'डायटरी सप्लिमेन्ट' अवैध आयात


राजेश बर्मा
काठमाडौं/ शरीरमा पोषण तत्वको मात्रा कम भएपछि सेवन गरिने स्वास्थ्यवद्र्धक डायटरी सप्लिमेन्ट (पोषणयुक्त सामग्री) अवैद्य रूपमा आयात र बिक्री हुने गरेको पाइएको छ। उपभोक्ता पनि आफूखुशी त्यस्ता पदार्थ खरिद गरेर उपभोग गर्दै आएका छन्।

राजधानीसहित मुलुकभरका सहरी र ग्रामीण भेगसम्म डायटरी सप्लिमेन्टको आफूखुशी बिक्री भइरहे पनि यसको नियन्त्रणका लागि सरकारले चासो देखाएको छैन। यो सामग्री आयात गर्दा अनुमति दिने, गुणस्तर परीक्षण गर्ने, दर्ता गर्नुपर्ने, समि श्रणको परीक्षण गर्ने, यस्ता पदार्थको सेवन गर्दा मानव शरीरमा हुने हानी नोक्सानीविरुद्ध दण्डसजाय दिनेलगायतका व्यवस्था नेपालमा छैन।


विभिन्न प्रकारका बट्टामा पाउडर, ट्यावलेट, क्याप्सुल, ग्रेनुल, झोल पदार्थलगायतका रूपमा यसलाई भित्र्याइन्छ। औषधिजस्तै देखिने यस्ता पदार्थ बर्सेनि अर्बौं मूल्यबराबरको आयात हुन्छ। यो कारोबारलाई बैधता दिने र अनुमति दिने सवालमा राज्यका निकाय मौन देखिएका छन्।

प्रोटिन, एमिनो एसिड, फ्याट, कार्बोहाइड्रेड, भिटामिन, जिंक, मिनरल र फाइवरको नाममा औषधि पसल र सुपर मार्केटमा यस्ता पदार्थ बिक्री हुन्छन्। तौल बढाउने, घटाउने, शरीरमा शक्ति ल्याउने, छालाको चाउरीपन हटाएर चिल्लोपना देखाउने, शारीरिक सुसंगठन, शरीर र मस्तिस्कको वृद्धि विकास गर्ने भनेर दाबी गरेर अत्यधिक महँगो मूल्यमा बिक्री गरिन्छ। 

बालकदेखि वृद्धसम्म र गर्भवती महिलालाई पनि आफूखुशी यस्ता पदार्थ खुवाइने सरोकारवाला निकायले जनाएको छ। पाउडर भएको एउटा सानो बट्टालाई बजार मूल्य पाँच सयदेखि पाँच हजारसम्म पर्छ।

सुरुआत ताका औषधिजस्तै देखिएकाले औषधि व्यवस्था विभागले अनुमति, गुणस्तर निर्धारण तथा परीक्षण र नियमन गर्ने अवस्था आए पनि खाद्य पदार्थको पोषण तत्वबाट निर्माण हुने यस्ता पदार्थको नियमन आफ्नो कार्यक्षेत्रमा नभएको प्रष्ट पारेपछि डायटरी सप्लिमेन्टको आफू खुशी आयात, बिक्री र प्रयोग हुँदै आएको छ। 

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार औषधि व्यवस्था विभागले उपलब्ध गराएको सूचीको आधारमा मात्रै डायटरी सप्लिमेन्ट भन्सार भएर आयात भइरहेको जानकारी दिए। 'औषधि व्यवस्था विभागको अनुमति बिना कुनै पनि त्यस्ता पदार्थ भित्रन दिइएको छैन्' ,ढुंगानाले भने, 'औषधि विभागले उपलब्ध गराएको सूचीका आधारमा त्यस्ता सामग्री भन्सारमार्फत आयात भइरहेको छन्।'

तर, औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने आफूले भन्सारलाई औषधिजन्य पदार्थको मात्रै सूची बुझाएको आधारमा औषधिमात्रै आयात भइरहेको दाबी गरे। 'हामीले औषधिजन्य पदार्थको मात्रै सूची बुझाएका छौ', ,खकुरेलले भने, 'खाद्य पदार्थको पोषण तत्वबाट डायटरी सप्लिमेन्ट निर्माण हुने भएकाले त्यस्ता पदार्थ हाम्रो कार्यक्षेत्रभित्र पर्दैन, त्यो कसरी भित्रियो, मलाइ थाहा भएन।'

