सरकारले धानको मूल्य तोक्यो

राजेश बर्मा
काठमाडौं/ सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ। बिचौलियाले थोरै मूल्यमा खरिद गरेर बढी नाफा लिएर बिक्री गर्न नपाओस भन्दै सरकारले समर्थन मूल्य तोकेको हो।  अब यही मूल्यमा सरकारी निकाय र निजी क्षेत्रका व्यापारीले किसानबाट धान किन्नुपर्नेछ।कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि प्रतिक्वीन्टल मोटा धानको दुई हजार ४० रुपैयाँ र मध्यम धानको दुई हजार एक सय ५७ रुपैयाँ मूल्य तोकेको छ। 


कृषि मन्त्री हरिबोल गजुरेलका अनुसार मन्त्रिस्तरीय बैठकबाट आइतबार मूल्य तोकिएको हो। मसिनो जातको धानको मूल्य भने सरकारले तोकेको छैन। मसिना धानको माग बढी भएकाले किसान सजिलै बिक्री गर्न सक्षम भएकाले मोटा र मध्यम जातको मात्र मूल्य निर्धारण गरिएको हो।

‘मन्त्रिस्तरीय बैठकबाट मूल्य निर्धारण गरेर आवश्यक परिमाणमा खरिद गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाइएको छु, मन्त्री गजुरेलले सोमबार अन्नपूर्णसँग भने,‘नाकाबन्दीका कारण नेपाली किसानले उत्पादन गरेका धान बजारसम्म पुग्न नसक्ने अवस्था भएकाले मूल्य निर्धारण गरेर वाणिज्यमार्फत खाद्य संस्थानलाई आवश्यक परिमाणमा खरिद गर्न आग्रह गरेका छौं। व्यापारीले खरिद गर्न नसकेको धान संस्थानलाई खरिद गर्न भनेका छौं।'

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतले धानको समर्थन मूल्यमा वृद्धि गरिएको जानकारी दिए।मन्त्रालयका सहसचिव डा।सुरज पोखरेलका अनुसार मूल्य भारत सरकारले तोकेको हाराहारीमा छ। दुवै मुलुकको एउटै मूल्य भएपछि धान निर्यात रोकिने अनुमान सरकारको छ।

समयमा अकाशे पानी नपर्दा, नाकाबन्दी, मल अभाव र औषधिको अभावमा यो वर्ष धानको उत्पादनमा करिब १२।७ प्रतिशतले ह्रास आएर १२ लाख मेट्रिक टन आयात गर्नुपर्ने अवस्था भएको मन्त्रालयले जनाएको छ। 

उत्पादनमा ह्रास आउँदा धानतर्फ १४ अर्ब १३ करोड १७ लाख ३१ हजार मूल्य बराबरको क्षति हुने मन्त्रालयको अनुमान छ। खाद्यान्न उत्पादनमा कमी आउदा ठूलो मूल्य बराबरको चामल भारतबाट आयात हुँदै आएको छ। 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष ०७१।०७२ मा २५ अर्ब २४ करोड मूल्यबराबरको चामल भारतबाट आयात भएको थियो। खाद्यान्नको कुल व्यापारघाटा ३५ अर्ब ६६ करोड रुपैयाँ छ।

२०७२ मङ्शिर ८ मंगलवार 
http://www.annapurnapost.com/News.aspx/story/22211

Comments