चिनियाँ कामदार भागेपछि चक्रपथ विस्तार अलपत्र

राजेश बर्मा 

काठमाडौं : भूकम्पका नाममा ‘नेपालमा बसेर काम गर्न नसक्नेु भन्दै चिनियाँ कामदार स्वदेश भागेपछि आठ लेनको कोटेश्वर-कलंकी सडकखण्ड अलपत्र परेको छ। समयमा सडक निर्माण गर्ने काम नहुँदा सर्वसाधारण घाममा धुलो खान र वर्षामा हिलो झेल्न बाध्य छन्। आगामी सन् २०१६ को मे महिनामा सम्पन्न हुनुपर्ने ५० मिटर चौडाइको उक्त सडकखण्ड अहिले पूर्ण रूपमा ठप्प छ। ठेकेदार चीनको संघाई कन्सट्रक्सन ग्रुपका तर्फबाट श्रमिकदेखि प्रोजेक्ट म्यानेजरसम्म ९० जना चिनियाँ कामदार गत वैशाख १२ गते भूकम्प गएलगत्तै जानकारी नदिई स्वदेश फर्केका थिए।

काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अशोक तिवारीका अनुसार चिनियाँ कामदारलाई नेपाल फर्काएर काम नियमित गराउन पटकपटक ताकेता गरे पनि ठेकेदारले हालसम्म चासो देखाएका छैनन्।

‘भूकम्पको बहानामा स्वदेश गएका कामदारहरू अझै नफर्कंदा काम पूर्ण रूपमा ठप्प बनेको छ। तीन महिनादेखि कुनै काम भएको छैनु, प्रमुख तिवारीले शुक्रबार अन्नपूर्ण पोस्ट्सँग भने, ‘पछिल्लोपटक गत बुधबार पनि ठेकेदार गु्रपलाई कामदार फर्काएर काम नियमित गराउन ताकेदा गरेका थियौं। तर कुनै चासो देखाएन। कुनै जबाफसमेत दिएको छैन', उनले भने।

संघाईले कामप्रति लापरबाही गरेको भन्दै आयोजनाले आगामी साता चिनियाँ राजदूतावास तथा तिब्बतको ल्हासास्थित चिनियाँ महावाणिज्य दूतावासलाई आवश्यक जानकारी गराउने भएको छ। कामदारहरू नेपाल नआउँदा असारसम्म सम्पन्न गर्ने भनिएको उक्त सडकखण्डका चारवटा पुलको कामसमेत प्रभावित भएको छ।
कामदार अभावमा ठप्प भएको उक्त सडकखण्डको काम मनसुनी वर्षाका कारण थप दुई महिना ठप्प हुने भएको छ। 

आयोजनाका इन्जिनियर प्रदीप श्रेष्ठका अनुसार असार महिनामा मनोहरा खोलामा एक, बागमतीमा एक र बल्खु खोलामा दुईवटा पुल निर्माण सम्पन्न गर्ने योजना थियो। 'वैशाख १२ अघिसम्म ती सबै पुलको फाउन्डेसन तयार भइसकेको थियो', श्रेष्ठले भने, ‘फाउन्डेसनमाथि तयारी गरेर राखिएको पुल हालेर अन्तिम रूप दिन बाँकी रहेको अवस्थामा चिनियाँं कामदार स्वदेश फर्केपछि काम रोकिएको हो।'

कुल १० दशमलव ३९ किलोमिटरको उक्त सडकखण्डमा संघाईले कोटेश्वरमा बीचको चार लेनबाहेक दायाँबायाँतर्फको दुईदुई लेनमा केही मिटर नमुना सडक मात्रै निर्माण सम्पन्न गरेको छ। श्रेष्ठका अनुसार कामदार फर्के पनि असारदेखि सुरु भएको मनसुनी वर्षाका कारण भदौसम्म काम गर्ने अवस्था छैन।

बर्सात्को समयमा सडक फराकिलो पार्ने, सम्याउने, गिट्टी ओछ्याउने, कालोपत्रे गर्नेलगायत प्राविधिक काम गर्न नमिल्ने भएकाले असोजदेखि मात्र उक्त सडकखण्डको काम नियमित हुने जानकारी श्रेष्ठले दिए। गत् २०७१ असार २० गते चिनियाँ स्टेट काउन्सिलर याङ जेइची र उपराष्ट्रपति परमानन्द झाले संयुक्त रूपमा शिलान्यास गरेको उक्त सडकखण्ड निर्धारित समयमा निर्माण सम्पन्न हुन नसक्ने विज्ञहरूले बताएका छन्। 

सडक निर्माणका लागि चीन सरकारले करिब चार अर्ब रुपैयाँ अनुदान सहयोग नेपाल सरकारलाई उपलब्ध गराएको छ। सन् २०१२ डिसेम्बर १८ मा ठेक्का पाएको संघाईले २०१३ मार्च १५ देखि काम सुरु गरेर आगामी २०१६ को मे महिनामा सम्पन्न गर्नुपर्ने सम्झौता छ।

अन्नपूर्ण पोष्टको दोश्रो पृष्ठको मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति २०७२ असार २६ शनिबार

Comments