चाउचाउ खाँदै हुनुहुन्छ ? क्यान्सर लाग्ला नि !


काठमाडौं । के तपाई वाईवाई चाउचाउ नियमित सेवन गर्दै हुनुहुन्छ ?  यदि हो भने आफ्नो स्वास्थ्यप्रति सचेत हुने वेला आइपुगेको छ । किनभने चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने कम्पनी सिजी फुड्स नेपालले वाईवाई ब्राण्डमा उत्पादन गर्ने पहेलो खैरो रंगको चाउचाउमा 'क्यान्सर' लगाउने तत्व फेला परेको छ । यो चाउचाउ नियमित रुपमा सेवन गर्दा क्यान्सर रोग लाग्ने प्रवल सम्भावना भएको खाद्य बिज्ञहरुले आफ्नो प्रतिवेदन दिएका छन् ।



काठमाडौं महानगरपालिकाले उक्त चाउचाउको गुणस्तरमाथि शंका लागेपछि २०८१ बैशाख ७ गते प्रयोगशालामा गुणस्तर परीक्षण गराएको थियो । गुणस्तर परीक्षणको क्रममा उक्त चाउचाउमा एसिड भ्यालु अफ इक्सट्रयाक्टेड फ्याटको मात्रा एनएमटी १ एमजी केओएच/ जी आयल ( mg KOH/g Oil) हुनुपर्नेमा १३.९३४ एमजी केओएच/जी आयल (१३.९३४ mg KOH/g Oil) पाइएको छ । खाद्य विज्ञहरुका अनुसार यसको भ्यालु १ भन्दा बढी हुनु हुँदैन ।



महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार बढि परिमाणमा यो तत्व भेटिंदा चाउचाउ पकाउन प्रयोग गरिएको तेलको गुणस्तर निक्कै कमशल भएको बुझ्नुपर्छ । यस्तो तेलमा पकाइएको चाउचाउ निरन्तर उपभोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना प्रवल रहेको बस्नेतले जानकारी दिए ।


महानगरपालिकाले उक्त चाउचाउको नमूना भक्तपुरको सूर्यविनायकस्थित जेस्ट ल्यावोरेट्रीमा परीक्षण गराएको थियो । जेस्ट ल्यावोरेट्रीले परीक्षण पश्चात् बैशाख ११ गते आफ्नो विश्लेषण प्रतिवेदन महानगरपालिकालाई बुझाएको थियो । यो प्रतिवेदनको आधारमा महानगरपालिकाले चौधरी ग्रुपबाट बैशाख १२ गते २ लाख रुपैयाँ जरिवाना गरेको छ । 





महानगरपालिकाका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार वाईवाईको ब्याच नम्बर ६० जीएमआरएस २०–एएल/वाईएल २३, सीएचएआई २०८० (AL/YL23) का चाउचाउमा यस्तो प्रकारको गम्भिर त्रुटी पाइएको हो । 


गम्भिर त्रुटी गरेको अभियोगमा महानगरपालिकाले चौधरी ग्रुप प्राइभेट लिमिटेडबाट २ लाख रुपैयाँ जरिवाना गराउनुका साथै उक्त ब्याच नम्बर भएको सम्पूर्ण चाउचाउ बजारबाट फिर्ता लिएर प्रमाण पेश गर्न चौधरी ग्रुपलाई लिखित निर्देशन समेत दिएको छ । 



बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको बताउँदै महानगरपालिकाले सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।   




महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने चाउचाउ जफत गरिएको थियो । त्यसपछि १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।


प्रयोगशालाको रिपोर्ट आउनुअघि  स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल  प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको र कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए । 

  


नमुनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा भेटिएको छ ।’  


चाउचाउको विक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै भनेको छ, ‘यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने’ प्रतिवद्धता गरेको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फुड नेपाल हुने उक्त पत्रमा उल्लेख छ ।



गत बर्ष पनि मापदण्डभन्दा बढि एसिड भ्यालु पाइएको थियो, अढाई लाख जरिवाना 

चौधरी ग्रुपले मानवस्वास्थ्यसँग खेलवाड गरेको यो पहिलो घटना होइन । गत् बर्ष पनि धरानमा यस्तै प्रकृतिको घटना हुँदा पनि उक्त कम्पनी सर्वसाधारणको स्वास्थ्यलाई हानी पुर्याउने गरी चाउचाउ उत्पादन गर्दैआएको छ । खाद्यको बिषयमा नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहुँचको भरमा उक्त कम्पनीमाथि कारवाही नगर्दा कम्पनीले यस्तो जघन्य अपराध गर्दै आएको विभागका एक कर्मचारीको भनाई छ ।



२०८० कात्तिक ३ गते धरान उपमहानगरपालिकाले पनि गुणस्तरहिन चाउचाउ उत्पादन गरेको अभियोगमा उक्त कम्पनीबाट २ लाख ५० हजार रुपैयाँ जरिवाना गराएको थियो । 


धरानको उपभोक्ताले धरान १५ स्थित मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको वाईवाई चाउचाउ गुणस्तरहिन रहेको उपमहानगरपालिकामा असोज २५ गते उजुरी दिएका थिए । उजुरी आएपछि बजार अनुगमन अधिकृतसहितको टोलीले अनुगमन गरेको थियो । 



उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार उक्त स्टोरबाट मुचुल्का उठाएर वरामद गरेको चाउचाउ असोज २६ गते परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवामार्फत विराटनगरको प्रयोगशालामा पठाएको थियो ।


सिजीको उत्पादन वाईवाई चाउचाउ परीक्षण गर्दा कम गुणस्तर भएको विश्लेषण प्रतिवेदन आएपछि उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले जरिवाना गर्ने निर्णय गरेको थियो ।


परीक्षणको प्रतिवेदनमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु १ भन्दा बढी नहुनु पर्नेमा २.८५ पाइएको थियो । तोकिएको मापदण्डभन्दा बढी एसिड भ्यालु भएको प्रतिवेदन आएकोले उक्त चाउचाउ निक्कै कमशल भएको र खान अयोग्य रहेको भन्दै धरान उपमहानगरपालिकाले आर्थिक जरिवाना गराएको थियो । 


सापकोटाका अनुसार बैठकले सुनसरीको गढी गाउँपालिका २ औरावनीमा कार्यालय भएको सिजी कम्पनीलाई जरिवाना तोकिएको हो । अनुगमन समितिले बरामद गरेको ९ कार्टुन चाउचाउ र खुला रहेको ८२ प्याकेट चाउचाउ पनि नष्ट गरेको थियो । 


Comments