नेपाली चियामाथि भारतीय कुदृष्टि

 ‘गुणस्तरहीन’ को संज्ञा दिएर बजार खोस्दै भारत



नेपाली चियाको बोट भने ६० देखि ६५ वर्ष पुरानो भएकाले उत्पादन भएको चिया निकै गुणस्तरीय रहेकाले भारतसहित बिश्व बजारमा नेपाली चियाको माग अत्यधिक बढेर भारतीय चियाको बजार गुम्दै गएको छ । यो विषय भारतीय पक्षलाई ‘अपाच्य’ भएर नेपाली चियालाई बदनाम गरी आफ्नो बजार सुरक्षित गर्न चाहेको छ ।


२०७७ जेठ ३

कोभिड १९ को कारण नेपाल र भारतमा बन्दाबन्दी रहेको अवस्थामा भारतद्वारा बिभिन्न बहाना झिकेर बैशाखमा करिब ३ साता नेपाली चियाको भारत निर्यातमा अवरोध सिर्जना । भारतबाट नेपालतर्फ भारतीय बस्तुको नियमित आयात भइरहेको अवस्थामा नेपालमा उत्पादित चियाको हकमा भारततर्फको निकासीमा अवरोध सिर्जना हुँदा परराष्ट्र मन्त्रालयमार्फत समस्या समाधान ।


२०७८ मंसिर ५

नेपालमा उत्पादित हरियो चियाको निर्यातमा भारतले २०७८ मंसिर पहिलो सातादेखि अवरोध सिर्जना ग¥यो । भारतको टी बोर्ड अफ इण्डियासहित चिया उद्योग र टी फोरम अफ इण्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै त्यहाँको बाणिज्य तथा उद्योग मन्त्रालयसँग माग गरेका थिए । टी बोर्ड अफ इण्डियाबाट अनुमति लिएर मात्रै भारत निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्था लागु ।


२०७५ बैशाख २४

पूर्वको पानी ट्याँकी नाकामार्फत भारतमा निर्यात हुँदै आएको चियामा भारतको अवरोध सिर्जना । दुई साताभन्दा बढी समयसम्म निर्यात प्रक्रिया अवरुद्ध । पानीट्याँकीस्थित भारतीय भन्सार कार्यालयले कोलकात्तास्थित ‘सेन्ट्रल फुड’ ल्यावमा नमूना परीक्षण गराएर मात्रै चिया आयात गर्न दिने भारतको नीति लागु ।



राजेश बर्मा

काठमाडौं । भारतीय पक्ष नेपाली बस्तुको निर्यातमा जहिले पनि कसिंगर बन्दै आएको छ । चाहे त्यो अदुवा र अलैंचीको बिषय होस् वा पछिल्लो समयमा चियाको । 

नेपाल–भारत बाणिज्य व्यापार सन्धीविपरित भारतले विभिन्न ‘बहाना र आरोप’ झिकेर नेपाली बस्तुको निर्यातमा ‘झमेला’ गर्दै आएको छ । यो बिषय नयाँ होइन । जब जब नेपाली बस्तुको बजार बिस्तार हुन्छ, त्यति वेला भारतीय पक्ष बहाना झिकेर नेपाली बस्तुलाई ‘गुणस्तरहीन’ को आरोप लगाउँदै बजार खोस्न उद्धत हुन्छन् । 

नेपाली चियाको निर्यातमा भारतले कसरी कुदृष्टि लगाएर अवरोध सिर्जना गर्दैआएको छ भन्ने बिषयमा माथि उल्लेखित ३ प्रतिनिधिमुलुक घटना मात्रै हुन् । भारतले बर्षेनी कुनै न कुनै बहाना झिकेर समस्या निम्त्याउने गरेको यस्ता घटना सयौंमा छन ।

पछिल्लो समयमा भारतले फेरी नयाँ बहाना झिकेर चियाको बजारलाई धुमिल्याउने खेल सुरु गरेको छ । यो बेला भारतीय पक्षले नीतिगत रुपमै ‘गुणस्तरहीन’ को संज्ञा दिएर कानुनी बाटोमार्फत नेपाली चियाको भारतीय बजारका साथै अन्तर्राष्ट्रिय बजार खोस्न तयारी गरेको छ । यसका लागि उनीहरुले नेपाली चिया गुणस्तरहिन रहेको आरोप लगाएका छन् ।

