१८ हजार भूकम्पपीडितलाई एउटै भान्सा

राजेश बर्मा 
काठमाडौं, भक्तपुरको सूर्यविनायकमा एउटा भान्छाघरले दैनिक १८ हजार भूकम्पपीडितलाई एक महिनादेखि निःशुल्क खाना खुवाउँदै आएको छ। भारतको प्रसिद्ध औद्योगिक घराना टाटा कम्पनीको टाटा ट्रस्टले एउटै भान्साघरबाट असार ४ गतेदेखि भक्तपुर, काठमाडौं र सिन्धुपाल्चोकका यी भूकम्पपीडितलाई दैनिक दुई छाक खाना खुवाउँदै आएको हो। यति ठूलो संख्यालाई खाना पकाउन धेरै समय लाग्ने भएकाले टाटा ट्रस्टले भारतकै अर्को ठूलो समाजिक संस्था अक्षयपत्र फाउन्डेसनसँग सहकार्य गरेको छ । अक्षयपत्र फाउन्डेसनले स्टिम प्लान्टयुक्त भान्छाघर बनाइदिएको छ।



उक्त भान्छाघरमा १८ हजारका लागि दाल, भात र तीन प्रकारका तरकारी पकाउन जम्मा दुई घण्टा मात्रै लाग्छ। यही खाना ग्यासमा पकाउनुपर्दा ६ घण्टासम्म लाग्ने अक्षयपत्रका प्रोेसेस सेफ्टी तथा कार्यान्वयनसम्बन्धी वरिष्ठ म्यानेजर जे प्रविन सेट्टीले बताए। उनका अनुसार स्टिम प्लान्टको सहयोगमा तयार पारिएको खाना पूर्ण रुपमा गुणस्तरयुक्त तथा पौष्टिकयुक्त हुन्छ। टाटा ट्रस्टका कार्यक्रम निर्देशक अरुण पाँधेले नेपालका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले निःशुल्क रूपमा खाना खुवाइएको जानकारी दिए।

उनका अनुसार यस्तो खाना अझै चार महिनासम्म वितरण गरिनेछ। उनले ठूलो संख्यालाई लक्षित गरेर कम समयमा स्वच्छ खाना खुवाउन ठूलो चुनौती रहेको पनि बताए।समाजिक संस्था अक्षयपत्र फाउन्डेसनले भारतका १० राज्यका २४ स्थानमा १६ लाख बालबालिकालाई दैनिक रूपमा दिउँसोको खाना खुवाउँदै आएको छ। 

'दैनिक १८ हजारका लागि खाना पकाउने समस्या समाधान भए पनि हामीसामु अर्को समस्या आइपर्‍यो,' पाँधेले भने, 'पकाइएको खाना त्यति ठूलो संख्यामा रहेका सर्वसाधारणलाई कसरी वितरण गर्नेरु  यसका लागि हामीले नेपालस्थित अर्को सामाजिक संस्था सिप्रेदियन सहायताको सहयोग लियौं।' 

काठमाडौंमा रहेको सिप्रदी कम्पनीको सामाजिक संस्था सिप्रेदियनको सहयोगमा तीन जिल्लाका भूकम्पपीडितलाई खाना वितरण हुँदै आएको छ। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालले भने, ‘टाटा ट्रस्ट र हाम्रो संस्थाको समन्वयमा भूकम्प पीडितहरूको सहायताका लागि सानो प्रयास गरेका हौं।' 

अक्षयपत्रका अर्का वरिष्ठ म्यानेजर महेश बाबुका अनुसार भक्तपुरको झौखेल, इनायो, ठूलो व्यासी, भाजु पोखरी, व्यासी, जेला, कमलविनायक, महेश्वरी, कमलविनायक, ब्रह्मायणी, बाराही, जनसेवा, बाटोचा, गरुण कुण्ड, छालिङ र काठमाडौंको बौद्ध तथा जगडोलस्थित १७ वटा अस्थायी शिविरमा खाना वितरण गरिँदै आएको छ। बौद्ध र जगडोलमा भूकम्पबाट विस्थापित भएका सिन्धुपाल्चोकका दुई हजार सर्वसाधारण बस्दै आएका छन्।

खाना पकाउनकै लागि भारतबाट दक्ष २५ जना, नेपालका ४५ जना र अन्य गरेर ९० जना कामदार खटिएको ट्रस्टका नेपाल प्रतिनिधि तामलाल पोखरेलले बताए। भात, दाल, तरकारी, खिरलगायत सबै खाद्य पदार्थ स्टिम प्लान्टकै सहयोगमा पाक्दै आएको छ।  १८ हजार जनाका लागि एक दिनमा पाँच हजार किलो चामल, तीन हजार किलो दाल, अढाई हजार किलो तरकारी प्रयोग हुन्छ । तरकारी काट्ने काम पनि आधुुनिक कटिङ मेसिनबाटै हुन्छ।

पाँधेका अनुसार टाटा ट्रस्टले केही समयपछि सिन्धुपाल्चोक, दोलखा र गोरखा जिल्लाका भूकम्पपीडितका लागि खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाका साथै भौतिक पूर्वाधार निर्माण गरिदिने अभियान पनि सुरु गर्न लागेको छ। 'पहिलो चरणमा खानाको ठूलो समस्या भएकाले खाना उपलब्ध गराउने प्रयास गर्‍यौं,' ट्रस्टका प्रमुख ग्रान्ट व्यवस्थापक आशिष देशपाँडेले भने, ‘दोस्रो चरणमा अति आवश्यक भौतिक पूर्वाधार निर्माण गरिदिने अभियान सुरु गर्न लागेका छौं।'
अन्नपूर्ण पोष्टको दोश्रो पृष्ठमा प्रकाशित
प्रकाशित मिति २०७२ साउन ४ सोमबार

Comments