'यात्रुमैत्री' व्‍यवहार छैन सार्वजनिक सवारी साधनमा



राजेश बर्मा 

'जिब्रोको गरिमा, मिठो बोलीमा' अचेल यो शब्द प्राय पढ्न पाइन्छ। सार्वजनिक यातायातका सवारी साधनमा यात्रा गर्दा यस्तो नारा लेखिएका निलो र सेतो रंगका स्टिकर जताततै देख्न सकिन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नेपाल यातायात बस व्यवसायी संघ र मध्यउपत्यका बस व्यवसायी संघले हरेक बसमा स्टिकर टाँसे पनि यात्रुसँग भने 'मिठो' भन्दा 'नमिठो' व्यवहार हुने गरेका छन्। सवारी साधनका कर्मचारीको पाखुरामा ट्याटु, कानमा मुन्द्री, लामो कपाल, फुस्केला जस्तै पाइन्छ, गोजीमा झुण्ड्याइएको सिक्रीसहित गरिने उत्ताउलो पारा नै पहलो गाँसमा ढुंगा हुने गरेको छ। त्यसमाथि उनीहरूले गर्ने अशिष्ट र अभद्र व्यवहार सही नसक्नुको हुने गरेको छ। 

‘सार्वजनिक सवारी साधनका कर्मचारीको यस्तै छाडा विशेषताका कारण ट्राफिक प्रहरी, सवारी कर्मचारी र यात्रुबीचको सम्बन्ध राम्रो छैन,' यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारी भन्छन्, 'यसले गर्दा यात्रु र सवारी साधनका कर्मचारीबीच जहिले पनि तिक्तता बढीरहेको छ। यातायातकर्मीबाट सालिनता र शिष्टतापूर्ण व्यवहारको आशा गर्ने यात्रुले यात्राभर डराएर बस्नुपर्ने अवस्था छ।'


यात्रा गरेवापत शुल्क तिरे पनि यातायात कर्मीबाट यात्रुले पाउनुपर्ने सम्मानजनक व्यवहार पाउन सकेका छैनन्। दैनिकजसो अभद्र र रुखो व्यवहारको सामना गर्नुपरेको गुनासो यात्रुहरूको बढ्दै गएको छ। यात्रुले दिकै यस्ता समस्याको सामना गर्नु परे पनि सरोकारवाला निकायले भने ‘सामान्य’ भन्दै निराकरणको ठोस रणनीति अवलम्बन गर्न सकेको छैन।

यात्रु चढाउँदा जहाँनेर पनि चढाउने तर आर्लँदा भनेको ठाउँमा नओराल्ने, यात्रुको हातै समाएर जबरजस्ती गाडीबाट हुत्याउने, गरिब र निमुखाजस्ता देखिने यात्रुसँंग मुखै छाडेर डाली गर्ने, छालाको रंगको आधारमा व्यवहार गर्ने, सिट क्षमताभन्दा बढी यात्रु कोच्ने, महिला यात्रुको शरीरमा अनेक बहानामा स्पर्श गर्ने प्रयास गर्ने, भाडाभन्दा बढी रकम फिर्ता नदिने, जिस्किने, बढी रकम असुल्न खोज्नेजस्ता समस्या सामान्य बनिसकेका छन्। 

यातायात क्षेत्रको कुरितीको विषयमा नियमन गर्ने विभागका निर्देशक अधिकारी आफै पनि सार्वजनिक सवारी साधनको अभद्र व्यवहारबाट पीडित बनेको स्वीकार्छन्। 'म आफै पनि सवारी यातायात कर्मीबाट पटक पटक पीडित भएको छु’, अधिकारीले भने, ‘सवारी साधनका कतिपय सहचालक अनपढ भएकाले उसको व्यवहारमा त्यो देखिन्छ । व्यवहार परिवर्तन गर्ने खालका सचेतना कार्यक्रम कार्यान्वयनमा ल्याउन नसक्दा उनीहरू यात्रुसँग अभद्र व्यवहार गर्छन्। अत्यन्तै तल्लो स्तरको भाषा प्रयोग गर्छन्।'

