नेपाल बन्दैछ अमेरिकी स्याउको बजार



राजेश बर्मा
काठमाडौं/ कमल पोखरीकी प्रिया शर्मालाई दैनिक अमेरिकी फुजी स्याउ चाहिन्छ। गत वैशाख अघिसम्म चीनबाट आयात हुने फुजी, भारतको रेड गोल्ड, रोयल डेलिसस, कास्मीरी डेलिससलगायतको स्वाद चाख्दै आएकी उनलाई पछिल्लो समय अमेरिकी फुजी र डेलिसस जातको स्याउले आकर्षित गर्न थालेको छ। स्याउको स्वाद फेर्न पहिलो पटक चाखेकी उनलाई अमेरिकी स्याउको स्वादले लठ्ठै पारेको छ। उनलाई अहिले दैनिक अमेरिकी फुजी र डेलिसस स्याउ नभइ हुँदैन्। 'अमेरिकी फुजी र डेलिसस स्याउको स्वाद बिछट्टै छ,' उनी भन्छिन्, 'त्यस्तो रसिलो मिठो स्वाद अरु स्याउमा कहाँ पाउनु।' 

उनका अनुसार अमेरिकी स्याउको रंग र स्वाद नै बेग्लै छ। शर्माको घरमा दैनिक दुई किलो अमेरिकी स्याउको खपत हुन्छ।शर्माका अनुसार चीन र भारतबाट आउने स्याउभन्दा केही बढी मूल्य पर्ने यो स्याउको स्वाद चाखेपछि अन्य स्याउ किन्न जाँगर चल्दैन्।

छोराछोरी पनि त्यही जातको स्याउ खान पल्किसकेका छन्।शान्तिनगरका उमेश कार्कीलाई पनि हिजोआज अमेरिकी रसिलो फुजी र राताम्मे डेलिसस नभै हुँदैन्। उनको घरमा पनि दैनिक एक किलो परिमाणमा स्याउ भित्रिने गर्छ। 'मुखै रसाउने मिठो तरल पदार्थ (जुसी) धेरै भएका कारण घरमा सबैले फुजी स्याउ मन पराउँछन्, ’ कार्कीले भने, ‘अहिले त केटाकेटीदेखि बुबा आमासम्म यो स्याउ खान अभ्यस्त भइसके।'

नेपाली बजारमा अमेरिकाको फस्ट फ्रुट्स अफ वासिंगटन ब्रान्डमा फुजी र डेलिसस, न्युजिल्यान्डको मी।एप्पल ब्रान्डमा फुजी, चीनको फुजी, झोले, डेलिसस, चिनीको डल्लो, निसाको डल्लो र सान्सीको डल्लो स्याउन उपलब्ध छन्।  यसैगरी, भारत सिमलाको रेड गोल्ड र रोयल डेलिसस, कास्मीरको चकलेटी र डेलिसस, जुम्लाको अर्गानिक रोयल रेड र गोल्डेन डेलिससलगायतका एक दर्जन प्रकारका स्याउ बजारमा छन्। 

भारत र चीनबाट आयात हुने स्याउले थेगेको नेपाली बजारमा पछिल्लो समय अमेरिका र न्युजिल्यान्डबाट आयात हुन थालेको फुजी र डेलिसस पनि प्रतिस्र्पधामा सामेल भएका छन्। अमेरिकाबाट भूकम्पअघि पनि फाट्टफुट्ट रूपमा स्याउ आयात हुन्थ्यो। तर, अत्यन्त थोरै परिमाणमा। 

मुख्य गरी घरानीयाँ मारवाडी समुदाय, कुटनीतिक नियोग र डिपार्टमेन्ट स्टोरले अमेरिकाबाट कोलकत्ता हुँदै काठमाडौंमा त्यस्ता स्याउ भित्र्याउने गरेका थिए। तर, भूकम्पपछि व्यवसायिक रूपमा भित्रिन थालेको व्यवसायी बताउँछन्।