पश्चिम बंगालको साँसद शान्ता क्षेत्रीसहित दार्जिलिङ्गको केही चिया बगानका सञ्चालकहरुको मिलोमतोमा भारतीय बजार खोस्न यसप्रकारको आरोप लगाइएको हो । क्षेत्रीको नेतृत्वमा भारतको राज्यसभा र लोकसभामा प्रतिनिधित्व गर्ने साँसदहरुले नेपाली चिया गुणस्तरहिन रहेको आरोप लगाएका छन् । 

उनीहरुले एण्टी डम्पिङ्ग ऐन लगाएर नेपाली चियाको भारत निर्यातमा कम्तिमा ४० देखि १०० प्रतिशतसम्म भन्सार लगाउने भारतीय सरकारसँग मागसमेत गरेका छन् । 

भारतमा नेपालबाट बार्षिक रुपमा ९० प्रतिशत अर्थोडक्स र करिब ५० प्रतिशत सीटीसी चिया साढे ४ अर्बदेखि ५ अर्ब मूल्यबराबरको एक करोड ७४ लाख किलो चिया निर्यात हुँदै आएको छ । नेपालमा वार्षिक रुपमा सीटीसी चिया करिब दुई करोड किलो र अर्थोडक्स करिब ७० हजार किलो उत्पादन हुन्छ ।

भारतीय पश्चिम बंगालको साँसद, चिया बगानका सञ्चालक, दार्जिलिङ्ग टी एशोसिएसन, टी फोरम अफ इन्डिया तथा टी बोर्ड अफ इन्डियाको मागको आधारमा राज्यसभा र लोकसभामा प्रतिनिधित्व गर्ने ३० जना साँसदहरुको समितिले विद्येयक नै बनाएर प्रस्ताव गरिसकेका छन् । साँसद वी विजयसाई रेड्डी संयोजक रहेको समितिले उक्त विद्येयक गत् असार १ गते भारतको लोकसभा र राज्यसभामासमेत बुझाइसकेका छन् । 

स्रोतकाअनुसार भारतीय चियाको बोट करिब २ सय पुरानो भएकाले उक्त बोटबाट उत्पादित चिया तुलनात्मक रुपमा गुणस्तरीय छैनन् । नेपाली चियाको बोट ६० देखि ६५ बर्ष पुरानो भएकाले उत्पादन भएको चिया निक्कै गुणस्तरीय भएकाले भारतसहित बिश्व बजारमा नेपाली चियाको माग अत्याधिक बढेर भारतीय चियाको बजार गुम्दै गएको छ । यो बिषय भारतीय पक्षलाई ‘अपाच्य’ भएर नेपाली चियालाई बदनाम गरि आफ्नो बजार सुरक्षित गर्न चाहेको छ ।

उक्त समितिले नेपाली चिया अत्यन्त सस्तो र गुणस्तरसमेत कमशल रहेको भन्दै भारतीय बजार खोस्न विभिन्न प्रकारको नीतिगत कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने निश्कर्षसहितको विद्येयक तयार पारेको हो । बिद्येयकमा नेपाली चियामाथि ११ वटा आरोप लगाइएको छ । यो विद्येयक कानुनी मान्यता पाएमा नेपाली चियाको भारतसहित बिश्व बजार अन्धकार हुने बिज्ञहरुले औल्याएका छन् । 

हिमालयन अर्थोडक्स टि प्रोडयुसर्स एशोसिएसन (होट्पा)  का उपाध्यक्ष उदय चापागाईकाअनुसार नेपाली चियाको भारतीय बजार खोस्न यसप्रकारको रणनीति तयार गरि अघि बढाइएको हो । समितिले सन् १९५० मा भएको नेपाल–भारत सन्धीसमेत समिक्षा गर्नुपर्ने पनि औल्याएको छन् । 

