइरहेको छ। यी आरोप सबै निराधार हुन्।' अनियमितता गरेको भए पुजारीलाई कानुनले नछोड्ने तर पुजारीलाई बदनाम गर्न भूमाफिया र माओवादी लागेको उनले बताए।

अन्नपूर्ण पोष्टको तेश्रो पृष्ठमा प्रकाशित
प्रकाशित मिति २०७१ चैत्र ७ शनिबार

Annapurna Post: http://annapurnapost.com/News.aspx/story/9064#sthash.JfIPdhpB.eMMaysbU.dpuf

Comments