बालबालिकाले प्रयोग गर्ने इरेजरमा घातक रसायन

जोखिममा बालबालिकाको स्वास्थ्य


इरेजर चलाउँदा त्यही हात र औंला मुखको सम्पर्कमा ल्याउने र कतिपय बालबालिकाले इरेजर मुखमै लग्ने हुनाले यो निकै हानिकारक मानिएको हो । पेन्सिलमै जडान भएको गोलो इरेजर र बजारमा पेन्सिलबाहेक छुट्टै पाइने इरेजर नियमित रुपमा मुखमा राखिराख्ने गरेमा बालबालिको स्वास्थ्य झनै जोखिममा पर्ने अध्ययनले देखाएको छ ।

राजेश बर्मा

काठमाडौं । सीसाकलमले लेखिएका अक्षर मेट्न बालबालिकाले प्रयोग गर्ने रंगीचंगी ‘इरेजर’ मा मानव स्वास्थ्यलाई हानि पु¥याउने खतरनाक रासायन मिसाइएको रहश्य फेला परेको छ । घरदेखि बिद्यालयसम्म बालबालिकाले प्रयोग गर्ने विभिन्न ब्राण्डका रंगीचंगी र लोभलाग्दा इरेजर निकै जोखिमयुक्त भएको एक अध्ययनले देखाएको छ । वातावरणको क्षेत्रमा कार्यरत जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले हालै गरेको यससम्बन्धी अध्ययनले इरेजर बालबालिकाका लागि निकै घातक रहेको निश्कर्ष निकालेको छ । इरेजरमा बालबालिकाको स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएको विषाक्त र हर्मोन उत्पादन गर्ने ग्रन्थीमा सोझै असर पु¥याउने रसायन फ्थालेट्सको मात्रा पाइएको छ । त्यो पनि निकै उच्च मात्रामा ।

सिफेडले दक्षिण कोरियास्थित फाइनान्सियल इन्डस्ट्री पब्लिक इन्टरेस्ट फाउन्डेसन र वन्जिन इन्टिच्युट अफ अकुपेशनल एण्ड इन्भाइरोमेन्ट हेल्थसहित एसियाका अन्य नौवटा मुलुकको सहयोगमा ‘हर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पु¥याउने रसायनहरू’ को विषयमा अध्ययन गरेको थियो । यो अध्ययनमा नेपालसहित दक्षिण कोरिया, जापान, श्रीलंका, इन्डोनेशिया, बंगलादेश, मलेसिया, फिलिपिन्स र भियनतामका वातावरणबिज्ञहरु सहभागी भएका थिए । नेपाली बजारमा उपलब्ध रहेको ५३ प्रकारसहित विभिन्न नौ मुलुकका चार सय प्रकारका इरेजरको नमूना संकलन गरि अध्ययन गरिएको थियो ।

वैज्ञानिक रुपमा अध्ययन गरि तयार पारिएको उक्त प्रतिवेदन ‘एडीसी फ्रि एसिया—२०२२’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमार्फत हालै सार्वजनिक गरिएको छ । यो अध्ययनअनुसार कोरियाले निर्धारण गरेको फ्थालेट्सको मापदण्डको तुलनामा दुई सय ५६ गुणाभन्दा बढी मात्रामा फथालेट्स भन्ने रसायन इरेजरमा पाइएको छ ।

युरोपेली संघ, अमेरिका र अन्य धेरै विकसित राष्ट्रहरूले फ्थालेट्सको प्रयोगमा प्रतिवन्ध लगाइसकेको छ । नेपालमा पनि त्यसलाई नियन्त्रण गर्न ठोस मापदण्ड र कानुन निर्माण गर्नु आवश्यक छ । नेपालमा मुख्यगरी भारत, मलेसिया, चीन, जर्मनी, ताइवान, कोरिया, चेक गणतन्त्र लगायतका मुलुकबाट विभिन्न प्रकारका इरेजर आयात हुन्छन् ।

कोरियाले इरेजरमा ०.१ प्रतिशत फ्थालेट्सको मात्रा तोकेको छ । आयात गरिएका विभिन्न मुलुकका इरेजरमा २५.६ प्रतिशतको हाराहारीमा फ्थालेट्सको मात्रा पाइएको सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहले जानकारी दिए । मुख्यगरी भारतबाट आयात हुने अप्सरा ब्राण्ड, मलेसियाबाट आयात हुने फाइवर कास्टल, चीनको मारिज, जापानको साकुराफोम र कोरियाबाट आयात हुने फोरबी ब्राण्डको इरेजरमा घातक फ्थालेट्स रासायन अत्याधिक मात्रामा भेटिएको छ । 

