फैलँदै ‘कस्मेटिक्स बिष’ को व्यापार : निर्धक्क बिक्छ पसलदेखि अनलाइनसम्म

 


केही समयअघि अष्ट्रेलियामा गरिएको एक सर्वेक्षणअनुसार महिलाले आफ्नो जिवनकालमा करिब तीन किलो लिपस्टिक खान्छन् । त्यसमध्ये एक किलो लिपिस्टिक महिलाका पुरुष साथीले चुम्बनको माध्यमबाट सेवन गर्दै आएका छन् । जिब्रो र ओठको माध्यम भएर लिपस्टिक महिलाको पेटसम्म पुग्ने गर्छ । लिपस्टिकबाट महिलामात्रै होइन, पुरुष र बालबालिकासमेत प्रत्यक्ष प्रभावित छन् । 


राजेश बर्मा

काठमाडौं । सुन्दर बन्ने चाहना जो कोहीको हुन्छ । विवाह, पार्टी, चाडवाडको समयमा अरुभन्दा अलि बढी नै सुन्दर देखिने चाहना हरेकको हुन्छ । यसका लागि बजारमा पाइने जस्तोसुकै क्रिम, लिपस्टिक र नक्कली गरगहना किनेर प्रयोग गरेको पाइन्छ । तर, त्यही क्रिम, लिपिस्टिक र नक्कली गरगहनाले मानव स्वास्थ्यलाई गहिरो असर पु¥याइरहेको हुन्छ । 

यस विषयमा सरकारले ठोस कानुनी नीति नबनाउँदा स्वदेशीका साथै बाहिरी मुलुकमा उत्पादन भएको सौन्दर्य प्रशाधन सामाग्री परीक्षण बिना नै बिक्री बितरण भइरहेका छन् । अझ घरबाटै सपिङ गर्नेमाध्यम बनेको र बग्रेल्ती खुलेका अनलाइन सपिङमार्फत यस्ता गुणस्तरहिन सौन्दर्य प्रशाधनको खुलेआम बिक्री बितरण भइरहँदा पनि सरकारले चासो देखाएको छैन् । बजारमा पाइने यस्ता सामाग्रीमध्ये केही कम्पनीको लोगोसहितका व्राण्डेड सामान हुन्छन् ।

केहीले भने चलनचल्तीको नाम प्रयोग गरेपनि सामान भने नक्कली उत्पादन गरेका छन् । तर, यी दुवै खालका उत्पादन मानव शरीरका लागि अस्वस्थ्य मानिन्छ । नेपाल र विभिन्न ठूला मुलुकमा भएका अध्ययनहरुले ‘ह्वाइट स्किन क्रिम’, ‘लिपस्टिक’ र ‘नक्कली गरहना’ छालाका लागि निकै हानिकारक मानिएको पुष्टि गरिसकेको छ । यस्ता सौन्दर्य प्रशाधनको प्रयोगले ज्याने जाने जोखिमसमेत निम्त्यन सकने बिज्ञहरुले औंल्याएका छन् । सौन्दर्य प्रशाधनको रुपमा महिलाले अनुहारमा लगाउने क्रिममा पारो, लोसन, नक्कली गरगहना, लिपस्टिकमा शिशा (लिड), पारोलगायतका विषाक्त रसायनहरु मिसावट गरिएका छन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले गरेको अध्ययनअनुसार बजारबाट संकलन गरिएका साना तथा ठुला ब्राण्डेड कम्पनीबाट उत्पादित अधिकाँश क्रिम, लिपिस्टिक, नक्कली गरगहनामा पारोका साथै अन्य प्रकारका हानिकारक रसायन भेटिएको छ । सिफेडले अध्ययन गरि उक्त प्रतिवेदन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि उपलब्ध गराइसकेको छ । सिफेडले राजधानीका विभिन्न सौन्दर्य प्रशाधनसम्बन्धी पसलमा गरेको अध्ययनअनुसार गुणस्तर तथा नापतौल विभाग र तत्कालिन वातावरण मन्त्रालयलगायतलाई पनि प्रतिवेदन बुझाएको छ ।

