दसैंतिहारमा खाद्यान्‍न अभाव नहुने




तीन महिनाका लागि 'टन्‍नै'

राजेश बर्मा
काठमाडौं / बजारमा फैलिएका विभिन्नखाले हल्लाले आम उपभोक्ता चिन्तित भएका छन्। कतिपयले खाद्यान्न लगायतको जाहो गर्न थालको दृश्य देखिन थालेको छ। सरकारले भने आगामी तीन महिनाका लागि 'टन्न' खाद्यान्न मौज्दात रहेको दाबी गरेको छ।  वाणिज्य तथा आपूर्ति मन्त्रालयले जस्तोसुकै बन्दहडताल भए पनि नजिकिँदै गरेको दसैंतिहारसहित आगामी तीन महिनासम्म कुनै पनि खाद्यवस्तुको अभाव नहुने जनाएको छ।

मन्त्रालयले बुधबार सरोकारवाला निकायलाई डाकेर आपूर्तिबारे गरेको छलफलमा आगामी तीन महिनालाई पुग्ने गरी पर्याप्त सिरमाणमा खाद्यान्न, नुन र चिनी मौज्दात रहेको निश्कर्ष निकालेको छ।  छलफलमा नेपाल उद्योग वाणिज्य संघ, नेपाल थोक व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ, नेपाल खाद्य संस्थानलगायतका सरोकारवाला निकायका पदाधिकारी सहभागी थिए।

मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेका अनुसार आगामी तीन महिनासम्म पुग्ने गरी बजारमा खाद्यान्न मौज्दात रहेको जानकारी दिए। उनले नजिकिँदै गएको दसैं र तिहारमा खाद्यान्नको कुनै अभाव नहुने बताए। तर मन्त्रालय र निजी क्षेत्रले कति परिमाणमा खाद्यान्न मौज्दात छ भन्ने तथ्यांक भने उपलब्ध गराउन मानेनन्।

सरोकारवाला निकायले उपत्यकामा दैनिक कति परिमाणमा माग छ र मागअनुसार कति मौज्दात छ रु भन्ने बारेमा यकिन तथ्यांक राख्न सकेका छैनन्। 'भूकम्पजस्तो समयमा पनि हामीले ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात राखेका थियौ', प्रवक्ता घिमिरेले भने, 'करिब ४० दिनदेखि तराई मधेस बन्द छ, यस्तो बेला पनि खाद्यान्नको अभाव देखिएको छैन्।  बन्द जारी रहे पनि हामीसँग तीन महिना पुग्ने टन्नै खाद्यान्न मौज्दात छ। कुनै समस्या हुँदैन्।' मन्त्रालयका अनुसार चामल, दाल र गेडागुडी पर्याप्त परिमाणमा मौज्दात छ। नुन नौं महिनालाई पुग्ने छ। चिनी पनि तीन महिनालाई पुग्ने छ।

'बन्दको समयमा पनि सुरक्षाकर्मीको स्कटिङ गरेर थोरै परिमाणमा भए पनि खाद्यान्न आपूर्ति गरिरहेकाले कुनै अभाव हुँदैन्', उनले भने। सरकारी संस्थानभन्दा निजी क्षेत्रसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात भएकाले सर्वसाधारणले कुनै अभाव बेहोर्न नपर्ने जानकारी उनले  दिए।

'करिब  ४० दिनदेखि तराई मधेस बन्‍द छ, यस्तो  बेला पनि खाद्यान्‍नको अभाव देखिएको छ। बन्‍द जारी रहे पनि हामीसँग तीन महिना पुग्‍ने खाद्यान्‍न मौज्‍दात छ। कुनै समस्‍या हुँदैन।' 
-शम्‍भु घिमिरे, प्रवक्ता, वाणिज्‍य तथा आपूर्ति मन्त्रालय
नेपाल खाद्य संस्थानसँंग पनि आवश्यक परिमाणमा चामल, गहुँ, स्वदेशी फापर र गेडागुडी मौज्दात छ। संस्थानका प्रवक्ता श्रीमणिराज खनालका अनुसार संस्थानसँंग अहिले चार लाख १९ हजार १० क्विन्टल खाद्यान्न मौज्दात छ। 

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनसँग एक लाख २० हजार क्विन्टल चिनी र ११ लाख ३० हजार क्विन्टल नुन मौज्दात छ। 'हामीसँग रहेको चिनी आगामी दसैं तिहारको सुपथ मूल्य पसललाई पनि पर्याप्त हुन्छ, त्यसबाहेक चिनी आगामी तीन महिनासम्म पुग्ने छ।  नुन पनि आठ महिनाभन्दा बढीलाई पुग्ने गरी मौज्दात छु, साल्ट ट्रेडिङ कर्पोरेसनका नुन विभाग प्रमुख कुमार राजभण्डारीले भने।

थप पेट्रोलियम पदार्थ भित्रियो
नेपाल आयल निगमका अनुसार बुधबार बिहानसम्म भैरहवा नाकाबाट थप १२ ट्यांकर पेट्रोल नेपाल भित्रिएको छ। मंगलबार साँझ रक्सौल नाकाबाट हवाई इन्धन २३ ट्यांकर भित्रिएको थियो।

शुक्रबारसम्म दुई सय बुलेट एलपीजी ग्यास भित्र्याउने योजना रहेको निगमका प्रवक्ता दीपक बरालले बताए। उनका अनुसार अहिले निगमसँग तीन हजार एक सय ८६ मेट्रिक टन खाना पकाउने ग्यास मौज्दात छ। 

निगमका अनुसार शनिबारदेखि सोमबारसम्म सार्वजनिक बिदा भएकाले पेट्रोलियम पदार्थ वितरण नहुँदा बजारमा मंगलबार र बुधबार सामान्य अभाव देखिएको हो।  मंगलबार निगमले तीन लाख २६ हजार लिटर पेट्रोल र चार सय ७८ किलो लिटर डिजेल वितरण गरेको थियो। 

बुधबार भने साढे चार लाख लिटर पेट्रोल र पाँच लाख लिटर डिजेल वितरण गरेको थियो । बिहीबारदेखि बजार सहज हुने प्रवक्ता बराले जानकारी दिए।
२०७२ आस्विन ८ शुक्रबार
http://www.annapurnapost.com/News.aspx/story/19685

Comments