मह महिमा : ‘खाए पनि ठीक, लगाए पनि ठीक’

पोषणसँगै औषधि पनि


पछिल्लो समयमा मौरीपालनको क्षेत्र विस्तार हुँदैगएपनि बढ्दो सहरीकरणका कारण मौरीको बासस्थान र चरण क्षेत्र अतिक्रमण हुन थालेको छ । फलफूलमा प्रयोग गरिने विषादीका कारण पनि मौरीको जीवन संकटमा पर्न थालेको हो । यसैगरी सूचना प्रविधिमा भएको विकासले समेत मौरीलाई असर गर्न थालेको छ । मोबाइल फोनबाट निस्कने रिङ टोनको विकिरण हावामा फिँजिएर यसले मौरीलाई नकारात्मक असर पुर्याउन थालेको मौरीविज्ञहरू बताउँछन् । विषादीका कारण मौरी मर्छ र मह पनि अर्गानिक हुँदैन ।


राजेश बर्मा

मह, नाम जति राम्रो छ, त्यतिकै पोसिलो, स्वादिलो र गुणकारी पनि । नियमित दिनको एक चम्चामात्र मह सेवन गरेमा पनि धेरै प्रकारका रोगबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढ्छ । दूध, चिया, कफी र अन्य पेय पदार्थमा घोलेर खाए मह स्वास्थ्यका लागि निकै हितकर छ । मह पाउरोटी, बिस्कुट वा रोटीमा दलेर खाने चलन पनि छ । अनि ‘हट लेमन विथ हनी’ को कुरै बेग्लै । यतिमात्रै होइन, विभिन्न प्रकारका शृंगारका सामग्रीमा समेत यसको प्रयोग बढिरहेको छ । मह मानव सभ्यताको सुरुआतदेखि नै प्रचलनमा आएको हो ।

महमा भिटामिन, प्रोटिन, खनिज र अन्य पदार्थसहित विभिन्न १ सय ८० प्रकारका मानव शरीरमा अत्यावश्यक पर्ने तत्व पाइन्छ । ‘खाए पनि ठीक, लगाए पनि ठीक’ हुने यो बहुउपयोगी पदार्थको महिमा यत्तिमै सीमित छैन । मौरीले पुष्परस संकलन गर्ने क्रममा बोटबिरुवामा पराग सेचन गराएर अन्न तथा फलफूलको उत्पादनमा समेत उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।

पोषण तत्व र औषधीय गुणका कारण पछिल्लो समयमा आन्तरिक बजारमा महको माग दिनानुदिन बढ्दै गएको छ । यसका कारण परम्परागत मौरीपालनले पनि अहिले व्यावसायिक रूप लिन थालिसकेको छ ।

महका पारखीको संख्या बढ्न थालेपछि मौरीपालक किसानसमेत दंग छन् । विगतमा सोखको रूपमा केही घार राखेर मौरी पाल्दै आएका किसान महबाट मनग्गे आम्दानी हुने बुझेपछि अहिले आधुनिक प्रविधिसहित बृहत् रूपमा मौरीपालन गर्न थालेका छन् ।

स्थानीय घरपालुवा ‘अपिस सेरेना’ जातबाट मौरीपालनको इतिहास सुरु भएको पाइन्छ । एपिस सेरेनाका घारलाई मुढा र कोपे घारबाट आधुनिक घारमा सारिएपछि यो पेसा आधुनिकीकरणतर्फ उन्मुख भएको मह व्यवसायी संघका पूर्वअध्यक्ष धर्मराज श्रेष्ठ बताउँछन् ।

परिश्रमीको उपाधी पाएका मौरी समाजिक संरचनामा मिलेर मिजासिलो भएर बस्न मन पराउँछन् । मौरीपालन पछिल्लो समयमा व्यावसायिक रूप लिन थालेको छ । पछिल्लो समयमा व्यावसायिक रूपमा फैलँदै गएको मौरीपालनका कारण यसको पोषण तत्व र औषधीय गुणका कारण मुलुकभित्र महको आवश्यकता र खपत पनि बढ्दो क्रममा छ ।