यो प्रतिवेदन बुझाइसक्दा पनि सरकारले सौन्दर्य प्रशासनको नाममा महिलाहरुलाई विषाक्त क्रिम, लिपिस्टिक र नक्कली गरगहना प्रयोग गर्न प्रश्रय दिँदै आएको छ । सर्वसाधारणको स्वास्थ्यलाई दृष्टिगत गरि सरकारले हालसम्म यस्ता सौन्दर्य प्रशासनको विषयमा बाध्यात्मक मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन तदारुकता देखाएको छैन् । सिफेडले अध्ययन गरि बुझाएको प्रतिवेदनको आधारमा गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर परिषदको १०१औं बैठकबाट लिपिस्टिक, छालामा लगाउने क्रिम र छालामा लगाउने लोसनको विषयमा स्वेच्छिक मापदण्ड तोकेर लागू गरेको छ ।

अष्ट्रेलियामा गरिएको एक सर्वेक्षणअनुसार महिलाले आफ्नो जीवनकालमा करिब तीन किलो लिपस्टिक खान्छन् । त्यसमध्ये एक किलो लिपस्टिक महिलाका पुरुष साथीले चुम्बनको माध्यमबाट सेवन गर्दै आएका छन् । लिपस्टिकबाट महिलामात्रै होइन, पुरुष र बालबालिकासमेत प्रभावित छन् ।

‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा बाध्यात्मक नीतिगत व्यवस्था ल्याउन माग गरेका थियौं । तर, स्वेच्छिक मापदण्ड मात्रै ल्याइयो,’ सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहले भने, ‘स्वेच्छिक मापदण्डलाई कसैले पनि मान्दैन् । सौन्दर्य प्रशाधन सामाग्रीमा यस्तो खतरनाक रसायन मिश्रण भइरहेको हुँदा नियन्त्रण गर्न बाध्यात्मक नीतिगत व्यवस्था आउन आवश्यक थियो ।’ 

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले सुरुमै बाध्यात्मक व्यवस्थासहितको नीति ल्याउन नसकिने जानकारी दिए । ‘पहिले हामी स्वेच्छिक मापदण्ड ल्याउँछौं । त्यसको आधारमा उत्पादक र आयातकर्ताले के कति सर्तकता अपनाएर यस्ता उत्पादन बजारमा ल्याउँछन् भनेर हेर्छौ,’ मिश्रले भने, ‘त्यसपछि सरोकारवाला मन्त्रालय र निकायको सहकार्यमा बाध्यात्मक नीतिगत व्यवस्थातर्फ जाने हो ।’ सौन्दर्य प्रशाधन सामाग्रीको विषयमा स्वेच्छिक मापदण्ड ल्याइए पनि उक्त मापदण्ड पालना गर्न उत्पादक र आयातकर्ताले चासो देखाएरनदेखाएको विषयमा समेत सरकारले कुनै अनुगमन र परीक्षण गर्न उचित ठानेको छैन् ।

लिपस्टिकमा सिसा लिपस्टिकले ओठको सौन्दर्य बढाउँछ । यही लिपस्टिक मानव स्वास्थ्यका लागि भने हानिकारक पनि हुनसक्छ । लिपस्टिकमा घर, फर्निचर र अन्य भौतिक संरचना रंगाउन प्रयोग गरिने सिसा (लिड) सहितको रंग मिसाउन थालिएको पछिल्लो एक अध्ययनले देखाएको छ । सिफेडको अध्ययनअनुसार सबै प्रकारका लिपस्टिकमा सिसा (लिड) को औषत मात्रा ९१.१२५ पीपीएम (पार्ट पर मिलियन) अर्थात अमेरिकी मापदण्डभन्दा नौ सय गुणाभन्दा बढी परिमाणमा पाइएको छ । अमेरिकी मापदण्डअनुसार लिपस्टिकमा ०.१ पीपीएमभन्दा बढी सिसाको प्रयोग गर्नु मानव स्वास्थ्यका लागि विभिन्न प्रकारको घातक रोगलाई निम्त्याउनु हो ।

