अब किसानलाई पनि पेन्सन

राजेश बर्मा
काठमाडौं/ निश्चित उमेर पूरा गरेपछि सेवाबाट अवकाश प्राप्त कर्मचारीले पाउने पेन्सनजस्तै अब किसानले पनि पेन्सन पाउने भएका छन्। किसानको वर्गीकरणका आधारमा ६० वर्ष पूरा गरेका किसानलाई सरकारले पेन्सन उपलब्ध गराउने तयारी गरेको छ। पेन्सन र अन्य सरकारी सुविधा उपलब्ध गराउन सरकारले किसानलाई चार समूहमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्न थालेको छ।


कृषि विकास मन्त्री हरिवोल गजुरेलले समाजमा कृषि पेसालाई सम्मानपूर्वक हेर्ने दृष्टिकोण स्थापना गर्न किसानका लागि पेन्सन र बिमाको व्यवस्था गर्न लागिएको जानकारी दिए। उनका अनुसार पेन्सन र बिमाको व्यवस्था गर्न राष्ट्रिय कोष स्थापना गरिनेछ। 

व्यावसायिक कृषिका माध्यमबाट मुलुकलाई आत्मनिर्भरको बाटोमा डोर्‍याउन उत्पादनमा वृद्धि गर्नुपर्ने भएकाले मन्त्रालयले जतिसक्दो धेरै नागरिकलाई कृषि पेसामा फर्काउन पेन्सनको व्यवस्था गर्न लागेको हो। 'कृषि क्षेत्रमा अहिले दक्ष जनशक्तिको अभाव छ। मन्त्री गजुरेलले भने, 'पेन्सनको लोभ देखाएर भए पनि नागरिकलाई कृषि क्षेत्रमा आकर्षण गर्न सकिन्छ भनेर यो सुविधा ल्याउन लागेका हौं।'

 यो योजना कहिलेदेखि सुरु गर्ने, कुन वर्गका किसानले कति पेन्सन पाउने, पेन्सन कोषमा किसानको योगदान लगायतका विषयमा भने मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको छ।
२०७२ मङ्शिर १४ सोमबार
http://www.annapurnapost.com/News.aspx/story/22523

Comments