अनामनगरबाट बानेश्वर आउने क्रममा नेपाल यातायातमा निर्धारित भाडा दर बुझाउन खोज्दा बसको खलासीसँग उनको विवाद भएको थियो। धेरै विवादमा पर्नुभन्दा भनेकै भाडा दिएर झरेको उनले बताए। 'तोकिएको भन्दा बढी रकम चुकाएर पनि यात्रुले गुरुजी र खलासीको तल्लोस्तरको व्यवहार सहनुपरेको छ', अधिकारीले भने।

सातदोबाटोबाट गौशाला आउन माइक्रो बस चढेकी खुमलटारकी बन्दना उपाध्याय पनि सवारी साधनको 'हिंसा' बाट पीडित बनेकी छिन्। उपाध्यायका अनुसार सबैभन्दा बढी माइक्रो बसका गुरुजी र खलासीले अभद्र व्यवहार गर्ने गरेका छन्। उनीहरूले यात्रुलाई दुःख दिँद आएका छन्। 

सवारी साधनमा विद्यार्थी छुट माग्न सक्कली परिचयपत्र देखाउँदा पनि खलासीले होच्याउँदै मानसिक केरकार गरेर अभद्र व्यवहार गर्ने गरेको उनले सुनाइन्। ‘त्यस्तो अवस्थामा उसले भनेअनुसारको भाडा दिनु नै ठिक लागेर पैसा दिन्छुु, उपाध्यायले भनिन्।

अनामनगरकी सुनिता तामाङले सार्वजनिक सवारी साधनमा यातायात कर्मीसँगै पुरुष यात्रुबाट पनि महिला यात्रु पीडित हुने गरेको अनुभव सुनाइन्। भीडभाडको मौका छोपेर महिला उभिएको ठाउँमै पुरुष यात्रु टाँसिन आउने, कुहिनाले संवेदनशील अंगमा विस्तारै स्पर्श गर्ने समस्या सार्वजनिक यातायतमा चर्को छ। 

‘यात्राको क्रममा यस्ता समस्या दैनिकजसो बेहोर्नुपर्छ। अधिकांश सवारी साधनका कर्मचारीको व्यवहार नै असभ्य र अशिष्ट हुने गरेको छु, तामाङले भनिन्। विभागका निर्देशक अधिकारीका अनुसार यातायातकर्मीको बोलीबचन, शिष्टतापूर्ण व्यवहार र प्रस्तुतिका बिषयमा चाँडै ट्रेड युनियन, यातायात व्यवसायी संघ र ट्राफिक प्रहरीको सहकार्यमा प्रशिक्षण दिने कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको छ। 

यस्ता समस्या समाधान गर्न यातायात व्यवसायीले अनिवार्य रूपमा गुरुजी र खलासीलाई छुट्टाछुट्टै रंगको पोशाक अनिवार्य गुर्नपर्ने, यात्रुसँग शिष्टता र शालिनतापूर्वक व्यवहार गर्न प्रशिक्षण दिनुपर्नेलगायतका विषयमा 'कोड अफ कन्डक्ट' लागू गर्न अधिकारीले सुझाव दिए। 'यस बाहेक यातायात कर्मचारीका लागि राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था पनि गरिनुपर्छु, ' उनले भने।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वाग्मती संयोजक धर्मराज रिमालले सवारी साधनका कर्मचारी, ट्राफिक प्रहरी र यात्रुबीच सुमधुर सम्बन्ध नभएसम्म यात्रा सुखद नहुने बताए। सवारी साधनका कर्मचारीले यात्रुसँग राम्रो व्यवहार नगर्ने स्वीकार गर्दै उनले निकट भविष्यमै सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए। 

ुसवारी साधनका अधिकांश मजदुर अशिक्षित छन्, दिनभरमा १६ घन्टा काम गर्नुपर्छ, थरीथरीका यात्रुसँग जम्काभेट हुन्छ, तनावकाबीच काम गर्दागर्दै यात्रुसँग तल्लोस्तरको व्यवहार गरिदिन्छन्, रिमालले भने, ‘यस्ता समस्या क्रमिक रूपमा कम गर्छौं।ु उनकाअनुसार उपत्यकामा मात्र करिब ३० हजार सवारी साधनमा ६० हजारभन्दा बढी गुरुजी र खलासी काम गरिरहेका छन्।