सिफेडले नेपाली बजारमा पाइने अन्तर्राष्ट्रियस्तरका म्याक ब्राण्डको ब्लड रेड ९रगतजस्तो रातो०, लोरियल पेरिस ब्राण्ड, रेभ्लोन, ल्याक्मी, सिसिडो, डिली, च्यानल, मिडी र मिडाई लाइटजस्ता कम्पनीको लिपस्टिक संकलन गरेर अध्ययन गरेको थियो । सिफेडका कार्यकारी निर्देशक साहका अनुसार लिपस्टिकमा मिसाइएको सिसाले मानव शरीरको रक्तनलीमा पुगेर रातो रक्त कोषिकालाई मार्न सहयोग गर्छ । 

यस्तो अवस्थामा विभिन्न अंग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै गई मानिसको मृत्यु हुने सम्भावना बढ्छ । यस्तो लिपस्टिकको प्रयोगका कारण गर्भावस्थाका महिलामा समेत ठूलो समस्या आउनसक्छ । गर्भावस्थामा बच्चाको मस्तिष्कमा यसले अत्यन्त घातक प्रभाव पार्छ । बच्चालाई स्तनपान गराउने महिलालाई पनि लिपस्टिकले अत्याधिक मात्रामा असर पु¥याउँदै आएको सिफेडको प्रतिवेदनमा उल्लेख छ ।


सिफेडले लिपस्टिकका नमूना संकलन गरेर परीक्षणका लागि नेपाल इनभाइरोमेन्ट एण्ड साइन्टिफिक सर्भिसको ल्याबमा पठाएको थियो । पठाइएको नमूनामा एटोमिक अबजरप्सन स्पेक्ट्रोस्कोपी प्रविधिद्वारा सिसाको मात्राको परीक्षण गरिएको थियो । ‘लिपस्टिकमा पाइने सिसाले मिर्गौलामा पनि असर पू¥याउनुका साथै छारे रोग निम्त्याउन पनि सहयोग गर्दै आएको छ,’ बैज्ञानिक साह भन्छन, ‘यसले मस्तिष्क र स्नायु प्रणालीमा समेत ठूलै प्रभाव पार्न सहयोग गर्छ ।’

सिसाको मात्रा बढी 

अध्ययन प्रतिवेदनअनुसार कुनै पनि कस्मेटिक बट्टामा सिसाको मिश्रणबारे जानकारी उल्लेख गरिएको छैन् । सबैभन्दा बढी एक सय ४५ पीपीएम म्याक ब्राण्डको ब्लड रेडमा पाइएको छ । अमेरिकी मापदण्डभन्दा झण्डै एक हजार चार सय ५० गुणाले बढी सिसाको मात्रा ब्लड रेडमा पाइएको छ ।

यसैगरी सबैभन्दा थोरै लोरियल पेरिस ब्राण्डमा ३० पीपीएमम पाइए पनि त्यो परिमाण अमेरिकी मापदण्डभन्दा तीन सय गुणा बढी हो । यसवाहेक रेभ्लोन, ल्याक्मी, सिसिडो, डिली, च्यानल र मिडाईमा पनि लिडको मात्रा क्रमशः ४०, ५०, १२३, ११६, १०१ र ११६ पीपीएम पाइएको छ । नेपाली बजारमा पाइने र धेरै मात्रामा प्रयोग हुने लिपिस्टिकमा सिसाको मात्रा ३० पीपीएमसम्म पाइएको छ । यो मात्रा संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी व्यवस्थापन विभागले निर्धारण गरेको सिसाको मापदण्ड ०.१ पीपीएमभन्दा तीन सयदेखि एक हजार चार सय ५० गुणाले बढी हो ।

क्यान्सरको खतरा 

केही समयअघि अष्ट्रेलियामा गरिएको एक सर्वेक्षणअनुसार महिलाले आफ्नो जिवनकालमा करिब तीन किलो लिपस्टिक खान्छन् । त्यसमध्ये एक किलो लिपिस्टिक महिलाका पुरुष साथीले चुम्बनको माध्यमबाट सेवन गर्दै आएका छन् । जिब्रो र ओठको माध्यम भएर लिपस्टिक महिलाको पेटसम्म पुग्ने गर्छ । लिपस्टिकबाट महिलामात्रै होइन, पुरुष र बालबालिकासमेत प्रत्यक्ष प्रभावित छन् । लिपस्टिकमा मिसाइएको सिसाको परिमाणबारे अध्ययन गरेर सर्वसाधारणलाई जानकारी गराउने पहल कतैबाट भएको छैन् ।