उनकाअनुसार केही भारतीय आयातकर्ता र व्यवसायीले नेपाली चियालाई दार्जिलिङ्ग र असमको चिया बनेर ब्राण्डिङ्ग गरि युरोप, अमेरिका, जापान, जर्मनीजस्ता मुलुकमा बजारिकरण गरेपछि भारतीय चियालाई धक्का लागेको हो । पछिल्लो समयमा नेपालमा उत्पादन भएको  चियाको माग उक्त मुलुकहरुमा बढ्दै जानु र भारतीय चियाको माग घट्दै जानुले पनि भारतले सहन कठिनाई भएको छ । 

लोकसभा र राज्यसभामा प्रस्ताव भएको विधेयक नेपाल–भारतबीच सन् १९५० मा भएको वाणिज्य सन्धिविपरीत रहेको चापागाईले जानकारी दिएका छन् । उनकाअनुसार लोकसभाअन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले पनि उक्त सन्धि नै पुनरावलोकन गर्नुपर्ने दुवै सभाका अध्यक्ष र सभामुखलाई सुझाव पेस गरेको छ ।

नेपालमा उत्पादन हुने चियामध्ये झण्डै ९० प्रतिशत शतप्रतिशत भन्सार छुटमा भारतमा निर्यात हुँदै आएको छ । भारतबाट नेपालमा भित्रिने चियामा भने नेपाल सरकारले ४० प्रतिशत भन्सार शुल्क लगाएको छ । विश्व व्यापार संगठन (डब्लुटीओ) को प्रावधानअनुसार नेपालले भारतीय चियाको आयातमा लगाएको भन्सार शुल्कजस्तै भारतले पनि नेपाली चियाको निर्यातमा भन्सार शुल्क लगाउन छुट छ । 

‘भारतले नेपाली चियाको भारतीय बजार खोस्न डब्लुटीओ र एण्टी डम्पिङ्गले गरेको व्यवस्थाअनुसार नीतिगत् व्यवस्था गर्न लागेको हो,’ स्रोतले भन्यो,‘ति दुवै अधिकार प्रयोग गर्न भारत स्वतन्त्र छ । हामीले पनि भारतको चियाको आयातमा भन्सार शुल्क लगाएजस्तै उसले पनि लगाउन पाउँछ । तर नेपाली चियाको गुणस्तर कमशल छ भनेर बदनाम गर्न भने पाउँदैन् ।’

भारतले नेपालको सस्तो र गुणस्तरहीन चियाका कारण विश्वभर उत्कृष्ट ठहरिएको दार्जिलिङ्गको चियालाई प्रभाव परेको आरोप लगाएको छ । भारतमा आयात हुने चियामध्ये झण्डै ५० प्रतिशत नेपाली चियाको योगदान रहेको तयार पारिएको उक्त प्रतिवेदनमा उल्लेख छ । नेपालमा उत्पादन भएको चियामध्ये ९० प्रतिशत भारतीय बजारमा पुग्दा दार्जिलिङ्गको चियाको बजारमा प्रभाव पारिरहेको छ ।

चापागाईकाअनुसार भारतीय पक्षले नेपालबाट भारतमा निर्यात भएको चियालाई त्यहाँका व्यवसायीहरुले दार्जिलिङ्ग, असमलगायत विभिन्न ब्राण्डमा ब्राण्डिङ्ग गरि बिश्व बजारमा बजारिकरण गर्दा भारतको चिया बजार गुमेको आरोप लगाएका छन् । नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिको संशोधन व्यवस्थाअनुसार ‘आधारभूत भन्सार शुल्क वा परिमाणात्मक’ बन्देज लगाउन सकिने दुई मुलुकबीच सहमति भएको छ । उक्त सहमतिअनुसार पनि नेपाली चियाको भारतीय बजार खोस्न नीतिगत व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

भारतीय बजारमा नेपाली चिया शतप्रतिशत भन्सार छुटमा प्रवेश पाउने तर भारतीय चिया नेपालमा प्रवेश गर्दा ४० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था विभेदकारी भएको उनीहरुको भनाई छ ।