यसैगरी विभिन्न मुलुकबाट आयात भएर नेपाली बजारमा पाइने ओरयो, कम्प्रो, डम्स, प्यासन, ह्वाजीइ, हार्डमोर्थ, लिल च्याम्प, किड्जोन टीएम, इरेजर, साइन, स्टाइडटलर, नटराज, अन्टा, डेलि र कमिक्स ब्राण्ड नाम भएको इरेजरमा पनि यस्तो घातक तत्व अत्याधिक मात्रामा पाइएको छ ।

विभिन्न प्रकारका खेलौनाको अकारमा बजारमा बिक्री हुने इरेजरमा पनि यस्तै प्रकारको घातक रसायन पाइएको छ । आयात भएका यस्ता इरेजरमध्ये ३८ प्रतिशतभन्दा बढीमा फथालेट्स पाइएको हो । इरेजरको नमूना परीक्षण गर्दा एउटा इरेजरमा ७८ प्रतिशतसम्म फ्थालेट्सको परिमाण मिसाइएको पाइएको थियो । 


उनका अनुसार इरेजर चलाउँदा त्यही हात र औंला मुखको सम्पर्कमा ल्याउने र कतिपय बालबालिकाले इरेजर मुखमै लैजाने हुनाले यो निकै हानिकारक मानिएको हो । बालबालिकाले नियमित रुपमा पेन्सिलमा जडान भएको गोलो इरेजर र बजारमा पेन्सिलबाहेक छुट्ट पाइने इरेजर नियमित रुपमा मुखमा राखिराख्ने प्रक्रियाले उनीहरुको स्वास्थ्य झनै जोखिममा रहेको अध्ययनले देखाएको छ ।

 साहका अनुसार नेपालमा उपलब्ध रहेको स्वदेशी उत्पादनसहित भारत, चीन, मलेसिया, ताइवान, जर्मनी, जापान, कोरिया र चेक रिपब्लिकमा निर्माण भएको इरेजरलाई अध्ययनमा सहभागी गराइएको थियो । इरेजरका नमूना उपत्यकासहित जनकपुरका विभिन्न स्टेशनरी पसल, आर्ट स्टोर्स, डिपार्टमेन्टल स्टोरलगायतबाट संकलन गरिएको थियो । साहका अनुसार अध्ययनमा सहभागी एसियाका नौवटै मुलुकबाट संकलन गरिएका इरेजरहरूमा फ्थालेट्सको मात्रा अत्याधिक रहेको पाइएको थियो ।

फ्थालेट्स रसायनको रुपमा इरेजरमा मिसाइन्छ । फ्थालेट्स प्लाष्टिकका सामानहरूलाई बढी टिकाउ, नरम, लचिलो बनाउन प्रयोग गरिने एक प्रकारको घातक रसायन हो, जुन हामीले प्रयोग गर्ने प्लाष्टिकका हरेक सामानमा प्रयोग गरिएको हुन्छ । नमूनाहरु कोरियास्थित वोन्जीन इन्सिच्युट अफ अकुपेसनल एण्ड इनभ्यारोमेन्ट हेल्थस्थित प्रयोगशालामा एक्सआरएफ भन्ने मेसिनबाट परिक्षण गरिएको थियो । इरेजरको नमूनामा क्लोरिनको मात्रा (१ प्रतिशतभन्दा बढी) को आधारमा पीभीसी स्क्रिनिङ गरिएको थियो ।

इरेजर चलाउँदा त्यही हात र औंला मुखको सम्पर्कमा ल्याउने र कतिपय बालबालिकाले इरेजर मुखमै लग्ने हुनाले यो निकै हानिकारक मानिएको हो । पेन्सिलमै जडान भएको गोलो इरेजर र बजारमा पेन्सिलबाहेक छुट्टै पाइने इरेजर नियमित रुपमा मुखमा राखिराख्ने गरेमा बालबालिको स्वास्थ्य झनै जोखिममा पर्ने अध्ययनले देखाएको छ ।

जसअनुसार ५४.५ प्रतिशत (चार सयमध्ये दुई सय १८ इरेजर) पीभीसीयुक्त पाइएको थियो । ४५.५ प्रतिशत (चार सयमध्ये एक सय ८२ इरेजर) पीभीसी मुक्त पाइएको थियो । सबै प्रकारका इरेजरको नमूनामा सात प्रकारको डीआईबीपी, डीबीपी, बीबीपी, डीईएचपी, डीएनओपी, डीआईएनपी र डीआईडीपी फ्थालेट्सको बिशिष्ट रसायन प्रयोग गरि परीक्षण गरिएको थियो । 

अध्ययनको क्रममा अन्य मुलुकमा उत्पादन भएर नेपालमा आयात भएको इरेजरमा अत्याधिक फ्याथलेट्सको मात्रा पाइएको छ । ‘तर, हाम्रो मुलुकमा निर्माण भएका इरेजरमा भने फ्याथलेट्सको मात्रा नगण्य परिमाणमा भेटिएको छ,’ साहले भने, ‘त्यसैले आफ्ना बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सकेसम्म नेपालमै निर्मित इरेजरहरु प्रयोग गर्न दिउँ ।’