सौन्दर्य प्रशाधन सामग्रीमा रसायको मात्रा नियन्त्रणको निर्देशिका, ऐन र मापदण्ड छैन् । अनि यस्ता समस्यालाई सरकारीस्तरबाट अनुगमनसमेत भएको छैन् । छाला रोग विशेषज्ञ डा। अनिलकुमार दासका अनुसार लिपस्टिकका कारण थुप्रै प्रकारका रोग लाग्ने सम्भावना हुन्छ । लिपस्टिकबाट मुख्य गरी एलर्जी कन्ट्याक्ट जर्मिटाइटिसजस्ता रोग लाग्ने जोखिम हुन्छ । युरोर र अमेरिकामा लिपस्टिकका कारण क्यान्सर भएको जानकारी पाइए पनि नेपालमा भने यसबारेमा अध्ययन नभएको उनको कथन छ । उनका अनुसार लिपस्टिकका कारण ओठ फुल्ने, फाट्ने, ओठमा दुबी (चरक) हुने लगायतको रोग लाग्ने सम्भावना हुन्छ ।

क्रिममा पारो 

अहिले बजारमा पाइने ह्वाइट स्किन क्रिम लगाएर आफ्नो अनुहारलाई क्षणिक भएपनि चम्किलो र गोरो बनाउने रहर महिला पुरुष दुवैलाई हुन्छ । यस्ता क्रिमले दीर्घकालिन तथा तत्कालै विभिन्न प्रकारका घातक रोग निम्त्याउने खतरा पनि उत्तिकै हुन्छ । छाला टल्काउने क्रिममा पारो (मर्करी) प्रयोग गरिएको हुन्छ । पारो आफैमा घातक विष हो । सिफेडको अध्ययनअनुसार बजारबाट संकलन गरिएका साना तथा ठुला ब्राण्डेड कम्पनीबाट उत्पादित क्रिममा पारो भेटिएको छ । बजारमा पाइने कुनै पनि क्रिमको प्याकेटमा पारोसम्बन्धी विवरण खुलाइएको भेटिएन । नेपालमा त झन क्रिममा कति परिमाणमा पारो हुनुपर्छ भनेर कुनै मापदण्डसमेत नतोकिएकाले उपभोक्ता जानी नजानी यस्ता क्रिम प्रयोग गर्न बाध्य भइरहेका छन् ।

सिफेडले बजारमा सबैभन्दा बढी बिक्रि हुने बिभिन्न ब्राण्डका सातवटा नमुना संकलन गरेर भारतको दिल्लीस्थित देल्ही टेस्ट हाउसमा परीक्षण गराएको थियो । जसअनुसार सातमध्ये दुईवटा सेभेन इन वन एण्टी एजिङ क्रिम (ओले) र लोट्स हर्बलमा पारोको मात्रा ०.०२५ एमजी/केजिभन्दा कम रहेको भेटिएको थियो । यसैगरी सबैभन्दा बढी गार्नियर स्किन नेचुरलमा पारोको मात्रा ०.५२१ एमजी/केजि भेटिएको थियो । सबैभन्दा कम भने पुरुषका लागि बिक्रि वितरण हुने फेयर एण्ड लब्लीमा ०.०२६ एमजी/केजि रहेको पाइएको थियो ।

गरगहनामा सिसा सक्कली सुन र चाँदी होइन । तर, त्यस्तै महंगोजस्तो देखिने नक्कली गरगहनाको अवस्था पनि राम्रो भेटिएन । चोरी हुनबाट पनि जोगिने र सौन्दर्य पनि चम्काउने हुनाले हिजोआज सुन र चाँदीको जलप लगाइएका गहनाप्रति धेरैको आकर्षण बढेको पाइन्छ । ग्यारेण्टी भएको र ग्यारेण्टी नभएको यस्ता गरगहनामा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) र क्याडमियमको मात्रा भेटिएको छ । सिफेडले राजधानीका केही गहना पसलबाट औंठी, हातमा लगाउने बाला, टप र नेक्लेसको नमुना संकलन गरेको थियो ।