भारतीय पक्षले आफ्नो सरकारसँग नेपाली चिया भारतमा प्रवेश गर्दा भन्सार विन्दुमै चियाको गुणस्तर परीक्षण, फाइटो स्यानेटरी परीक्षण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरुले भारतीय ब्राण्ड प्रयोग गरि भारतको चियाको अन्तर्राष्ट्रिय बजार खोस्न नेपाली चियाको पनि भूमिका भएकाले नेपालीसहित अन्य मुलुकको चियाको उत्पति प्रमाण पत्र निती पनि कार्यान्वयनमा ल्याउन माग गरेका छन् । यो व्यवस्था थोकदेखि खुद्रा बिक्री परिमाणमा लगाउनुपर्ने उनीहरुको माग छ ।

यसबाहेक उनीहरुले नेपाली चियाको बिषयमा थप अध्ययन गरि उपयुक्त नीति अख्तियार गर्न भारतीय अन्तर्राष्ट्रि व्यापार महानिर्देशनालयलाई आग्रहसमेत गरेका छन् । 

नेपाली चिया भारतमा निर्यात नभए १ सय ५० भन्दा बढी उद्योग बन्द हुनुका साथै चियाखेतीमा आश्रित २६ हजार किसान आयविहिन हुने र ८० हजार मजदुर बेरोजगार हुने भन्दै नेपाली चिया प्रशोधनकर्ता र चिया उत्पादक अहिले चिन्तामा डुबेका छन् । 

विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहिन चियाको संज्ञा दिएर विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेश गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका हुन् । नेपाली किसान तथा व्यवसायीहरुले पछिल्लो समयमा भारतीय कदमको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीसमेतलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।


नेपाली चियाको लागि चीन उपयुक्त बजार : खनाल

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादन भएको चियाको लागि चीन उपयुक्त बजार हुन सक्ने औल्याएका छन् । खनालले चीनमा चिया निर्यात गर्न सकिए भारतभन्दा तेब्बर परिमाणमा फायदा हुने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् ।

‘भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकिए त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उतपादनका लागि नयाँ युग सुरु हुनेछ,’ खनालले भने ।

चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको उनले बताए । भारतले नेपाली चियाको बजार खोस्न लागेको बिषयमा खनालले नेपालको अर्थतन्त्रलाई धरासायी बनाउन भारत लागेको आरोप लगाएका छन् ।


‘चीनमा चिया निर्यात हौवा मात्रै’

भारतीत बजारमा नेपाली चियालाई अवरोध गर्ने सुरुआतसँगै पछिल्लो समयमा उत्तरी छिमेकी मुलुक चीनमा निर्यात गरिने बिषयलाई निक्कै चर्चामा ल्याइएको छ । तर यो बिषय हौवा मात्रै सावित हुने बिज्ञहरुले औल्याएका छन् । 

नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक रहेको सरकारले बताएपनि नियमको सबालमा चीन संसारकै मुलुकमध्ये अग्रणी मुलुक मानिन्छ । स्रोतकाअनुसार नेपालमा झण्डै ८५ प्रतिशत सीटीसी र १५ प्रतिशत अर्थोडक्स चिया उत्पादन हुन्छ । 

चिनियाँले सीटीसी चिया पिउदैनन् । उनीहरु अर्थोडक्स चिया मात्रै पिउने गर्छन् । ‘नेपालमा अर्थोडक्स चियाको उत्पादन नै निक्कै कम भएको अवस्थामा चीनमा कसरी अर्थोडक्स चिया निर्यात गर्न सम्भव छ,’ नेपालबाट विभिन्न मुलुकमा चिया निर्यात गर्दैआएका एक निर्यातकर्ताले भने,‘फेरी पेस्टीसाइट र फायटो स्यानेटरीलगायतका बिषयमा चीन सबैभन्दा कडा मुलुक मानिएकाले नेपाली चिया चीनमा निर्यात गर्र्छाै भन्ने बिषय हल्ला मात्रै हो ।’

सौर्य दैनिकमा २०७९ भदौ ४ गते प्रकाशित


https://www.souryaonline.com/2022/08/482012.html

Comments