गहुँ नफले खाद्य संकट


राजेश बर्मा
काठमाडौं/ गहुँ उत्पादन सप्रन नसके यस वर्ष भान्सामा गम्भीर असर पुग्ने लक्षण देखापरेको छ । धान उत्पादन १० प्रतिशतले घटेपछि खाद्य सुरक्षा गहुँको उत्पादनमा निर्भर हुनेछ । तराईमा बन्दहडताल तथा भारतको नाकाबन्दीका कारण मल, बिउ र इन्धन अभाव हुँदा गहुँको उत्पादनमा पनि कमी आउनसक्ने विज्ञले बताएका छन् । मल, बिउ र बन्दहडतालका कारण इन्धनसमेत एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन नसकिँदा उत्पादनमा ह्रास आउनसक्ने उनीहरू औंल्याउँछन् ।


कृषि विकास मन्त्रालयले करिब ३० प्रतिशत हाराहारीमा गहुँको उत्पादनमा कमी आउन सक्ने आँकलन गरेको छ । भारतको नाकाबन्दी लम्बिँदा गहुँको उत्पादनमा पनि कमी आए नेपालीले निकै महँगो मूल्यमा खाद्यान्न खरिद गर्न बाध्य हुनुपर्ने अवस्था आउन सक्छ ।

‘धान उत्पादनमा कमी आएपछि खाद्य सुरक्षाका लागि हाम्रो ध्यान गहुँ बालीको उत्पादनमा केन्द्रित छ’, कृषि विकास मन्त्रालयका सचिव उत्तम भट्टराईले भने, ‘अघोषित नाकाबन्दीका कारण इन्धन, मल र बिउ एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन नसक्दा गहुँबालीको उत्पादनमा ह्रास आउने सम्भावना छ ।’

मन्त्रालयका अनुसार गहुँबालीका लागि ३० हजार मेट्रिक टन मलको व्यवस्था गरिएको छ । किसानलाई वितरण गर्न सात हजार मेट्रिक टन गहुँको बिउको पनि व्यवस्था गरिएको छ । ‘तर मल र बिउ बन्दहडताल र इन्धन अभावमा एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन समस्या परेको छ’, सचिव भट्टराईले भने, ‘जमिन जोत्न ट्याक्टरको प्रयोग हुन्छ । ट्याक्टरलाई डिजेल अभाव छ । महँगो मूल्यमा डिजेल किनेर ट्याक्टर चलाउन किसान सक्षम छैनन् ।’

मन्त्रालयका अनुसार यसपटक धानको क्षेत्रफलमा कमी आउनु, ढिलो रोपाइँ हुनु, बन्दहडतालका कारण समयमा मलको अपुग र सिँचाइ अभावमा धान उत्पादन १० प्रतिशतले कमी आएको छ ।

खाद्य असुरक्षा बढ्ने खतरा भए पनि मन्त्रालयले भने न्यूनीकरण गर्न ठोस नीति कार्यान्वयनमा ल्याउने तयारी गरेको छैन । ‘खाद्य असुरक्षा न्यूनीकरण गर्न तत्कालै कुनै ठोस नीति तयार भएको छैन’, भट्टराईले भने, ‘खाद्य असुरक्षाबाट जोगिन भाते बानीमा परिवर्तन गर्नुपर्छ ।’

चामलको साटो कोदो, फापर र आलुलाई खानाका रूपमा बढी प्रयोग गर्न मन्त्रालयले सर्वसाधारणलाई सुझाव दिएको छ । उत्पादित धान पनि किसानले सस्तोमा बिक्री गरेका छन् । सरकारले धानको समर्थन मूल्य तोके पनि यो कागजमै सीमित बन्दा किसानका लागि अभिशापै बनेको धानविज्ञ डा। भोलामानसिंह बस्नेतले बताए ।

मन्त्रालयका अनुसार यस वर्ष चार प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन । यस्तै तराईका १२ वटा जिल्ला र कर्णालीका जिल्लामा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन । 

रोपाइँ भएको क्षेत्रफलमा सिँचाइ अभाव र बन्दहडताल तथा नाकाबन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारत तथा तेस्रो मुलुकबाट आउनुपर्ने मल आउन नसक्दा १० प्रतिशतका दरले करिब चार लाख ९० हजार मेट्रिक टन कम धान फलेको छ ।

यस वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन मात्र धान फलेको छ । अघिल्लो वर्ष ४७ लाख ८८ हजार मेट्रिक धान फलेको थियो । नेपालको कुल जनसंख्या दुई करोड ८१ लाख चार हजार दुई सय ८९ जनाको पेट भर्न वार्षिक तीन अर्ब ४२ करोड ८७ लाख २३ हजार दुई सय ५८ किलो ९३४ लाख २८ हजार सात सय २३ मेट्रिक टन० चामल आवश्यक पर्छ । यसपटक उत्पादन भएको धानबाट दुई अर्ब ८७ करोड २८ लाख किलो ९२८ लाख ७२ हजार आठ सय मेट्रिक टन० चामल बन्ने अपेक्षा गरिएको छ ।

यसअनुसार यो वर्ष ५५ करोड ५९ लाख २३ हजार दुई सय ५९ किलो ९पाँच लाख ५५ हजार नौ सय २३ मेट्रिक टन० चामल अपुग छ । एकजनालाई वार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ । सय किलो धानबाट ६० किलो चामल उत्पादन हुन्छ । 
२०७२ मङ्शिर २७ आईतवार
http://www.annapurnapost.com/News.aspx/story/23191

Comments