त्रिपाल घोटाला: प्रधानमन्त्रीद्वारा छानबिन आदेश



राजेश बर्मा
काठमाडौं / भूकम्पपीडितका लागि सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक अनियमितता भएको सार्वजनिक भएपछि प्रधानमन्त्री सुशील कोइरालाले गम्भीर चासो देखाउँदै गहन छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन्।




प्रधानमन्त्रीको निर्देशनलगत्तै केन्द्रले सोमबार मन्त्रालयबाट त्रिपालसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। केन्द्रका प्रमुख अधिकृत रमेशकुमार शर्माले अन्नपूर्ण पोस्ट्मा 'त्रिपालमा व्यापक घोटाला' शीर्षकको समाचार सोमबार प्रकाशित भएपछि प्रधानमन्त्रीले अनुसन्धान गर्न निर्देशन दिएको बताए।

'प्रधानमन्त्रीज्यूले त्रिपाल प्रकरणमा गम्भीर चासो देखाएर छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको छ', शर्माले भने, 'हामीले आजैबाट छानबिन सुरु गरेका छौं।' विपत्त समय भन्दै छोटो प्रक्रियाबाट मन्त्रालयले त्रिपाल खरिद गरेको थियो।

पाँच लाख थान त्रिपालमध्ये मन्त्रालय आफैंले १० हजार थान वितरण गरेको थियो। मन्त्रालयले वितरण गरेको त्रिपाल व्यापारीका गोदाममा समेत भेटिएका थिए। पछिल्लोपटक भारतबाट खरिद भएका त्रिपाल कम संख्यामा भेटिएपछि व्यापक अनियमितता भएको खुलेको हो।

'त्रिपालका सम्बन्धमा अन्नपूर्णमा प्रकाशित समाचारले हामीलाई छानबिन गर्न बल मिलेको छ, प्रधानमन्त्रीज्युले गम्भीर चासो देखाएर छानबिन गर्न निर्देशन दिनुभयो', शर्माले भने, 'प्रारम्भिक छानबिनमा ठूलो अनियमितता भएको भेटेका छौं। एउटै मूल्यमा दुई प्रकारका गुणस्तरको त्रिपाल खरिद भएको भेटिएको छ। अन्य धेरै त्रुटि फेलापरेका छन्।'

प्रधानमन्त्रीको निर्देशनअनुसार केन्द्रले मंगलबार साँझसम्म आवश्यक छानबिन गरेर प्रधानमन्त्रीसमक्ष आफ्नो प्रतिवेदन बुझाउनेछ। उनका अनुसार छानबिन गर्न सहरी विकास मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, नेसनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानबाट त्रिपालसम्बन्धी सम्पूर्ण फाइल र तथ्यांक केन्द्रले नियन्त्रणमा लिएको छ।

सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले पनि त्रिपाल खरिदसम्बन्धमा केन्द्रले छानबिन थालेको जानकारी दिए। उनले भने, 'केन्द्रले आजैदेखि छानबिन गर्न सुरु गरेको छ। छानबिन सुरु भइसकेको अवस्थामा प्रभाव पर्ने गरी मन्त्रालयका तर्फबाट केही बोल्न मिल्दैन।'

मन्त्रालयसँग सम्झौता भएकोमध्ये वीरगन्जको भी मल्टी कन्सर्न प्राइभेट लिमिटेडले भारतबाट भित्र्याएको ट्रकमा पाँच सय ५५ बन्डलमा प्रतिबन्डल दुई थान गरेर एक हजार एक सय ५४ थान कम त्रिपाल भेटिएको थियो। एउटा बन्डलमा १२ थान त्रिपाल हुनुपर्नेमा १० थान मात्रै भेटिएको थियो।


अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको मुख्य समाचार
प्रकाशित मिति २०७२ जेष्ठ १९ मंगलवार
http://www.annapurnapost.com/News.aspx/story/12613

Comments