पाँच वस्तुमा आत्मनिर्भर बन्‍ने योजना

राजेश बर्मा
काठमाडौ/ सरकारले अत्यधिक आयात हुने पाँच कृषि उपजमा आगामी तीन वर्षमा मुलुकलाई आत्मनिर्भर बनाउने तयारी गरेको छ। कृषि विकास मन्त्रालयले धान, तरकारी, चिया, दस्ध र माछामा आत्मनिर्भर बनेर निर्यातसमेत गर्ने तयारी थालेको हो।कृषि विकास मन्त्री हरिबोल गजुरेलका अनुसार यी वस्तु आयातमा अर्बौं रुपैयाँ खर्च भइरहेकाले धान, तरकारी, चिया, दूध र माछामा आत्मनिर्भर बन्न लागिएको हो। 


यसका लागि हालै सार्वजनिक दीर्घकालीन कृषि रणनीति ९एडीएस० लाई आधार मानेर आगामी वर्षदेखि विशेष कार्यक्रम ल्याइने मन्त्री गजुरेलले बताए।मन्त्रालयद्वारा शुक्रबार आयोजित कृषिमा आत्मनिर्भरताको अवस्थास् प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गजुरेलले भने, ‘कृषिप्रधान मुलुक भनेर चिनिने हाम्रो मुलुकमा कृषि वस्तुको आयात दर विकराल देखिएको छ।

नाकाबन्दीका कारण कृषिजन्य उद्योग कच्चा पदार्थको अभावमा झनै जर्जर अवस्थामा पुगेकाले आगामी तीन वर्षभित्रमा कम्तीमा पाँचवटा कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने तयारी गरेका छौं।' मासु, दलहन, मकै, स्याउ, तेलहन, आलुका क्षेत्रमा पनि आत्मनिर्भरउन्मुख कार्यक्रम सञ्चालनमा ल्याउने उनले बताए।

मन्त्रालयको योजना महाशाखाका सहसचिव योगेन्द्र कार्कीका अनुसार चालू आर्थिक वर्षको धानबालीको क्षेत्रफल १४ लाख २० हजार पाँच सय ७० हेक्टरलाई विस्तार गरेर आगामी आर्थिक वर्षमा १४ लाख ७६ हजार पाँच सय ४० हेक्टरमा पुर्‍याइनेछ।


यसैगरी ३।१७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व बढाएर आगामी तीन वर्षमा ३।६६ मेट्रिक टन पुर्‍याइनेछ। चालू आर्थिक वर्षमा भएको चामल आयात दर पाँच लाख ३० हजार मेट्रिक टनलाई घटाएर तीन वर्षपछि १० हजार पाँच सय ५७ मेट्रिक टन निर्यात गर्ने लक्ष्य राखिएको छ। करिब १४ अर्ब व्यापार घाटा रहेको यो क्षेत्रमा आगामी तीन वर्षमा तीन अर्ब मूल्यबराबरको निर्यात गर्न नेपाल सक्षम हुने मन्त्रालयको दाबी छ।

यसैगरी दूधतर्फ चालू आर्थिक वर्षमा रहेका २३ लाख ९५ हजार तीन सय ८७ वटा पशुपन्छीको संख्या बढाएर आगामी तीन वर्षमा २४ लाख चार हजार पाँच सय ६४ पुर्‍याउने लक्ष्य छ । दूध उत्पादन १६ लाख ७६ हजार सात सय ७१ लिटरबाट १९ लाख २३ हजार ६ सय ५१ लिटर पुर्‍याउने लक्ष्य मन्त्रालयको छ।

यस्तै तरकारी खेती गरिएको क्षेत्रफल दुई लाख ४८ हजार हेक्टरलाई बढाएर दुई लाख ५० हजार हेक्टर पुर्‍याइनेछ। हालको उत्पादन ३३ लाख २३ हजार दुई मेट्रिक टनलाई वृद्धि गरेर ३४ लाख २५ हजार मेट्रिक टन पुर्‍याई बर्सेनि ८३ करोड रुपैयाँको तरकारी निर्यातसमेत गर्न सकिने मन्त्रालयको लक्ष्य छ। 

अहिले वार्षिक १८ करोडको तरकारी आयात भइरहेको छ।मन्त्रालयका अनुसार माछातर्फको व्यापार घाटालाई सन्तुलनमा ल्याएर आगामी तीन वर्षपछि २८ करोडको निर्यात गर्ने योजना छ। 

यसका लागि माछापोखरीको हालको क्षेत्रफल आठ हजार २० हेक्टरलाई विस्तार गरेर तीन वर्षमा १० हजार दुई सय २० हेक्टरमा पुर्‍याइनेछ। यसका साथै प्रतिहेक्टर उत्पादकत्व ३.८९ मेट्रिक टनलाई बढाएर ४.३ मेट्रिक टन पुर्‍याउने मन्त्रालयको लक्ष्य छ। हाल ४७ करोडको माछा आयात हुँदै आएको छ।

त्यसैगरी चियातर्फ हालको क्षेत्रफल १९ हजारबाट विस्तार गरेर २० हजार हेक्टरमा पुर्‍याई आगामी तीन वर्षमा २२ हजार दुई सय मेट्रिक टन चिया उत्पादन गर्ने लक्ष्य राखिएको छ। हाल वार्षिक २० हजार पाँच सय ८८ मेट्रिक टन चिया उत्पादन हुन्छ। 

यो योजनाअनुसार चिया निर्याततर्फ हालको दुई अर्ब रुपैयाँबाट बढाएर दुई अर्ब ६० करोड पुर्‍याउने लक्ष्य मन्त्रालयले राखेको छ।

२०७२ मङ्शिर १२ शनिबार
http://www.annapurnapost.com/News.aspx/story/22430

Comments