क्यान्सरजन्य 'एसबेस्ट्स' मा प्रतिबन्ध



राजेश बर्मा 
काठमाडौं / सरकारले मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पारेको ठहर गर्दै क्यान्सरजन्य 'एसबेस्ट्स' (नजल्ने धातु) युक्त निर्माण सामग्रीमा असारदेखि पूर्ण प्रतिबन्ध लगाउने भएको छ। विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले असार ५ गतेदेखि मुलुकभर एसबेस्ट्सबाट निर्माण भएका जस्तापाता, फाइबर, सिट, टायल्स, सिमेन्ट र इन्सुलेटर आयात, निर्यात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो। 



एसबेस्ट्स एक प्रकारको खनिज पदार्थ हो। एसबेस्ट्स जति पुरानो हुँदै जान्छ, त्यसबाट रेसा र कण फुटेर हावाका माध्यमबाट श्वासप्रश्वास हुँदै फोक्सोमा पुग्छ। फोक्सोमा पुगेर विभिन्न नलीमा टाँसिएर यसले बिस्तारै कोशिकाहरू मारेर क्यान्सर लगाउन सक्षम हुन्छ। 


मन्त्रालयले गत पुस ७ गते नै यसमा प्रतिबन्ध लगाउने निर्णय राजपत्रमा सूचनासमेत जारी गरिसकेको थियो। सवारीसाधनमा प्रयोग हुने ब्रेक सु, क्लच प्लेटबाहेक अन्य सबै प्रकारका एसबेस्ट्स सामग्रीमा यो धातु प्रतिबन्ध लगाउन लागिएको हो। 

'एसबेस्ट्स मानव स्वास्थ्य र वातावरणका लागि निकै हानिकारक तत्त्व हो', विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्रमान गुरुङले भने, 'यो तत्त्वबाट निर्माण भएका सामग्री जोखिमयुक्त भएकाले केही सामग्रीबाहेक अन्य सबै प्रकारका सामग्रीमा मुलुकभर आयातनिर्यात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदैछौं।'

 यसमा प्रतिबन्ध लगाउन अर्थ मन्त्रालयसहित मुलुकभरका भन्सार कार्यालयलाई निर्देशन दिइसकिएको उनले बताए। गुरुङका अनुसार एसबेस्ट्सको सम्पर्कका कारण फोक्सोसम्बन्धी क्यान्सरका साथै अन्य प्रकारका जटिल रोग लाग्ने प्रबल सम्भावना भएकाले मानव स्वास्थ्यलाई ख्याल गरेर प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। 

एसबेस्ट्स एक प्रकारको खनिज पदार्थ हो। एसबेस्ट्स जति पुरानो हुँदै जान्छ, त्यसबाट रेसा र कण फुटेर हावाका माध्यमबाट श्वासप्रश्वास हुँदै फोक्सोमा पुग्छ। फोक्सोमा पुगेर विभिन्न नलीमा टाँसिएर यसले बिस्तारै कोशिकाहरू मारेर क्यान्सर लगाउन सक्षम हुन्छ। क्यान्सर लाग्ने एउटा कारकतत्त्वमा एसबेस्ट्स पनि भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार मुख्य गरी भारतसँग नाका जोडिएका ठाउँमा भारतबाट व्यापक रूपमा एसबेस्ट्सयुक्त विभिन्न प्रकारका सामग्री आयात भइरहेको छ। विश्व स्वास्थ्य संगठन र इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार एसबेस्ट्सले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ। 

विश्व स्वास्थ्य संगठनका अनुसार एसबेस्ट्सको प्रयोगबाट शतप्रतिशत क्यान्सर लाग्ने सम्भावना भएकाले बेलायत, फ्रान्स, आयरल्यान्ड, जापान, चिली, अस्ट्रेलिया, टर्कीलगायत ४० वटा मुलुकमा यसको प्रयोग, आयातनिर्यात र बिक्रीवितरणमा प्रतिबन्ध लगाएका छन्। 

'एसबेस्ट्सको प्रयोगले मुख्य गरी फोक्सोमा क्यान्सर लाग्ने प्रबल सम्भावना हुन्छ', संगठनको प्रतिवेदनमा भनिएको छ, 'एसबेस्ट्सको प्रभाव मानव स्वास्थ्यमा तत्कालै देखिँदैन। यसको प्रयोग र सम्पर्कमा आएको करिब १० वर्षपछि मात्रै क्यान्सरजन्य र अन्य प्रकारका जटिल रोगको लक्षण देखापर्छ।' एसबेस्ट्सका कारण अमेरिकामा मात्रै वार्षिक १५ हजार र विश्वभर एक लाख सात हजार मानिसको मृत्यु हुने गरेको संगठनले जनाएको छ। 

एसबेस्ट्सका विषयमा लामो समयदेखि अध्ययन गर्दै आएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार अहिले पनि वार्षिक करोडौं मूल्यबराबरका एसबेस्ट्सका सामग्री विभिन्न नाकाबाट नेपाल भित्रिने क्रम रोकिएको छैन। साहले तराईका जिल्लामा अधिकांश सर्वसाधारणले घरको छाना छाउन एसबेस्ट्सबाट निर्माण भएको जस्तापाता प्रयोग गर्दै आएका छन्। 

अन्नपूर्ण पोष्टको दोश्रो पृष्टमा प्रकाशित
प्रकाशित मिति २०७२ जेष्ठ ३१ आईतवार
http://annapurnapost.com/News.aspx/story/13312

Comments