नेपालमा मौरीपालनको इतिहास आदीकालदेखि सुरु भएको मानिन्छ । स्थानीय घरपालुवा अपि सेरेना जातका मौरीबाट यसको पालन सुरु भएको कृषि विज्ञहरू बताउँछन् । त्यसपछि करिब ०३२ सालमा स्थापना भएको व्याववसायिक किट विकास आयोजना अस्तित्वमा आएपछि सामान्य रूपमा मौरीपालनसम्बन्धी केही कामहरूले अग्रता पाएको थियो ।

यसैगरी ०४३ सालमा स्थापना भएको मौरीपालन तालिम तथा प्रसार आयोजनाका कारण पनि यो व्यवसायले केही रूपमा व्यावसायिक रूप लिएको थियो । आयोजना गोदावरीमा स्थापना गरिएको थियो । त्यसबेला नेदरल्यान्ड्स सरकारको सहयोगमा भौतिक पूर्वाधार निर्माण गरेर कार्यक्रमहरू सञ्चालनमा ल्याइएपछि मौरीपालन व्यवसाय फस्टाउँदै गएको थियो ।

त्यसलगत्तै राष्ट्रिय मौरीपालन विकास कार्यक्रम, मौरीपालन विकास कार्यालय भण्डारखाल र व्यावसायिक किट विकास निर्देशनालय स्थापना भएपछि यो क्षेत्रले फड्को मार्न सफल भएको हो । अहिले नेपालभर मौरीपालन गरिँदै आएको छ ।

खास गरेर तोरीको पकेट क्षेत्र, स्याउ, लिची, आँप, सिसमलगायतका क्षेत्र मौरीपालनका लागि उर्वरा क्षेत्र मानिन्छ । खयर, कमल, चिउरीको फूल चुसेर माहुरी माहुरीले तयार पारेको मह अन्यभन्दा दुलर्भ मानिनुका साथै गुणकारी पनि मानिन्छ । तैलीय गुण बढी भएका कारण चिउरीको मह पनि विश्वभर प्रख्यात छ ।

मुख्यतया चितवन, सर्लाही, नवलपरासी, कपिलबस्तु, कास्की, दाङ, सुनसरी, मकवानपुर, बाँके, बर्दिया, कञ्चनपुर, डडेलधुरा, मोरङ, इलाम, बाग्लुङ, पर्वत र रुपन्देही जिल्लालाई व्यावसायिक मौरीपालन क्षेत्रको रूपमा चिनिन्छ । माहुरीपालन तालिम तथा प्रसार आयोजना गोदावरीले ०५१ सालतिर भारतबाट ७५ वटा एपिस मेलिफेरा जातका घार ल्याएर चितवन, सर्लाही र नवलपरासीमा वितरण गरेको थियो ।

त्यही घारबाट हाल हजारौँ घार बिस्तारित भएर व्यावसायिक रूपमा महको उत्पादन हुन थालेको हो । नेपालमा पछिल्लो समयमा एपिस मेलिफेरा जातको माहुरीलाई व्यावसायिक रूपमा मह उत्पादनका लागि प्रयोग गर्न थालिएको छ । ०५५ सालदेखि नेपालमा मेलिफेरा जातको माहुरीले तयार पार्ने मह प्रयोग हुन थालेको हो ।

तत्कालीन कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार नेपालमा मुख्यतयाः एपिस सेरेना, एपिस मेलिफेरा (विदेशी मौरी), एपिस लेवोरियोसा (भिर मौरी), एपिस डोर्साटा (खाग मौरी) र एपिस फलोरिया (कठयौरी मौरी) जातका माहुरी पाइन्छ । यसवाहेक भुसौरी, झिगौरी, गोठौरी आदि नामले चिनिने पुत्का मौरी पनि पाइन्छ । यसको मह अति नै दुर्लभ मानिन्छ । यसमध्ये सेरेना र मेलिफेरालाई घरपालुवा भएकाले घरमै ल्याएर पाल्न सकिन्छ ।

