एक दर्जनभन्दा बढी कृषिजन्य उद्योग बन्द

दैनिक करोडौंको घाटा


राजेश बर्मा
काठमाडौं / इन्धनको चरम अभावमा दर्जनौं कृषिजन्य उद्योग बन्द भएका छन् भने सोही परिमाणमा थप उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । 


कृषि विकास मन्त्रालयको सिफारिशमा पनि नेपाल आयल निगमले अत्यावश्यक कृषिसम्बन्धि उद्योगलाई इन्धन उपलब्ध नगराउदा उद्योगहरु बन्द भएका छन् । इन्धनको अभावमा कृषिजन्य उद्योग वन्द हुँदा दैनिक झण्डै साढे ११ करोड मूल्यबराबरको घाटा भइरहेको छ । इन्धनको अभावको प्रत्यक्ष मार कोल्ड स्टोर, ह्याचरी तथा पोल्ट्री उद्योग, दाना उद्योग तथा डेरी उद्योगमा परेको छ । यस वाहेक अन्य साना कृषि जन्य उद्योगमा पनि प्रत्यक्ष रुपमा असर पुगेको सरोकारवाला निकायले जनाएको छ ।

दाना उद्योग संघका अध्यक्ष नारायणहरि घर्तिकाअनुसार इन्धनको आपूर्ति नहुँंदा दाना उद्योगतर्फ दैनिक साढे दुई करोड मूल्य बराबरको घाटा भइरहेको छ । इन्धन अभावका कारण र भारतले गरेको अघोषित नाकावन्दीका कारण भारतबाट दाना तयार पार्ने कच्चा पदार्थ नआउदा यो मूल्यबराबरको घाटा भइरहेको छ । यसैगरी उद्योगमा उत्पादन भएका दानासमेत एक स्थानबाट अर्को स्थानसम्म लैजाने वातावरण नहुँदा ठूलो घाटा व्यहोर्नु परेको अध्यक्ष घर्तिले आइतबार अन्नपूर्ण पोष्टसँग दुखेसो पोखे । ‘नेपाल आयल निगमले इन्धन उपलब्ध नगराउदा हाम्रो उद्योग नै धरासायी बन्यो’, सिद्धार्थ पैलेट फिडका सञ्चालकसमेत रहेका घर्तिले भने,‘दुई तीन दिन भित्र इन्धन नपाए सञ्चालक र कामदार सडकमा आउनुपर्ने बाध्यता हुन्छ ।’

उनकाअनुसार कृषिजन्य उद्योगमा कार्यरत कामदार र आश्रित किसानलाई भने यसपटकको दसैं खल्लो बन्यो । मुलुकभर २५ वटा ठूलो र सयको संख्यामा साना दाना उद्योग छन् । इन्धन र कच्चा पदार्थको अभावमा ७ वटा उद्योग पनि बन्द भइसकेको छ भने सञ्चालनमा रहेका कतिपय उद्योग बक्ति भएको अवस्थामा मात्रै सञ्चालन हुँदैआएको छ ।

घर्तिले अहिले ढुवानी खर्च बढेका कारण पनि बढी व्ययभार थपिएको जानकारी दिए । बन्द हडतालअघिसम्म प्रति किलो दुई रुपैयाँ ५० पैसा रहेको ढुवानी खर्च अहिले ६ रुपैयाँ ५० पैसा पुगेको छ । ढुवानी खर्च बढेका कारण उद्योगीले अहिले प्रति किलो दानामा डेढ रुपैयाँ बृद्धि गरेपनि बजारमा अहिले झण्डै प्रतिकिलोमा १० रुपैयाँं मूल्य बृद्धि भएको छ । भक्तपुरका बंगुर पालक किसान चन्द्रशेखर सापकोटाले ४० रुपैयाँ किलोमा पाइने दाना अहिले ५० रुपैयाँमा पाउन थालेको जानकारी दिए । ‘तर इन्धन नहुँदा दाना पनि ल्याउन सकिएको छैंन’, सापकोटाले भने,‘बिक्रि योग्य भएको बंगुरलाई पनि बजार पठाउन सकेका छैंनौं । दानाको अभावमा बंगुरलाई घांस काटेर खुवाउदै आएका छौं ।’ सापकोटाले दैनिक दुई लाख घाटा भइरहेको बताए । 