राजधानीस्थित नेपालकै सबैभन्दा ठूलो फलफूल बजार कुलेश्वर फलफूल बजारका थोक व्यापारी विजयकुमार गुप्ताका अनुसार पछिल्लो चार महिनादेखि अमेरिकी स्याउ बढी परिमाणमा भित्रन थालेको छ।यो स्याउ करिब पाँच वर्षदेखि राजधानीको बजारमा उपलब्ध छ। 

गुप्ताका अनुसार चीन र भारतबाट स्याउ आउन छाडेपछि अमेरिका र न्युजिल्यान्डबाट स्याउ आयात हुन्छ। न्युजिल्यान्डबाट भने डेढ महिनादेखि फुजी स्याउ नेपाल भित्रिदैछ। भूकम्प ताका केरुङ र खासा नाका अबरुद्ध भएपछि अमेरिकाबाट स्याउ आयात भएको थियो।

त्यसपछि उक्त स्याउले व्यापकता र निरन्तरता पाउन थालेको छ। पछिल्लो समय गत जेठदेखि बढी परिमाणमा भित्रिन थालेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए। 

उनका अनुसार प्रत्येक महिना ६० लाख मूल्य बराबरको ४० मेट्रिक टन अमेरिकाको स्याउ राजधानी भित्रिन्छ। यो वर्षको भदौ तेस्रो सातासम्म अमेरिकाबाट तीन सय २० मेट्रिक टन स्याउ आयात भएको छ।  'नेपाली उपभोक्ताका लागि अमेरिकी स्याउ नौलो हो।अमेरिकी स्याउको बजार अहिले फैंलन सकेको छैंन्,'अध्यक्ष बानियाँले भने, ‘स्वाद चाखेकाले पटकपटक लिन आइरहेका छन्। बिस्तारै बजार फैलिदैंछ।'

संघका अनुसार भारतबाट आउने स्याउ दैनिक सय मेट्रिक टन बिक्री हुँदा अमेरिकी स्याउ पाँच सय किलो बिक्री हुन्छ। अमेरिकाबाट लोड भएको ५० औं दिनमा राजधानी आइपुग्ने उक्त स्याउ हेर्दा भर्खरै बोटबाट टिपेको जस्तो ताजा देखिन्छ। त्यसको तुलनामा भारत र चीनबाट चाँडै आए पनि ताजा हुँदैन्। 

'एसी गाडीमा आउने हुँदा भर्खरै बोटबाट टिपेकोजस्तो ताजा रसिलो मिठासभएको यो स्याउको गुणका कारण बजार ओगठन थालेको छ,' बानियाँले भने। संघका अनुसार अमेरिकाबाट आयात हुने फुजी स्याउको थोक मूल्य दुई सयदेखि दुई सय १० र डेलिससलाई दुई सय ४२ रुपैयाँ प्रतिकिलो छ।

यसैगरी भारतीय स्याउको मूल्य ८० देखि सय रुपैयाँसम्म छ चीनबाट आउने फुजी जातकै स्याउको मूल्य ७५ देखि ८० रुपैयाँ तोकिएको छ। यस्तै न्युजिल्यान्डको फुजीको प्रतिकिलो दुई सय ५० रुपैयाँ तोकिएको छ।

अमेरिकी स्याउको वर्षिक दुई करोड ५० लाखको कारोबार हुँदै आएको छ। आगामी वर्ष पाँच करोड पुर्‍याउने संघको योजना छ। नेपालभरमा चिनियाँ स्याउ भने वार्षिक रूपमा ३० हजार मेट्रिक टन खपत हुन्छ।  बानियाँका अनुसार राजधानीमा भारतीय स्याउ दैनिक ३० लाख मूल्य बराबरको र चिनीयाँ स्याउको दैनिक २० लाख मूल्य बराबरको कारोबार हुन्छ।

अन्नपूर्ण पोष्टको अर्थतन्त्रको पहिलो पृष्ठमा प्रकाशित
प्रकाशित मिति २०७२ भाद्र २५ शुक्रबार
http://www.annapurnapost.com/News.aspx/story/18893

Comments