अर्को लेवोरिसा, डोरसापा र फलोरिया जंगली जातका भएकाले घरमा राखेर पाल्न सकिन्न । सेरेना जातको एउटा घारबाट प्रतिवर्ष १० किलोसम्म र मेलिफेरा जातको एउटा घारबाट प्रतिवर्ष ६० किलोसम्म मह उत्पादन हुने भएकाले किसानहरू व्यावसायिक उत्पादनका लागि मेलिफेरा जाततर्फ नै बढी आकर्षित हुन्छन् ।

घरपालुवा जातका माहुरीले एकपटकमा १० वटासम्म चाका बनाउन सक्छ भने जंगली जातका माहुरीले एकपटकमा एउटा मात्र घारबनाउन सक्ने गुण हुन्छ । आन्तरिक बजारमा करिब नौ हजार टन महको माग छ ।

तर, एपिक मेलिफेरा र एपिक सेरेना जातका मौरिबाट बर्सेनि ४ हजार २ सयदेखि ४ हजार ५ सय टनसम्म उत्पादन हुँदै आएको छ । अपुग मह ४ हजार ५ सय टन भारतसहित विभिन्न मुलुकबाट आयात हुँदैआएको छ । नेपालमा हाल एपिस सेरेना जातको १ लाख ५० हजार मौरीको घार र करिब ९० हजार घार एपिस मेलिफेराको छ ।

पछिल्लो समयमा मौरीपालनको क्षेत्र विस्तार हुँदैगएपनि बढ्दो सहरीकरणका कारण मौरीको बासस्थान र चरण क्षेत्र अतिक्रमण हुन थालेको छ । फलपूmलमा प्रयोग गरिने विषादीका कारण पनि मौरीको जीवन संकटमा पर्न थालेको हो । यसैगरी सूचनाप्रविधिमा भएको विकासले समेत मौरीलाई असर गर्न थालेको छ । मोबाइल फोनबाट निस्कने रिङ टोनको विकिरण हावामा फिँजिएर यसले मौरीलाई नकारात्मक असर पु¥याउन थालेको मौरीविज्ञहरू बताउँछन् । विषादीका कारण मौरी मर्छ र मह पनि अर्गानिक हुँदैन ।

महको औषधीय गुण पनि उत्तिकै छ । महले विशेषगरी आँखासम्बन्धी, चिसो छिटो लागिरहने, रुघा, खोकी, टन्सिल, झाडापखाला, अम्लपित्त, ओछ्यानमा पिसाब फेर्ने, शारीरिक दुबर्लता, बाथ, उच्च तथा न्यून रक्तचाप, कफ जम्मा हुने दम रोगलाई पूर्णरूपमा निको पार्छ । मोटोपना घटाउन, पिलो निको पार्न, निद्रा नलाग्ने समस्या भएमा पनि मह सेवन गर्दा लाभ गर्छ । डन्डीफोर र कपाल झरेमा पनि महले निको पार्छ ।

यसैगरी महमा ८० प्रतिशत शर्करा (मिठास) र २० प्रतिशत पानी पाइन्छ । विभिन्न स्रोतहरूबाट संकलित महको रंग, स्वाद, वासना फरक हुनका साथै स्रोतअनुसारको महले शरीरमा हुने विभिन्न प्रकारको रोगको उपचार गर्न सहयोग गर्छ । मह दूध, चिया, कफी र अन्य पेय पदार्थमा फिटेर खान सकिन्छ । पाउरोटी, बिस्कुट, रोटीमा राखेर पनि सेवन गर्न सकिन्छ । यसलाई शृंगारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । मौरीले तयार पार्ने मौरी कुट, रोयल जेली, सिस्नु मिस्रित मह पनि त्यतिकै दुलर्भ मानिन्छ ।

यसैगरी रुघा-खोकी लाग्दा दुई चम्चा मह र एक चम्चा कागतीको रस एक गिलास तातो पानीमा राखेर दिनको दुई-तीनपटक खाएमा आराम मिल्छ । सुक्खाखोकीमा एक चम्चा मह र केही थोपा अदुवाको रस मिलाएर दिनको तीन-चारपटक खाँदा फाइदा हुन्छ । रुघाको ज्वरोमा जैतुनको तेल, कागतीको रस, खाने सोडा र मह बराबर मिलाएर दिनको तीन÷चारपटक खाएमा फाइदा पुग्छ ।

