'मिडियाले मेरो सर्वस्व लुट्यो'


'१७ वर्षे तरुनी भए पो मन्त्री मेरो पछि लाग्नु' :  सानु केसी

राजेश बर्मा 
काठमाडौं मुलपानीकी ७० बर्षीया एकल महिला सानु केसी अहिले मर्नु न बाँच्नु भएकी छन् । दमले थलिएकी उनी अहिले गाउँदेखि देश विदेशसम्म अपहेलित हुनुपर्दा थप रोगी भएकी छिन् । 'लौं न हजुर म जस्तो दमको बिरामीलाई मिडिया भन्नेले जिउँदै मारे, परिबार र समाजका अगाडि मुख देखाउन नहुने भयो, गल्ती नै नगरी मेरो चरित्र हत्या भयो,' डाँको छाडेर रुँदै बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सानुले भनिन्, 'दुःखमा परेकालाई न्याय दिलाउने पत्रकारले आज मेरो सर्वस्व लुटे, मेरो अस्मिता लुटियो । कोसँग न्याय माग्न जाउँ रु कि न्याय दिनुपर्यो, कि त जिउँदै गाडिदेउ। नखाएको बिष पनि पत्रकारले खुवाए ।'



असार १५ को अवसरमा मुलपानीमा आयोजित धान रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीसँग खिचिएको तस्बिरमा देखिएकी महिला सानु केसी हुन् । मिडियाले 'नियतवश' अतिरञ्जित गरेर तस्बिर सार्वजनिक गरेकाले परिवरका सदस्यसामू मुख देखाउन नसक्ने भएको उनले रुँदै बताइन् । 

तस्बिर सार्वजनिक भएपछि बुधबारदेखि केही नखाइ रोएर बसेको उनले बताइन्न् । अष्ट्रेलियामा रहेका छोरा, बुहारी, नाति र छोरीका नजरमासमेत आफूलार्इ मिडियाले गिराएको उनको दुखेसो थियो । 'छोरा बुहारीले मन्त्रीसँग किन लसपस गरेको भन्दै मलाई हकारे', उनले भनिन्,'अब म के गरुँ ? मिडियाले सार्वजनिकरुपमै मेरो इज्जत लुटे ।'


'म १७ बर्षे उत्ताउली तरुनी भए पो मेरो पछि मन्त्री लाग्नु । मलाई किन मन्त्रीले अंगालो मार्ने ? मन्त्रीले आमा भन्दै आर्शिवाद मागेपछि आशिर्वाद दिएँ । उनले अभद्र र गलत व्यबहार गरेनन्', सानुले भनिन्, 'उनले नियतवश नराम्रो गरेका भए हामी महिलाले त्यहीँ प्रतिकार गर्थ्यौं । रोपाइँमा ख्याल, ठट्टा र रमाइलो हुन्छ नै । रोपाइँको रमाइलोलार्इ बंग्याएर महिलाहरुको चरित्र हत्या हुने गरी नराम्रो समाचार पठाइयो । मेरो इज्जत र प्रतिष्ठामा मन्त्रीले होइन, मिडियाले आँच पुर्याए ।’ 

केसीले महिला अधिकारबादी संस्था पनि न्याय दिलाउनुको साटो डलरखेती आन्दोलनमा लागेको गुनासो पोखिन । 'तस्बिरलाई भजाएर महिलाबादी संस्थाले डलरको व्यापार गर्न सुरु गरेका छन्,' उनले भनिन्, 'तर हाम्रो पीडा र बेदना एक पटक पनि ती संस्थाका प्रतिनिधिले बुझेनन् । महिला हिंसाको कुरा गर्नेले हाम्रो व्यथा नबुझेर कमाइ खाने भाँडो बनाए ।’

उनले त्यस्ता संघसंस्थाको बिरुद्धमा आफूहरु उभिएको बताइन् । मनोहरा मिश्रित कृषक समूहकी सदस्य सरला ढकालले मिडियाले नियतवश सम्पूर्ण नेपाली महिलाको चरित्रमाथि खेलबाड गरेर तस्बिर सार्वजनिक गरेको आरोप लगाइन् । पत्रकार सम्मेलनमा दुबै कृषक समूहका २० जना महिला सहभागी थिए । 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको मुख्य समाचारमा प्रकाशित
प्रकाशित मिति २०७२ असार १८ शुक्रबार
http://annapurnapost.com/News.aspx/story/14281

Comments