खकुरेलका अनुसार नेपालमा अनुमति बिना अवैधरूपमा त्यस्ता पदार्थको आयात गरेर बिक्रेताले आफूखुशी बिक्री गर्दैआएको दाबीसमेत गरे। उनले खाद्य पदार्थबाट निर्माण हुने त्यस्ता पदार्थको कार्यक्षेत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत पर्ने जानकारी दिए। 

उनका अनुसार भारत, युरोप, अस्ट्रेलियाजस्ता मुलुकबाट वार्षिक अर्बौं मूल्यबराबरको डायटरी सप्लिमेन्ट भित्रिने गरेको छ।डायटरी तथा खाद्य विज्ञ योगेन्द्र ढुंगेलका अनुसार डायटरी सप्लिमेन्ट औषधिका रूपमा प्रयोग भए पनि औषधि नभएको जानकारी दिए। 

भारत, युरोप, अस्ट्रेलियाजस्ता मुलुकबाट वार्षिक अर्बौं मूल्यबराबरको डायटरी सप्लिमेन्ट भित्रिने गरेको छ।
उनका अनुसार विश्वभर डायटिसनले मात्रै यस्ता पदार्थ सेवन गर्न सिफारिस गरे पनि नेपालमा भने चिकित्सकले गर्दै आएको गुनासो पोखे।उनका अनुसार डायटरी सप्लिमेन्ट भनेको सर्वसाधारणले खाँलैआएको दैनिक खानपानमा थप पोषण तत्वको पूर्तिका लागि प्रयोग हुने खाद्य पदार्थ बुझाउँछ।

'यस्ता पदार्थ खाद्य पदार्थ, बिरुवा वा बिरुवाजन्य वा पशुजन्य लाभदायक पदार्थको एक वा एकभन्दा बढी पोषण तत्वबाट निर्माण गरिन्छ,' ढुंगेलले भने, 'तर, नेपालमा कुनै पनि वैद्य प्रक्रिया अपनाएर आएको छैन्। अवैद्य रूपमा आउनेक्रम जारी छ।'

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तथा औषधि विज्ञ बाबुराम हुमागाईका अनुसार औषधि विभागको मिलोमतोमा संगठित गिरोहले आफूखुशी यस्ता पदार्थ भित्र्याएर कारोबार गरिरहेको आरोप लगाए। 

बल्ल सुरु भयो निर्देशिका बनाउने काम
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डायटरी सप्लिमेन्टको कारोबारलाई कडाइका साथ व्यवस्थित गर्न निर्देशिका बनाउने काम सुरु गरेको छ। 

औषधि व्यवस्था विभागले खाद्य पदार्थबाट निर्मित डायटरी सप्लिमेन्टको आफ्नो कार्यक्षेत्रभित्र नपरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यक्षेत्रमा पर्ने भन्दै पत्राचार गरेपछि खाद्य विभागले निर्देशिका बनाउने काम सुरु गरेको हो।

खाद्य विभागका महानिर्देशक संजिव कर्णले औषधि विभागले आफ्नो जिम्मेवारी पन्छाएर खाद्य विभागतर्फ जिम्मेवारी दिइएकाले निर्देशिका बनाउन लागिएको जानकारी दिए। 

डायटरी सप्लिमेन्ट आईपी, यूएसपी र फर्माकोपियन अन्तर्गत नपर्ने भन्दै औषधि विभागले खाद्य सरह प्रयोग भइरहेकाले यस्ता पदार्थको मात्रा, बनोट, उपभोग हुने अवस्था, आयात अनुमति, दर्ता, समि श्रण, गुणस्तरलगायतका विषयमा आवश्यक नियमन गर्न खाद्य विभागलाई पत्राचार गरेपछि निर्देशिका बनाउने काम सुरु भएको महानिर्देशक कर्णले जानकारी दिए।

२०७२ आस्विन ४ सोमबार
http://www.annapurnapost.com/News.aspx/story/19474

Comments