यसैगरी एन्फ्लुएन्जामा प्याजको रस एक चम्चा र दुई चम्चा मह मिसाएर दिनको तीन÷चारपटक सेवन गर्दा निको हुन्छ । अमिलो डकार आउँदा दुई चम्चा मह र एक चम्चा कागतीको रस तातोपानीमा मिलाएर बिहान÷बेलुका सेवन गरे निको हुन्छ । यसैगरी उच्च रक्तचाप, न्यून रक्तचाप, पेटको घाउ, झाडाबान्ता, आँखाको रोगमा पनि महले राम्रै काम गर्छ ।

निर्यातमा समस्या

विषादीरहित र शुद्ध भएकाले तत्कालीन समयमा नेपाली मह जापान, जर्मनी, बेल्जियमलगायतका युरोपियन मुलुकमा निर्यात हुँदै आएको थियो । तर, सन् २००७ देखि नेपालको मह बाहिरी मुलुकमा निर्यात हुन छाडेको छ ।

विश्व व्यापार संगठनसहित युरोपियन मुलुकले मह निर्यातका लागि विभिन्न प्रकारका मापदण्ड निर्धारण गरेपछि नेपालले आफ्नो मह निर्यात गर्न सकेको छैन । यतिवेला उत्पादन हुने सबै मह नेपालको आन्तरिक बजारमा खपत हुँदै आएको मह व्यवसायीहरू बताउँछन् ।

संघका पूर्वअध्यक्ष श्रेष्ठकाअनुसार महको अवशेष अनुगमन योजना तयार गरेर युरोपियन युनियनमा नबुझाएका कारण महको निर्यात बन्द भएको छ । नेपाली महको मुख्य बजार युरोपियन मुलुकहरूलाई मानिन्छ । पछिल्लो समयमा युरोपियन युनियनले मह निर्यात गर्दा सम्बन्धित मुलुकले महसम्बन्धित अवशेष अनुगमन योजना तयार गरेर अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान लागू गरेपछि नेपाली महले अन्तर्राष्ट्रिय बजार पाउन सकेको छैन ।

मह उत्पादन हुने मुलुकले तयार गरको यस्तो योजना युरोपियन युनियनमा बुझाएपछि युनियनका अधिकारीले योजनाको आधारमा सम्बन्धित मुलुकमा गएर प्रत्यक्ष रूपमा आधारभूत भौतिक पूर्वाधार, प्रयोगशालाको क्षमता, महको गुणस्तर र आवश्यक योजनाको अध्ययन गरेर मह निर्यात गर्न अनुमति दिने प्रावधान छ ।

युरोपियन युनियनले नेपाली महमा एन्टिबायोटिक र विषादीको मात्रा भेटिएको भन्दै शंका गरेकाले पनि विश्व बजारमा महका लागि चुनौती सिर्जना भएको हो । नेपाली महमा एन्टिबायोटिकको प्रयोग र विषादीको प्रयोगको बारेमा अहिलेसम्म युरोपियन मुलुकसहित नेपाल आफैँले पनि कुनै प्रकारको आधिकारिक परीक्षण गरेको छैन ।


मौसमअनुसारको मह

० तोरीको फूलबाट संकलित मह

० रुदिलोको फूलबाट संकलित मह

० च्युरीको फूलबाट संकलित मह

० फापरको फूलबाट संकलित मह

० लिच्चीका फूलबाट संकलित मह

० सिसौको फूलबाट संकलित मह

० मसलाको फूलबाट संकलित मह

० जामुनका फूलबाट संकलित मह

० हाडेबयरको फूलबाट संकलित मह

० विभिन्न विरुवाको फूलबाट संकलित मिश्रित मह


२०७९ भदौ ११ गते सौर्य दैनिकमा प्रकाशित


https://www.souryaonline.com/2022/08/483597.html

Comments