साहले फ्थालेट्सयुक्त स्टेशनरीहरू प्रयोग गर्न बन्द गर्न र सुरक्षित वस्तुहरुको प्रयोग गर्न शिक्षा मन्त्रालय, शिक्षा विभागसहित प्याबसन र एनप्याबसनले आवश्यक पहल गर्नुपर्ने सुझाव दिए । युरोपेली संघ, अमेरिका र अन्य धेरै विकसित राष्ट्रहरूले फ्थालेट्सको प्रयोगमा प्रतिवन्ध लगाइसकेको जानकारी पनि उनले दिए । साहले नेपालमा पनि त्यसलाई नियन्त्रण गर्न ठोस मापदण्ड र कानून निर्माण गर्न सरकारसँग माग गरेका छन् । नेपालमा मुख्यगरी भारत,मलेसिया, चीन, जर्मनी, ताइवान, कोरिया, चेक गणतन्त्र लगायतका मुलुकबाट विभिन्न प्रकारका इरेजर आयात हुन्छन् ।

के हो फ्थालेट्स ? 

फ्थालेट्स एउटा थ्यालिक एसिडको एस्टर हो । यो ड्यावेन्जाइन डाइकार्वोजाइलिक एसिडको समिश्रणबाट तयार हुन्छ । यो रसायन मुख्यगरी प्लाटिसइजरको रुपमा प्रयोग हुन्छ । पोलिभिनाइल क्लोराइड नरम गर्ने उद्देश्यले यस्ता घातक रसायनको प्रयोग हुने गरेको छ ।

कस्तो कसर गर्छ ? 

इरेजरमा फ्थालेट्सको उपस्थितिले बालबालिकाको हर्मोन ग्रन्थीमा असर पु¥याउँछ । यसले गर्दा मोटोपना हुने, बालबालिकामा दीर्घकालिन रुपमा बाँझोपनाको समस्या देखिनुकका साथै रोगसँग लड्ने क्षमतामा कमी आउनेजस्ता समस्या देखा पर्छन् ।  यसैगरी प्रजनन प्रणालीमा असर पुग्ने, नपुंसक बनाउने, बालिकामा दीर्घकालिन रुपमा महिनाबारी गडवडीका साथै चाडै महिनावारि रोकिनुका साथै बालकमा दीर्घकालिन रुपमा शुक्रकिटको गुण तथा शुक्राणु संख्यामा कमीलगायतका समस्या पनि देखापर्छ ।

जोगिन के गर्ने ? 

हानिकारक इरेजरको आयात बन्द गर्नुपर्छ । फ्थालेट्स र फ्थालेट्सयुक्त बस्तुहरुको आयात, उत्पादन, बिक्री बितरण र प्रयोगमा नियन्त्रण र नियमन गर्न आवश्यक मापदण्ड र कानुन तोकेर प्रभावकारी रुपमा अनुगमन गर्नुपर्छ ।

थर्मल पेपर पनि घातक 

विभिन्न प्रकारको डिजिटल बीलका लागि प्रयोग हुने थर्मल पेपरमा पनि घातक रसायन फेला पारिएको छ । इरेजरसँगै थर्मल पेपरको बिषयमा गरिएको अध्ययनले यस्तो पाइएको हो । अस्पताल, फार्मेसि, बैंक, एटीएम, सरकारी कार्यालय, साना तथा ठूला स्टोर, डिर्पाटमेन्ट स्टोर, रेष्टुरा, कफी शप, मोवाइल केयर सर्भिस सेन्टर, सबारी पार्किङलगायतका स्थानमा प्रयोग हुने चिल्लो सेतो टल्कने बील थर्मल पेपरबाट तयार हुन्छ । थर्मल पेपर भनेको हामीले प्रयोग गर्ने आम कागजभन्दा फरक एटीएम मेसिन, बिलिङ मेसिन, बैंकमा जाँदा लाइन बस्न मेसिनबाट प्रिन्ट भएर निस्कने पालो बीलिङ पेपर हो । अध्ययनको क्रममा ३१ प्रकारको थर्मल पेपरको नमूना संकलन गरिएको थियो ।

थर्मल पेपरमा पनि शरीरलाई हानी पु¥याउने बीपीए नामक घातक रसायन फेला परेको हो । अध्ययनले एशियाली मुलुकहरुमा थर्मल पेपरको रसिदहरुमा जोखिमका श्रोतहरु उच्च रहेको देखाएको छ । ‘नेपालमा मात्रै होइन, अन्य एशियाली मुलुकहरुमा पनि थर्मल पेपरमा घातक रसायनको प्रयोगमा प्रतिवन्ध लगाउने कुनै कानुन र मापदण्ड बनेको छैन्,’ साहले भने ।

२०७९ वैशाख २ गते सौर्य दैनिकमा प्रकाशित


https://www.souryaonline.com/2022/04/445573.html

Comments