महासंघका महासचिव सरोज सिटौंलाले मुलुकभर तीन सयको संख्यामा रहेका यातायातसम्बन्धि संस्थाका लाखौं कर्मचारीको व्यवहारमा एकैपटक सुधार ल्याउन सम्भव नहुने जानकारी दिए। हरेक वर्ष एउटा संस्थासँंग आबद्ध कर्मचारीलाई बोलीबचन, व्यवहार र सालिनतापूर्ण प्रस्तुतिका विषयमा प्रशिक्षण दिँदै आएको दाबी उनको छ।

भाडामा पनि 'किचकिच'
गत शुक्रबारदेखि सरकारले न्यूनतम दुरीको भाडादर १३ रुपैयाँं कायम गरेको दाबी गरे पनि आइतबारसम्म सवारी साधनले १५ रुपैयाँ नै असुल गरेका छन्। 

नेपाल यातायात, मध्यउपत्यका यातायात, माइक्रो बसका चालक र खलासीले समितिबाट भाडा दर घटाइएको विषयमा पत्र नआएको भन्दै न्यूनतम दुरीमा अझै १५ रुपैयाँ नै असुल गरिरहेका छन्। तर महासंघका महासचिव सिटौलाले न्यूनतम दुरीमा '१३ रुपैयाँ लिनु' भनेर सबै समितिलाई पत्राचार गरिएको दाबी गरे। 

'हामीसँग आबद्ध सबै संस्थालाई नयाँ भाडा दरअनुसार भाडा लिन पत्राचार गरिसकेका छौुं, सिटौलाले भने। तोकिएको भन्दा बढी भाडा उठाउने चालक र खलासीको गाडीको नम्बरसहित उजुरी दिन आग्रह गर्दै उनले भने, ‘उजुरी आएपछि तत्कालै त्यस्ता सवारी साधनलाई कारबाही गर्छौं।'

उपत्यकामा दैनिक करिब ८९ हजार पाँच सय यात्रुबाहक बस, मिनिबस र माइक्रोबस गुड्छन्। महासचिव सिटौलाका अनुसार एउटा सवारीसाधनले एक ट्रिपमा औसत २५ जना बोक्छ। त्यो आफ्नो रुटमा दिनभरमा तीनदेखि ६ पटकसम्म ओहोरदोहोर गर्छ। 

तथ्यांकअनुसार ८९ हजार पाँच सय सवारीसाधनले एक ट्रिपमा मात्रै २२ लाख ३७ हजार पाँच सय यात्रु बोक्छन्। यसमध्ये झन्डै २० प्रतिशतका दरले चार लाख ४७ हजार पाँच सयको संख्यामा विद्यार्थीले यात्रा गर्छन्। बाँकी १७ लाख ९० हजार अन्य यात्रु हुन्छन्। यस आधारमा विद्यार्थीबाहेक न्यूनतम दूरीमा सरकारले तोकेको भाडाभन्दा बढी असुल गरिने दुई रुपैयाँका दरले ३५ लाख ८० हजार रूपैयाँ प्रतिट्रिप यात्रुबाट असुल्छन्। 

तीन ट्रिपको मात्रै हिसाब गर्ने हो भने पनि व्यवसायीहरूले एक करोड सात लाख ४० हजार रुपैयाँ ठगेर अतिरिक्त आम्दानी गर्छन्। यता यातायात व्यवस्था विभागले यात्रुबाट बढी भाडा दर असुल्ने चालक र खलासीविरुद्ध अप्रेसन सुरु गरेको दाबी गरेको छ। 

विभागका निर्देशक अधिकारीका अनुसार तोकिएको भाडादरभन्दा बढी असुल्नेलाई पहिलो पटक 'नसिहत' र दोस्रो पटक गल्ती गरेमा ब्लुबुक र लाइसेन्स लिएर नगद पाँच हजार जरिवाना हुने गरी अप्रेसन सुरु गरिएको जानकारी दिए। आगामी १५ दिनभित्र नयाँ भाडादर पूर्ण कार्यान्वयनमा आइसक्ने उनले बताए।
२०७२ भाद्र ३० बुधवार
http://www.annapurnapost.com/News.aspx/story/19185

Comments