यसैगरी ह्याचरी र पोल्ट्री उद्योगतर्फ पनि इन्धनले ठूलो घाटा पु¥याएको छ । कुखुरा व्यवसायी संघका अध्यक्ष जंगवहादुर विसीकाअनुसार इन्धनको अभावमा समग्र कुखुराजन्य उद्योगतर्फ दैनिक साढे पाँच करोड मूल्यबराबरको घाटा भइरहेको छ । उनकाअनुसार चल्ला उत्पादन गर्ने प्लान्टमा २४ सैं घण्टा बक्ति आवश्यक पर्छ । बक्ति एक छिन पनि अवरुद्ध हुँदा अण्डा बिग्रेर चल्ला उत्पादन हुदैंन् । इन्धन अभावमा राजधानी आसपास र चितवन आसपासका उद्योग प्रभावित बनेको छ । 

अण्डा उत्पादन महासंघका अध्यक्ष शिवराम केसीकाअनुसार अण्डाबाट निस्कने चल्लालाई हुर्काउन पनि नियमित रुपमा वक्ति र दानाको आवश्यकता पर्छ । ‘तर इन्धनको अभावमा नियमित रुपमा प्लान्ट सञ्चालन हुन सकेको छैंन्’, केसीले भने,‘इन्धनको अभावमा चल्लालाई एक स्थानबाट अर्को स्थानसम्म पनि पु¥याउन सकेका छैंनौं । बिक्रि योग्य बनिसकेका कुखुरालाई दाना खुवाएर थप उद्योगमै राख्दा दोहोरो घाटा व्यहोर्नु परेको छ ।’

घाटातर्फ नै दुधजन्य उद्योग पनि परेका छन् । नेपाल डेरी एशोसिएसनका महासचिब प्रहलाद दाहालले इन्धनको आपूर्ति नहुँदा ११ वटा डेरी बन्द भइरहेको जानकारी दिए । उनकाअनुसार इन्धनको अभावमा निजी क्षेत्रकै सबैभन्दा ठूलो उद्योग सीताराम गोकुल मिल्क इण्डस्ट्रिजसहित काभ्रेको अर्पण डेरी, सुकेधाराको प्लाञ्चोक डेरी, चपलीको एचडी डेरी, महांकालको धुम्वाराही डेरी, रुद्रमतिको विन्दवासिनी डेरी, लाजिम्पाटको उग्रचण्डी डेरी, धुम्बाराहीकै कृतिका डेरी, मैतिदेवीको चामुण्डा डेरी, महाराजगञ्जको श्रीराम डेरी र बसुन्धराको अनुप डेरी पछिल्लो पाँच दिनदेखि बन्द अवस्थामा छ । दुध उद्योगतर्फ मात्रै दैनिक अहिले एक करोड र किसानतर्फ दैनिक दुई करोड मूल्यबराबरको घाटा भइरहेको छ । उद्योगहरु बन्द हुँदा अहिले करिब एक लाख लिटर कम दूध संकलन हुन बन्द भएको छ ।

डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले भने इन्धनका कारण उद्योग प्रभावित भएपनि संघसँग आवद्ध २२ वटा उद्योगले क्षमता घटाएर पनि सञ्चालन भइरहेको जानकारी दिए ।  यस्तै कोल्ड स्टोरतर्फ दैनिक एक लाखभन्दा बढीको घाटा भइरहेको छ । बुढाथोकी कोल्ट स्टोर सितापाइलाका सञ्चालक तामिल बुढाथोकीकाअनुसार इन्धनको अभावमा २४ सैं घण्टा कोल्ड स्टोर सञ्चालन गर्न सकिएको छैन् । कोल्ड स्टोरले अहिले आइस उत्पादन गर्न पनि बन्द गरेका छन् । वक्ति भएको अबस्थामा मात्र सुचारु हुने कोल्ड स्टोरमा राखिएका कृषिजन्य उपजहरु बिगे्रर उत्पादक र व्यवसायीलाई घाटा भइरहेको उनले बताए ।


दैनिक रुपमा कुन क्षेत्रमा कति घाटा
क्षेत्र                     घाटा(रुपैयां)
ह्याचरी/पोल्ट्री            ५,५०,०००००
डेरी                    ३,०००००००
दाना                    २,५०,०००००
कोल्ड स्टोर            १, ५०,०००
स्रोत : क्षेत्रगत उद्योग

Comments