नमुनालाई सरकारी मातहतको नेपाल इनभाइरोमेण्ट एण्ड साइन्टिफिक सर्भिस प्रयोगशालामा परीक्षण गर्दा सिसाको मात्रा अत्याधिक रहेको पाइएको थियो । सिफेडका अनुसार परीक्षणका क्रममा कानमा लगाइने टपहरुमा धेरै सिसा भेटिएको थियो । टपमा सात लाख ७५ हजार पाँच सय पीपीएम (पार्टस पर मिलियन) को हाराहारीमा सिसा भेटिएको थियो । 

अमेरिकाले सामान्यतया तीन सय पीपीएमसम्म सिसाको मात्रालाई ‘ठिक’ भनेको छ । यसैगरी औंठीमा भने अधिकतम ६१ हजार दुई सय पीपीएमसम्म सिसाको मात्रा पाइयो । सबैभन्दा कम भने बालामा ९० पीपीएमको हाराहारीमा मात्रै सिसा भेटिएको प्रतिवेदनमा उल्लेख छ । गरगहनामा समेत उत्पादकले सिसाको परिमाणबारे उपभोक्तालाई जानकारी गराउने हिसावले कुनै पनि विवरण उल्लेख गरिएको पाइँदैन ।

कुन पदार्थले कस्तो हानि ? 

सिसा  

सिसा मिसाइएको रंग सेवनले रक्तनलीमा पुगेर रातो रक्त कोशिकालाई मार्छ । यसले गर्दा विभिन्न अंग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै जान्छ । अक्सिजनको मात्रा घट्दै गएपछि मानिसको मृत्यु हुने सम्भावना हुन्छ । 

सिसाले मिर्गौलामा समेत असर पूर्याउनुका साथै छारेरोग पनि निम्त्याउँछ । साथै मस्तिष्क र स्नायु प्रणालीमा पनि असर गर्छ । गर्भावस्थामा सिसाको सम्पर्कमा आउँदा गर्भको बच्चालाई समेत खतरा हुन्छ । यसवाहेक पेट दुख्ने, तौल घट्ने, कब्जियत हुने, अनिद्रालगायतका समस्या पनि आउन सक्छ ।

पारो 

विश्व स्वास्थ्य संगठनका अनुसार पारोले स्नायु प्रणाली, पाचन प्रणाली, श्वाँसप्रश्वाँस प्रणालीसहित मिर्गौला तथा फोक्सोमा असर पुरयाउँछ । यसले सुन्ने र हेर्ने शक्तिमा पनि हस ल्याउनुका साथै बच्चाको बौद्धिक तथा शारीरिक विकासमा समेत असर गर्छ । रिसाउने, लजाउने, काम्ने, स्मरण शक्तिसम्बन्धी समस्या, वाकवाकी लाग्ने, रक्तचाप तथा छातीको धडकन बढ्ने, फोक्सोको समस्या, छालामा दाग निस्कने तथा आंखा पाक्ने रोगहरु देखा पर्छन् । गर्भावस्थामा पारोको सम्पर्कमा आउँदा बच्चाको शारीरिक विकासमा वाधा हुनुका साथै बौद्धिक विकास र सिक्ने क्षमतामा पनि नकारात्मक प्रभाव गर्छ । सीसाको मात्रा बढ्दै गएर मृत्युसम्म हुनेगर्छ ।

क्याडमियम 

चिकित्सकहरुका अनुशार, यसको प्रयोगले हड्डी दुख्ने समस्या र सहजै हड्डी भाँचिने समस्या आउन सक्छ । लामो समयसम्म यसको सम्पर्कमा रहँदा क्यान्सर र मृगौला बिग्रने समस्यासमेत निम्तन सक्छ ।


२०७८ चैत १५ गते सौर्य दैनिकमा प्रकाशित


Comments